सुनकोशी समस्या र राज्यको कमजोरी – सम्पादकीय

पहिरोले सुनकोशी नदीको वहाव थुनिएपछि गम्भीर समस्या उत्पन्न हुने आशंका गरिएको छ । शनिबार राति अचानक सुनकोशी नदीको वहाव थुनिने गरी गएको पहिरोका कारण सिन्धुपालचोकको माङ्खा गाविस र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । पहिरोका कारण ८ जनाको मृत्यु भएको स्पष्ट जानकारीमा आए पनि यो प्रकोपबाट हताहत हुनेहरुको संख्या धेरै भएको अनुमान सरकारी निकायका जिम्मेवार अधिकारीहरुबाट प्राप्त भएको छ । २०० जना भन्दा बढी मानिसहरु वेपत्ता रहेको खबर प्राप्त भए पनि उनीहरुको अवस्थाका बारे खास भरपर्दो सूचना प्राप्त हुन सकिरहेको छैन । पहिरोग्रस्त क्षेत्रमा उद्दार कार्य जारी राखिएको भए पनि हालसम्म यस प्रकोपबाट कति नोक्सानी भएको भन्ने यकिन तथ्याङ्क कतैबाट प्राप्त हुन सकिरहेको छैन ।
एकातिर पहिरोको घटनाले निम्त्याएको त्रासदीबाट पीडित जनतालाई भरपर्दो सुरक्षा व्यवस्थापन र उद्दार एवम् विस्थापनमा परेका सर्वसाधारण मानिसहरुका लागि उचित वास र गाँसको प्रवन्ध गर्न राज्यका निकायहरुलाई धौ–धौ परिरहेको छ भने अर्कातिर पहिरोसँगैकै कारण सुनकोशी थुनिँदा थप जोखिमको सामना गर्न परिरहेको अवस्था छ । सुनकोशी नदी थुनिएको घटना शनिबार दिनभरका लागि गम्भीर चासो र खतराको विषय बन्यो । अद्यपि यो खतरा टरिसकेको अवस्था छैन । राज्यका तर्फबाट सनकोशी नदीको दुवै किनारातर्फ २ सय मिटर क्षेत्रलाई संकटग्रस्त भनी घोषणा गर्ने कार्य भएको छ । तर, पहिरोका कारण थुनिएको नदीलाई पुरानै अवस्थामा बहने स्थिति निर्माण गर्ने ल्याकत राज्यसँग छैन । नदीमा पानी जम्ने क्रम बढेसँगै यदि पहिरोका कारण तालमा रुपान्तरण भएको जलाशय एकै पटक बग्न जाने हो भने त्यसले अर्को विपतको स्थिति सृजना नगर्ने भन्ने कुरो हुँदैन । अहिलेको भन्दा कयौं गुणा बढी क्षति त्यसपछि निम्तने खतरा छ ।
सुनकोशी नदीको संगमस्थल सप्तकोशी नदी भएका कारण सप्तकोशी नदीले छुने सबै जिल्लाहरुका लागि यतिबेलाको जोखिम बाँढिएको छ । राज्यका तर्फबाट सिन्धुपालचोक जिल्ला लगायत काभ्रे, सिन्धुली, ओखलढुङ्गा, खोटाङ, उदयपुर, सप्तरी र सुनसरी लगायतका जिल्लाहरुलाई सचेत गराइएको अवस्था छ । सप्तकोशी नदी किनारका वस्तीहरुबाट सर्वसाधारण जनतालाई सुरक्षित स्थलतर्फ सार्न निर्देशन दिइएको अवस्था छ । यतिबेला राज्यले जे(जसरी गम्भीर बनेर यो समस्या समाधान गर्न तातिएको अवस्था छ, तथापि यतिबेला समस्या सोचे भन्दा अरु बढी गम्भीर र नियन्त्रण बाहिर गइरहेको अवस्था भने हो । यो प्रकोप हो । यसका लागि कसैलाई दोष दिन त सकिँदैन । तर प्रकोप निम्तनुका पछाडि मानिसहरुबाटै हुने लापर्बाही पनि जिम्मेवार छ ।
पहिरोको जोखिम रोक्न सक्ने एक मात्र उपाय पर्याप्त वृक्षारोपण नै हो । राज्यले ४० प्रतिशत भू–भागलाई वनक्षेत्रका रुपमा विकास गर्ने नीतिगत निर्णय गरेको भए पनि अवस्था ठीक विपरीत छ । विश्वभर जलवायु परिवर्तनका कारण विभिन्न किसिमका प्रकोपजन्य घटनाहरु बढेर गइरहँदा त्यसको असर नेपालमा चाँहि नपर्ने भन्ने हुँदैन । तर, वातावरणमा जसले बिकार उत्पन्न गराएको भए पनि त्यसले पार्ने असर चाँहि विश्वभरका सबै मुलुकहरुले भोग्नुपर्ने नियतिबाट हामी अछुत रहने विषय असम्भव छ । यतिबेला सुनकोशीले निम्त्यिाएको जोखिम सार अर्थमा यी विषयहरुबाट फरक र अलग पक्कै पनि छैनन् । यो विषम परिस्थितिलाई राज्य र सुरक्षा प्रशासनले जिम्मेवारीका दृष्टिले मात्रै हेर्ने हो भने त्यो समवदेनाहिनताको अर्को रुप हुने छ ।
यतिबेला हामी गम्भीर समस्या र उच्च जोखिमका परेका छौं । यो जोखिमलाई कसरी व्यवस्थापन गर्ने ? यस विषयमा राज्यका निकायहरुले गहन विश्लेषण गरेर उपाय निकाल्न जरुरी छ । जोखिम व्यवस्थापनका सन्दर्भमा राज्यले अवाश्यक तयारी गर्न नसक्दाको परिणाम यतिबेला असंख्य नेपाली जनताले भोग्न वाध्य भएका छन् । यो परिस्थितिमा राज्यको कमजोरी स्पष्ट झल्कन्छ । तर पनि दुःखको यस घडीमा राज्यलाई वा अरु कसैलाई दोष दिने र पन्छने हो भने हामी सचेत नेपाली जनताले नागरिक हुनुका नाताले पूरा गर्नुपर्ने जिम्मेवारी अधुरै रहने निश्चित छ । यो बेला राष्टू नै संकटमा परेको छ । यतिबेला कसैलाई खुच्चिङ भन्नु भनेको मानवताको न्युनतम मूल्यलाई पनि बिर्सनु हो । हामी कसैबाट पनि त्यस्तो नहोस् ।

0 प्रतिकृया:

Post a Comment