एक सय ४० ओटा सहकारीको दर्ता खारेजी

पिपुल्स टाइम्स समाचार
दमक ÷ झापाका एक सय ४० ओटा बिभिन्न सहकारी संस्थाहरुको दर्ता खारेजी गरिने भएको छ । डिभीजन सहकारी कार्यालय झापाले सहकारी मापदण्ड विपरीत सहकारी सञ्चालन गर्ने त्यस्ता सहकारीहरुको दर्ता अनुमती खारेजी गर्न लागेको हो ।
डिभीजन सहकारी अधिकृत नेत्रप्रसाद घिमीरेले आर्थिक बर्ष २०७०÷७१ का अवधिमा बिभिन्न क्षेत्रका १ सय ४० ओटा सहकारीहरुको दर्ता खारेजी गर्ने निर्णय भएको बताए । उनले ती सहकारीहरुको नियमानुसार दर्ता खारेजीको प्रकृया थालिएको जानकारी दिनुभयो । खारेजीको प्रक्रियामा रहेका त्यस्ता सहकारीहरुले सहकारी सम्बन्धी कुनै काम गर्न पाउँदैनन् ।
दर्ता खारेजी हुने सहकारीहरुको सूचिमा अधिकांश बचत तथा ऋण कारोबार गर्ने छन् । डिभीजनले लामो समयदेखि निस्कृय रहेका, सञ्चालक बेपत्ता भएका, ठगी मुद्दा चलेका सहकारीहरुलाई पटक(पटक लिखित सूचना पठाएर नियमानुसार सञ्चालन गर्न निर्देशन दिएर पनि अटेर गर्ने उपर कार्बाही चलाइएको जनाएको छ । कार्यालयले त्यस्ता सहकारीहरुलाई गएको आ.व. भित्र सहकारी ऐन अनुसार सञ्चालन भएको प्रमाण पेश गर्न १ सय ५० ओटा सहकारीहरुलाई सूचित गरेको थियो । तर कार्यालयको समय भित्र दश वटा सहकारी संस्थाले मात्र प्रमाण पेश गरेको सहकारी अधिकृत घिमीरले जानकारी दिए ।
यसरी दर्ता खारेजीको सूचिमा दमकको कृषि विकास बहुउद्देश्यीय सहकारी, मजवुत बचत तथा ऋण सहकारी, बुधबारेको दिव्यदृष्टि, गरिवी न्यूनीकरण लगायतका सहकारी संस्थाहरु रहेका छन् । खारेजीमा परेका कतिपय सहकारीहरुको ठगी मुद्दा समेत चलेको डिभीजन अधिकृत घिमीरेले बताए । डिभीजनले यसअघि ६० ओटा बिभिन्न सहकारीहरुको दर्ता खारेजी गरेको थियो ।
एक वर्षमा ७२ थपिए
निष्कृय सहकारी संस्थाहरुलाई धमाधम ‘टूयाक’ मा ल्याउन डिभीजन सहकारीले सक्रियता देखाउदै आए पनि सहकारीहरु भने थपिने क्रम रोकिएको छैन् ।
जिल्लामा गएको आर्थिक वर्षसम्म ७ सय ९८ ओटा सहकारी संस्थाहरुले दर्ता पाएका थिए । गतवर्ष मात्र ७२ ओटा सहकारी संस्थाले अनुमति पाएका डिभीजन सहकारी कार्यालयले जनाएको छ । अनुमति पाएका अधिकांश बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यका रहेका छन् । त्यससँगै कृषि उद्यम सम्बन्धी सहकारीहरु सञ्चालन हुने क्रम समेत बढेको जनाइएको छ । 


                       इलाममा सहकारी दर्ताको घट्यो
इलाम ÷ डिभिजन सहकारी कार्यालय इलाममा सहकारी दर्ताको लहर घटेको छ । गत आ.व. ०६९।७० मा ९९ वटा सहकारी संस्थाहरु दर्ता भएको मा यस आ.व. ०७०।७१ मा ४७ वटा मात्र सहकारी दर्ता भएका छन् । यसरी हेर्दा दर्तामा ५२ प्रतिशतले गिरावट आएको छ । ४७ वटा नयाँ सहकारी दर्ता भएकामा इलाममा सवै भन्दा वढि २३ वटा  पाँचथरमा १६ वटा र ताप्लेजुङमा ८ वटा नयाँ सहकारी संस्थाले काम गर्न थालेका हुन् ।
सहकारी खोलेर मात्र केहि नहुने र यसलाइ सञ्चालन गर्न विशेष दक्षता र सीप चाहिने भएकाले पनि नयाँ सहकारी दर्तामा जनताको आकर्षण कम भएको डिभीजन कार्यालयको भनाई छ ।
डिभिजन सहकारी कार्यालयको नयाँ तथ्याङ्क हेर्दा हालसम्म जम्मा ८६९ वटा विविध प्रकृतिका सहकारी संस्थाहरु दर्ता भई सञ्चालनमा रहेका छन् । ती सहकारीहरुमा ८८ हजार शेयर सदस्य आवद्ध भएका छन् भने १६ करोड बराबर शेयर रकम, ३७ करोडको बचत र ५४ करोड बराबरको लगानी रहेको छ । जसबाट जिल्लाले एक आ.व.मा सहकारी क्षेत्रमा ४ करोडको मुनाफा गरेको छ । यस्तो मुनाफामा खास गरेर उत्पादनशील क्षेत्रका दुग्ध, कृषि र चियासँग सम्वद्ध सहकारीहरु र वहुउद्देश्यीय तथा बचत ऋण सहकारीको ठूलो हिस्सा रहेको डिभिजन सहकारी कार्यालयका माधवप्रसाद पोखरेलले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment