दुर्घटना न्यनिकरणमा सहकार्य


सडक दुर्घटना पूर्वााचलमा लामो समयदेखिको जटिल समस्या हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गतका झापा सहित पूर्वका विभिन्न जिल्ला दुर्घटनाबाट मुक्त हुन सकेका छैनन् । अझ झापाको दमक र माईधार खण्ड तथा मोरङको उर्लाबारी कानेपोखरी खण्ड देशकै बढी दुर्घटना हुने क्षेत्रका रुपमा सूचिकृत भएका छन् । राजमार्ग आसपास वन क्षेत्र भएका कारण छाडा चौपाया छोडिँदा पनि यस क्षेत्रमा दुर्घटना न्युनिकरण हुन नसकेको पाइन्छ । दिनहुँ जसो ती खण्डमा हुने दुर्घटनामा मानिसहरुको मृत्यु भइरहेको पाइन्छ । एक साता यता समेत झापाको माईपश्चिम क्षेत्रमा भएका दुर्घटनामा सरदर दैनिक १ जनाको मृत्यु भएको तथ्याङ्क छ । यो एकदमै विकरल समस्या हो भन्दा अतियुक्ति हुँदैन ।
दुर्घटनालाई भवितव्यका रुपमा त लिइन्छ तर यहाँनेर गम्भीर हुनैपर्ने कुरा के हो भने भवितव्य पनि सर्वसाधारण र सम्बन्धित सरकारी निकाय समेतको लापर्वाहीका कारण दुर्घटना भइरहेका छन् । सवारी चालकले मादक पदार्थ सेवन गर्नु तीव्र गतिमा सवारी हाँक्नु हेल्मेटको प्रयोग नगर्नु मोटरसाइकल वा अन्य सवारी साधनको क्षमता भन्दा बढी यात्रु ओसारपसार गर्नु दुर्घटनाका मुख्य कारक भएको ट्राफिक प्रहरीको भनाई छ ।
यी सबै कारणहरुलाई मध्यनजर गर्दै इलाका ट्राफिक प्रहरी कार्यालय दमकले पछिल्लो समय आफ्नो कार्यक्षेत्र अन्तर्गतका शैक्षिक संस्थाहरुसँग दुर्घटना न्युनिकरणका लागि समन्वय बढाएको छ । यो स्वागत योग्य कदमको प्रशंसा अहिलेनै गरिहाल्नु उपयुक्त हुँदैन । मात्रै यसलाई स्वागत गरेर आउँदा दिनमा ट्राफिक प्रहरी र ती शैक्षिक संस्थाहरुले कतिको इमान्दारिता प्रस्तुत गर्छन् नियाल्नुपर्ने भएको छ । शुक्रबार ट्राफिक प्रहरीले गरेको समन्वयात्मक छलफलका क्रममा भएका सहमतिहरुको पालनामा सम्बन्धित पक्षहरुले जोड दिनै पर्छ । शैक्षिक संस्थाका सवारीहरुमा क्षमता भन्दा बढी विद्यार्थी नबोक्ने नो हेल्मेट नो क्लासको अवधारणा लागू गर्ने त्यस्तै मोवाइलको प्रयोग विद्यार्थीहरुका लागि निषेध गर्ने जस्ता तत्काल कार्यान्वयन गर्नुपर्ने सहमतिहरुको कार्यान्वयनलाई सर्वसाधारणले गम्भीर रुपमा नियालिरहेका छन् ।

0 प्रतिकृया:

Post a Comment