भूटान फर्किने बाटो बन्द नगर्न आग्रह

 दमक । स्वदेश फिर्ती अभियानका भूटानी अगुवा डा. भम्पा राईले हाललाई विभिन्न देशमा पुनर्वासको परिस्थिती रहेपनि पछि भूटान फर्किने कुटनीतिक वातावरण बनाउनका लागि जुटिरहन सुझाव दिएका छन् ।
झापाको दमकमा रही भूटानी शरणार्थीहरुको निशुल्क उपचार र राजनीतिक सल्लाहमा सक्रिय राईले विहीबार भूटान स्वतन्त्र जनमञ्चको टोलीसंगको भेटमा सो सुझाव दिएका हुन् । भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका सभापति समेत रहेका डाक्टर राईले हाललाई जो जो जहाँ जहाँ पुनर्वास भएपनि कालान्तरमा भूटान फर्किने योजनामा लागिरहन टोलीलाई सल्लाह दिएका छन् । साथै उनले नेपाल सरकार र सम्बन्धित निकायले पनि भूटान फर्किने पाउने ढोका बन्द नगर्नका लागि अनुरोध गरेका छन् । ‘हामी तेस्रो मुलुक पुनर्वास नै हुन नचाहनेलाई भूटान फर्काउन र अरुका लागि पनि आफ्नो देश फर्किने ढोका बन्द नगर्न हामी माग गर्दर्छाैं ।’– उनले भने ।
जनमञ्चका अध्यक्ष टोम अधिकारीले डा. राईको स्वास्थ्य जीवनको कामना गर्दै आफुहरुलाई भूटान फर्किने वातावरण बनाउन मार्ग निर्देशनको भूमिकामा रहेको भन्दै उनलाई सम्मान गरे । डा. राई रहेको दमक ११ स्थित क्लिनिकमा भेटेर सरसल्लाह माग्दै अधिकारीको अगुवाईको टोलीले अनौपचारिक कार्यक्रममा सम्मान व्यक्त गरेको हो । राई केही दिन आन्द्रामा समस्या भएर रगत बग्ने भइ विरामी रहेका थिए । टोलीका अगुवा अधिकारीले राईले भनेकै योजनामा आफुहरु लागेर जनमञ्च गठन गरेको जनाए । उनले नेपाल सरकारलाई आफुहरुको भूटान फर्किन पाउँने बाटोलाई बन्द गर्ने काम नगरिदिन स्मृतिपत्र बुझाएको बताए । बेलायतमा बस्दै आएका अधिकारीले केही समयका लागि नेपाल आएर युवाहरुलाई समेटी जनमञ्च गठन गरेर विभिन्न देशमा पुगेका शरणार्थीहरु र भूटान भित्रकालाई पनि समेट्ने योजनामा लागेको जनाएका छन् ।

0 प्रतिकृया:

Post a Comment