चुरे र वनक्षेत्र खोतल्न ठेक्का

दमक/ वन र चुरे क्षेत्रलाई मर्का पर्नेगरी जिल्ला विकास समिति झापाले खोलामा ढुंगा–गिट्टी ठेक्का अनुमति स्वीकृत गर्दै ठेकेदार कम्पनीलाई बोलाएको छ । अधिकांश भू–भाग वनले घेरेको तथा चुरेको परिधिभित्र रहेको मावा र रतुवा खोलामा ठेक्को अन्तिम कसरत गर्दै जिविस झापाले ठेकेलारलाई पत्र लेखेको हो ।
विवादित क्षेत्र पर्ने दुबै खोलामा ठेक्का सम्झौता हुन लागेको भन्दै जिल्ला वन कार्यालय झापाले आश्चर्य मानेको छ । तर वन र चुरे दोहन हुनेगरी ढुंगा–गिट्टी ठेक्का दिन सामुदायिक वन उपभोक्ता समिति, प्रशासन र जिविस एकठाउँ उभिएका छन् । 
हम्सेदुम्से सामुदायिक वनको सिमाना पर्ने र इलाम जिल्लाको रानी वनले छुने मावा खोलामा ठेक्का सम्झौतापूर्वै हेभी उपकरण जेसिबी लगाएर ढुंगा–गिट्टी झिक्न थालिएको छ । हम्सेदुम्से सामुदायिक वनले भेट्ने इलाम चुलाचुली गाविसको चुरे फेदस्थित रतुवा खोलामा पनि ढुंगा–गिट्टी निकाल्न जिविसले अनुमति दिन लागेको छ ।
दुबै खोलाको ठेक्का मोरङ उर्लाबारीका ठेकेदार सचिन शाक्यलाई दिन लागिएको छ । दुबै खोलामा एकैजना ठेकेदारले काम गर्ने गरी ठेक्का लगाइने निर्णय भएको छ, झापाका स्थानीय विकास अधिकारी फडिन्द्र दाहालले  भने,‘ठेक्का अनुमतिको अन्तिम कार्यका निमिक्त ठेकेदारलाई पत्र काटिसक्यौँ ।’
 जिल्ला वन अधिकृत इन्द्रमणि भण्डारीले सामुदायिक वन  र चुरे फेदीमा पर्ने रतुवा खोला खोतल्न आफूले अनुमति नदिएको बताए । वन र चुरे फेदी खोतल्न हाम्रो अनुमति छैन, कसरी ठेक्का सम्झौता भयो थाहा भएन, भण्डारीले  भने, ‘हम्सेदुम्से वनले खासै नछोएकोले मावा खोलामा ठेक्का लगाउनेबारे हामी बोलेनौँ, तर त्यो पनि इलामको वनले छोएको ।’ इलामको वन पर्ने भएकाले उतैको वनले जान्नुपर्ने उनले बताए ।
 स्थानीयका अनुसार पश्चिम मोरङ मधुमल्ला गाविस–२, पूर्व दमक नगरपालिका–५ र उत्तर रानीवन पर्ने क्षेत्रभित्र पर्ने मावा खोलामा ठेकेदार शाक्यले वर्ष अघिबाटै ढुंगा–गिट्टी निकाल्ने गर्थे । यहाँ ढुंगा–गिट्टी निकाल्न थालेको एक वर्ष पुग्यो, मावा खोलामा भेटिएका स्थानीय बृद्ध खड्गबहादुर तिम्सिनाले भने ।
हम्सेदुम्से सामुदायिक वनका अध्यक्ष हिमालय दाहालले वन क्षेत्र परिधिभित्र परे पनि स्थानीय वस्ती जोखिममा पर्ने कुरालाई मध्यनजर गरेर जिल्ला विकास समितिले ठेक्का लगाएको बताए । ‘मावा खोलाको माथितिर वन पर्ने भए पनि उँधोतिर पर्दैन, बीचमा बस्ती रहेकाले जोखिममा पर्ने ठानेर ठेक्का लगाउन हामीले मान्यौँ, दाहालले भने ।
स्थानीय विकास अधिकारी दाहालले दुबै क्षेत्र वन र चुरेभित्र नपर्ने भएकाले ढुंगा–गिट्टी निकाल्न अनुमति दिएको बताए । ‘वन र चुरे जोगिने हिसाबले ठेक्का सम्झौता गरिएको हो, दाहालले भने, ‘बस्ती जोखिममा पर्ने कारण दुबैतिर ठेक्का दिने सहमति भयो।’
सिडिओको नेतृत्वमा हुने खोलानाला अनुगमन तथा ढुंगा–गिट्टी ठेक्का प्रभाव मूल्याङ्कन उच्चस्तरीय संयन्त्रले केहीअघि खोलानाला अनुगमनपछि ढुंगा–गिट्टी ठेक्काको प्रक्रिया थालेको थियो । झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले खोलानालाको ढुंगा–गिट्टीबारे जिल्ला विकास समितिलाई थाहा हुने बताए । मावा खोलामा ढुंगा–गिट्टी झिकिरहेका ठेकेदार शाक्यले जिल्ला विकास समिति र प्रशासनको अनुमतिमै खोलामा हेभी मेसिन लगाएर ढुंगा–गिट्टी निकाल्न थालेको बताए ।

0 प्रतिकृया:

Post a Comment