सुँगुर छाडा पाल्न रोक लगाइने

दमक/दमक–३ स्थित बेलडाँगी टोल विकास संस्थाले लापर्बाही छाडा गरेर पालिएका पशु चौपायाहरु छाडा रुपमा पाल्न नपाइने संस्थागत निर्णय गरेको छ ।
शरणार्थी बसोबास पश्चात जनघनत्व बढ्न गएको बेलडाँगी बजारमा आजभन्दा अगाडी बग्रेल्ती सुँगुर, हाँस, कुखुराहरु छाडा पालिँदै आएको कारणले उक्त क्षेत्रमा दैनिक दुर्घटनाको जोखिम बढ्दै गएपछि छाडा पशुचौपया नियन्त्रण गर्न स्थानीय बासिन्दाहरु जुटेका हुन् । वातावरण प्रदुषित भएका कारण संस्थाबासी उपभोक्ताहरु आफ्नै पहलमा छाडा पशु नियन्त्रण गरी व्यवस्थित रुपमा पाल्ने निर्णय गरिएको सचिव कुमार श्रेष्ठले बताए ।
बेलडाँगी बजार क्षेत्र आसपास पर्ने रिङ्गरोडमा अनाधिकृत घर बनाउने, बाटो मिची रुखबिरुवा रोप्ने, काठदाउरा, पशुचौपायाको खोर निर्माण गर्ने जस्ता अवाञ्छनित कार्य समेत अत्यन्त बढेर गएको भन्दै स्थानीय स्तरमा शान्ति सुरक्षा र सभ्य समाज निर्माण जनस्तरमा अभियान थालिएको हो ।
बेलडाँगीमा सरसफाईमा जुट्दै स्थानीय बासिन्दाहरु
शनिबार उक्त टोल विकास संस्थाले अगुवाई गर्दै विभिन्न सामाजिक संघसंस्था समेतको उपस्थितिमा सडक किनारमा रोपिएका सयौँ रुखहरु, केराका झ्याङहरु काट्ने, फाँड्ने तथा सडकमा निर्मित पशु चौपायाका खोर, टहराहरु, घर व्यवहार उपभोगजन्य वस्तुहरु हटाउने काम सम्पन्न गरेका छन् ।
बेलडाँगी टोल विकास संस्थाका अध्यक्ष देबेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा हम्सेदुम्से सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिमालय प्रसाद दाहाल लगायत पदाधिकारीहरु सशस्त्र प्रहरी बल बेलडाँगी–१ का प्रमुख प्रभुत्न थापा लगायत प्रहरी जवानहरु, टोल विकास समन्वय समितिका उपाध्यक्ष गणेशकुमार चाम्लिङ्ग राई, समाजसेवी राम सुब्बा, दमक नगरपालिकाका निमीत्त महेन्द्र बस्नेत लगायत स्थानीय टोलबासीहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment