होलीको सन्देश – सम्पादकीय

भातृत्व र आपसि सद्भावको पर्व–हालीको रौनक बिभिन्न क्षेत्रमा शुरु भई सकेको छ । औपचारीक रुपमा आगामी फागुन २४ र २५ गते मनाईने भए पनि बिभिन्न स्थानमा संस्कार अनुसार होलीको उत्सव शुरु भएको छ ।
    असत्य माथि सत्यको जीतको रुपमा होली पर्व मनाउँदै आईएको छ । आपसमा रङ्गहरु दलेर खुसीयाली साटासाट गरेर मनाईने पर्वमा जसरी बिभिन्न रङ्गहरुको महत्व रहन्छ, त्यसरीनै समाजमा सवै जाती–भाषा, लिङ्ग, वर्ण तथा समुदायको सम्मिश्रण सुहाउँछ भन्ने मर्म यस पर्वले बोकेको छ । होली पर्वको दिन आफ्नो घरमा शत्रुनै आए पनि सम्मान र स्वागत गर्नु पर्ने किम्वदन्ति रहँदै आएको छ । त्यसैले यस पर्वको महत्व र सारतत्वलाई जीवनन्त बनाउन र दैनीक जीवनमा पनि लागु गर्न होलीले सन्देश पनि दिने गरेको छ ।
    वर्ष भरि दैनीक जीवनमा रहे–बनेका बिभिन्न बैमनस्यता तथा आपसी कटुता बिर्सेर भातृत्व बलियो पार्न हरेक वर्ष हामीलाई झक्झक्याउने गरेको छ । कम्तिमा होलीले दिएका सन्देशहरुलाई हामीले दैनिक जीवनमा अबलम्बन गर्न सक्यौ भने यस पर्व प्रतिको सच्चा अनुशरण ठहरिने छ । बिभिन्न समुदाय बिच चिसिन खोजेको सम्बन्ध बलियो पार्न पनि होली पर्वले हामीलाई सचेत र सजग गराई रहेको छ ।
    होली पर्वका नाममा केहि वर्षयता भित्रिदैँ गरेका बिक्रितीहरुले पनि संस्कृतीका हिमायतीहरुलाई चिन्तित बनाएको छ । पर्व मनाउने र रमाईलो गर्ने बाहानामा भाँङ्, धतुरोका बिभिन्न परिकार खाने, शरीरमा बिभिन्न प्रकारका रङ्ग–रोगन गर्ने, छालाका लागि अनुपयोगी रङ्हरु प्रयोग गर्ने  तथा जवरजस्ति रङ्ग दल्ने तथा लोला हान्ने प्रबृती पनि बढेको छ । युवा पुस्तामा बढेको यस प्रकारको शैलीले संस्कारलाई बलियो भन्दा पनि बिटुलो बनाउने हो कि भन्ने पनि चिन्ता बढेको छ । त्यसैले होली पर्वलाई जवरजस्तको पर्व बनाउनु भन्दा साँचो रुपमा आपसी हार्दिकता, भातृत्व र भाइचाराको पर्वको रुपमा मनाउन आवश्यक छ । आगामी पुस्तालाई सु–संस्कृतरुपमा पर्वहरु हस्ताण्तरण गर्नका लागि पनि पर्वहरु भड्किलो शैलीले मनाउनु भन्दा मर्यादित र व्यबस्थितरुमा जोगाउन र समृद्ध बनाउन आवश्यक छ ।

0 प्रतिकृया:

Post a Comment