‘सहि सूचना दिनु सार्वजनिक निकायको दायित्व’

धनकुटा । राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले लोकतन्त्रमा नागरिकको सूचना पाउने अधिकार रहेकाले सही सूचना दिनु सरकारी कार्यालय एवं सार्वजनिक निकायको दायित्व भएको बताएका छन् । नेपाल पत्रकार महासंघ धनकुटाले सोमबार गरेको सूचनाको हक सम्बन्धी जिल्लाका सरोकारवालाहरुसंगको अन्र्तक्रियामा बोल्दै पोखरेलले सुचना उपलब्ध गराउँनमा कञ्जुस्याई गर्न नहुँने बताए । अहिले सूचना आयोगले सरकारी कार्यालयका सूचना अधिकारीलाई जिम्मेवार बनाउन र प्रोत्साहन सहितको कार्यक्रम ल्याउने तयारी गरिरहेको पोखरेलले जानकारी दिए । सहज सूचना दिने सस्कृतिको विकास गर्नु पर्ने बेलामा पनि सूचना लुकाउने कार्यालय र कर्मचारीहरुलाई कार्वाही गर्ने कानून निर्माण गर्ने चरणमा रहेको पोखरेलले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले धनकुटामा सूचना लिन अप्ठयारो नभएको दावी गर्दै त्यस्तो रहेमा जानकारी गराउँन आग्रह गरे । स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले पनि सही सुचना उपलब्ध गराउँनुपर्नेमा जोड दिए । कार्यक्रममा अन्य सहभागीहरुले सरकारी कार्यालयबाट आर्थिक विवरणको सूचना दिन आनकानी गर्ने गरेको, एनजिओ र आईएनजिओले खर्च सार्वजनिक नगरेको र खर्चको विवरण नदिएको लगायतका गुनासो सुनाएका थिए ।  यसैबिच धनकुटाका २७ वटा सरकारी कार्यालयका सूचना अधिकारीको नाम र फोन नम्बर सहितको फ्लास बोर्ड सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा सवै कार्यालयमा सुचना अधिकारीको ब्यावस्था गराईएको प्रमुख जिल्ला अधिकारी बिजयनारयण मानन्धरले बताए ।

0 प्रतिकृया:

Post a Comment