चेतावनी स्वरुप चक्काजाम

लखनपुर/ झापा लखनपुर-५ का स्थानीयबासीले बुधबार करिब ४ घण्टा पाडाजुङ्गी-गौरीगाज सडक खण्डको गेउरिया चोकमा यातायात अवरोध गरेका छन् । सो रुटमा चल्ने यातायातका साधनले आफूहरुलाई गलत व्यवहार गरेको भन्दै स्थानीयले चेतावनी स्वरुप चक्काजाम गरेको बताएका छन् ।
बिहान ६ बजेदेखि १० बजेसम्म त्यहाँ स्थानीयवासीले एमबुलेन्स र बिरामी बोकेका सवारी साधन बाहेक सबै सवारीलाई रोकेका थिए । आन्दोलनकारीहरुले मोटरसाईकल समेत डोर् याएर लान आग्रह गरेका थिए । यात्रुबाहक बस र ट्याक्सी गरी दैनिक रुपमा ४५ बढी सवारी साधन चल्ने सो रुटमा भाडामा एकरुपता नहुने गेउरिया चोकबाट चढ्ने र उत्रने यात्रुहरुलाई दमक स्टेण्ड र गेउरिया चोकबाट निर्वाद चढ्न नदिने गाडीका सह-चालक र कण्डक्टरहरुले महिला र बृद्धबृद्धाहरुलाई अभद्र व्यवहार र अश्लील शब्द प्रयोग गर्ने गरेका भन्दै स्थानीयले सो विरुद्ध पहिलो चरणको आन्दोलन गरेको बताए ।
स्थानीय महिला सुभद्रा राईले आफूहरुलाई गाडी चढ्न नदिने अपशव्द प्रयोग गर्ने आदि आरोप लगाएकी छन् । महिला युवा बृद्धबृद्धा र बालबालिका समेत यातायातका साधन रोक्न सडकमा आएका थिए । उनीहरुले यातायात कर्मचारीहरुको खराव प्रवृत्तिका विरुद्ध आन्दोलन गर्न बाध्य हुनुपरेको बताएका छन् ।
यसैबीच यातायात व्यवसायी संघका प्रतिनिधि र स्थानीयबासी बीच छलफल गरी उप्रान्त समस्या आउन नदिन सहमति भएको कनकाई यातायात संघका सदस्य-सचिव गंगा सिटौलाले जानकारी दिए । चक्काजाम खुलाउन सोही स्थानमा भएको वार्तामा यातायात व्यवसायीका तर्फबाट
सहभागी सिटौलाका अनुसार स्थानीयबासीले सडकको दुवै तिर बस स्टेण्ड तोक्ने र बोर्ड राख्ने सबै यातायात तोकिएको स्थानमा अनिवार्य रोक्नु पर्ने र यात्रुलाई चढाउनु र ओराल्नुपर्ने लगायतका सहमति भएको छ । त्यस्तै सहमति कार्यान्वयनका लागि स्थानीयका तर्फबाट ४ सदस्यीय अनुगमन टोली गठन समेत भएको छ । समितिकी सदस्य समेत रहेकी राईले उप्रान्त कुनै पनि समस्या आए समितिले तुरुन्त यातायात व्यवसायीहरुसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने बताइन् । प्रहरी प्रशासनको रोहवरमा दुई पक्षीय वार्ता पछि सो सडक खण्डमा यातायात सुचारु भएको थियो ।

0 प्रतिकृया:

Post a Comment