झिलझिलेमा सीसी क्यामेरा

झिलझिले/इलाका प्रहरी कार्यालय झिलझिले र झापाली युवा सरोकार समाज नेपालको संयुक्त पहलमा झिलझिलेमा ५ वटा सीसी क्यामेरा जडान गरिएको छ ।
स्थानीय क्षेत्रका दैनिक रुपमा भइरहने आपराधिक घटना लगायत राजमार्गमा हुने दुर्घटनालाई न्यूनीकरण गर्न सीसी क्यामेरा जडान गरिएको हो । प्रहरी कार्यालय परिसरभित्र ३, मुख्य राजमार्गमा १ र बजार क्षेत्रमा १ वटा गरी ५ वटा क्यामेरा जडान गरिएको झापाली युवा सरोकार समाज नेपालका उपाध्यक्ष समेत रहेका सीसी क्यामेरा जडान समितिका संयोजक सुरज रिङ्कालुङ्ग राईले जानकारी दिए । रिङ्कालुङ्गका अनुसार व्यापारी, वित्तीय कारोबार गर्ने संघसंस्था र शुभेच्छुकहरुको सहयोगमा १ लाख रुपैयाँमा सीसी क्यामेरा जडान गरिएको हो । बिहिबार एक कार्यक्रमको आयोजना गरी सीसी क्यामेराको उद्घाटन गरिएको थियो ।
यसैबीच, झिलझिले प्रहरी कार्यालयका प्रमुख प्रनि चिरञ्जिवी कोइरालालाई विदाई गरिएको छ । १५ महिना अघि झिलझिलेमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रनि कोइराला सुनसरीको दुहवी इलाकामा सरुवा भएर गएका छन् । विदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मुकुन्दराज आचार्य, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख चिरञ्जिवी दाहाल, झिलझिले बजारका अध्यक्ष कालिबहादुर लिम्बू, सतासीधाम सामुदायिक वनका अध्यक्ष गोपाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सुरज रिङ्कालुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रनि कोइरालालाई नेपाली ढाकाटोपी सहित मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम दिनेश गजमेरले सञ्चालन गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment