गर्भपतनको सेवा लिनेको संख्यामा वृद्धि

इलाम/विशेषज्ञ डाक्टरबाट सुरक्षित गर्भपतनको सेवा दिन थालिएपछि इलामस्थित नेपाल परिवार नियोजन संघमा गर्भपतन गराउन आउने महिलाको संख्या बढेको छ ।
परिवार नियोजन संघबाट सन् २०१४ को ६ महिनाको अवधिमा ३ सय १० जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । यसअघि सन् २०१३ को अवधिभर संघबाट ३ सय ४४ जनाले यस्तो सेवा लिएका थिए । यस्तै सन् २०१२ मा २ सय ७३ र सन् २०११ मा १ सय ८९ जनाले यस्तो सेवा लिएको संघका वरिष्ठ शाखा प्रबन्धक कुमार गिरीले जानकारी दिएका छन् । औषधीबाट गर्भपतन गराउँदा ९९ प्रतिशत सफलता प्राप्त भएको संघका वरिष्ठ शाखा प्रबन्धक गिरीले जानकारी दिए ।
तालिम प्राप्त नगरेका र अदक्ष स्वास्थ्यकर्मीबाट गर्भपतन गराउँदा समस्या देखिएका महिलाहरू समेत परिवार नियोजन संघमा सेवा र परामर्श लिन आउने गरेको शाखा प्रबन्धक गिरी बताउँछन् । इलामका १० स्थानमा परिवार नियोजन संघका क्लिनिकहरू सञ्चालनमा आएको भएपनि सुरक्षित गर्भपतन सेवा भने विशेषज्ञ डाक्टरबाट सदरमुकाममा मात्र उपलव्ध हुने उनले जानकारी दिए । ९ हप्ताभन्दा कम अवधिको गर्भलाई औषधी मार्फत र ९ हप्तादेखि १२ हप्तासम्मको गर्भलाई सिरिञ्जद्वारा सुरक्षितरुपमा गर्भपतन गराउने गरिएको छ । औषधिमार्फत गर्भपतन गराउँदा ७ सय रुपैयाँ र सिरिञ्जबाट गराउँदा १ हजार २ सय रुपैयाँ सेवा शुल्क लाग्ने शाखा प्रबन्धक गिरीले बताए ।
संघले सन् २०१३ को अवधिमा जिल्लाभरका ६ सय ७८ जना महिलालाई निःशुल्क गर्भावस्था परीक्षण सेवा उपलब्ध गराएको थियो । संघले सेवाग्राहीका लागि दरबन्दी अनुसार डाक्टरको व्यवस्था मिलाएको जानकारी दिएको छ । मातृशिशु सेवा र चिनीरोग विशेषज्ञ डाक्टर महेश्वर यादवले नियमित सेवा उपलव्ध गराउने संघले जनाएको छ । यस अघि दुई वर्षसम्म विशेषज्ञ डाक्टर नहुँदा सुरक्षित गर्भपतन सेवा प्रभावित भएको थियो । सुरक्षित गर्भपतन सेवाका लागि तालिम प्राप्त विशेषज्ञहरूको आवश्यकता हुने गर्दछ ।
यस्तै कथमकदाचित वा असुरक्षित यौनसम्पर्कबाट गर्भ रहेमा प्रयोग गरिने आकस्मिक परिवार नियोजनका साधन एकवर्षको अवधिमा ८१ जनाले प्रयोग गरेको संघले जनाएको छ । यसका लागि असुरक्षित गर्भ रहेको ७२ घण्टा भित्रमा दुईवटा ट्याब्लेट सेवन गर्नुपर्दछ । २० रुपैयाँमै पाइने यस्तो आकस्मिक गर्भ निरोधका साधनबारे कमैलाई मात्र जानकारी हुने गरेको शाखा प्रबन्धक गिरी बताउँछन् । संघले आफ्नो प्रयोगशालामा रक्त परीक्षण सेवा समेत दिइरहेको छ । गत वर्ष ४ सय २८ जनाले प्रयोगशालामा यस्तो परीक्षण गराएका थिए ।
सोही अवधिमा संघमार्फत १ सय ४६ जनाले निःशुल्करुपमा परिवार नियोजनको अस्थायी साधन कपर टी प्रयोग गरेको, १ हजार २ सय ४८ जनाले डिपोप्रोभेरा सुई लिएको, ८२ जनाले नरप्लाण्ट, २ हजार ९ सय १२ जनाले पिल्सको सेवा लिएको, २ हजार २ सय ९८ जनालाई कण्डम वितरण गरिएको समेत शाखा प्रबन्धक गिरीले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment