सिद्धान्तको होलोग्राम र हामी

नरपति पाण्डे
 “होलोग्राम हेर्नुहोस् नत्र ठगिनु होला” आधुनिक व्यापारको विज्ञापन अर्थात सन्देश हो यो । शीत युद्धमा प्रजातन्त्र र मानवअधिकारको विज्ञापन बिछट्टै चल्यो । अलिपछिबाट समावेशी र अग्रगमनको कानै खाने कोकोहोलो चल्दै आएको छ । शीत युद्धमा आणविक विषाक्तको डरलाग्दो हल्लाले संसार विक्षुप्त थियो । अहिले नक्कनी दर्शनको बिगबिगीले विभिन्न मुलुकहरू त्रसित छन् । कुन्नी किन मेरो कलमले अकस्मात होलोग्राम लेख्दैछ । पढ्नेलाई कस्तो लाग्ला माफ पाउँ । किनबेचका वस्तुहरूमा कम्पनीले टाँचा लगाएको सद्दे चिनारी गराउने होलोग्राम । कस्तो कम्पनी ? उपभोग गर्ने सरसामान उत्पादन गर्ने कि कार्यकर्ता उत्पादन गर्ने ? कोही झुक्किएर त कोही फँसेर चित्तपर्छन् । चिन्तनभूमिमा कुण्ठा लत्पतियो भने उत्पादनको मिसन र भिजन निर्दिष्ट हुँदैन ।
पहिले कलिलो हुँदा ‘खोइ मुसा ? दुला भित्र पस्यो’ भन्ने खेल खेल्थ्यौं । अहिले छिप्पेपछि खेल पनि अलि छिप्पिसकेको छ । एकपटक खेलौं है– खोइ बुद्धि ? विवेक खोज्न गयो । खोइ विवेक ? ढुङ्गामुडा भित्र पस्यो । खोइ ढुङ्गामुडा ? हत्या–हिंसाले पन्छायो । खोइ हत्या–हिंसा ? नेताको गिदीमा छ । खोइ नेता ? बन्दुकभित्र पस्यो । खोइ बन्दुक अविवेकीले लग्यो । खोइ अविवेकी ? अधिकार भित्र लुक्या छ । खोइ अधिकार ? मानवअधिकार काँ गयो । खोइ मानिवअधिकार ? समावेशीले छोप्यो । खोइ समावेशी ? डलर भित्र्याउँदै छ । खोइ डलर ? शान्तिसँग जिस्किँदै छ । खोइ शान्ति लुटेराले लुट्यो । खोइ लुटेरा ? दलले लुकायो । खोइ दल ? दलदलमा भासियो । वाह ! दमदार खेल ।
सुन्दा उदेकलाग्दो, उट्पटयाङ् र रेला गरे जस्तो । तर्कमा हरेक कुराको सन्दर्भ जोडिने गर्दछ । त्यहाँ जोडिएको मर्मको मूल्य गहिरो हुन्छ । अलिकति के कसैले दिन्छु भन्दा आफ्नो सर्वस्व दिने हाम्रो बानी । कथित सिद्धान्तहरूको अन्तरवस्तु केलाउन तर्फ लाग्दैनौ हामी । बेसारेहरूको परिपाटी पार्ने सीपलाई दिग्गज मानिदिन्छौं । कस्तो दिग्गज वाह ! “यसले अब के–के त गर्छ है” प्याच्चै भनिदिन्छौं । यहि प्रवृतिले नेताको रुप लिएकाहरू सर्किएका छन् भन हामी नेता बनाइ दिनेहरू भने लत्रिएका छौं । सिद्धान्तको होलोग्राम सक्कली वा नक्कली हामी पर्गेल्न तर्फ अलिकति पनि कसरत नगर्ने बानीले निरन्तर ठगिएका छौं ।
कानो राजनीति । बहिरो राजनीति । थेत्तरो र लबस्तरो राजनीति । कस्तो मौसमी छेपारो रङ्गको हुँदो रहेछ । यो राजनीति ! हामी नागरिक पनि कति दानी छौं । आफ्नो अत्यन्तै गोप्य र किन्न नै नपाइने मत लुसुक्क छिपकलीहरूलाई दिएपछि किन जिङ्ग्रिङ्ग पर्नु हुन्छ ? पहिले लुगा लगाएर आउँछन् । अभिमतबाट सुशोभित भइसकेपछि नाङ्गै भएर सत्ता चलाउँछन् । राजनीति गर्मीको खेल हो । एकधरो पनि जीउमा नलगाइकन खेल्न जान्नुपर्छ । आशक्ति तरङ्ग, भ्रष्ट लहड, लटमुखा गद्दु राजनीतिको कुनै सिद्धान्त हुन्न । अलिखित नक्कली होलोग्रामवेष्टिक चटके वबक्पटुताले शाभित भाषणजीवीहरूले आशामा बाँचेका मान्छेहरूलाई ठग्छन् । छट्टुहरूको आतुरकलाको आयाम जति चाँडो फैलिन्छ त्यति नै दोब्बर भएर खुम्चिन्छ, होलोग्राम च्यातिएपछि । मानवताका गरीब छन्, ती सिजनको राजनीति गर्नेहरू । भावनाका धनी छन् आशामा बाँच्नेहरू बजारका एक मौसमी ग्यारेन्टीका गरगहना झै नक्कली होलोग्रामको सिद्धान्तले टुना लगाउँछ र एकफेर झुक्याउँछ । एउटा झुण्डले पैसा र शक्ति कमाउँछ अनि मस्तीमा बुर्कुसी मार्छ । हामी त्यसैको जादुमा लठ्ठिन्छौं र ठगिएको समयपछि व्युतिन्छौं । नक्कलीहरूको ऋतु हुँदै । देश र भेष पनि हुँदैन । हृदयी भावना र सद्भावी कामना पनि हुँदैन । त्यसैले डर त्रास आदिबाट बँचेर सक्कली र नक्कलीको भेद खुट्याइ आफ्नो सुरक्षा खोज्नु पर्छ ।
सत्ता बाहिर रित्तो हुँदा लगाउने नारा– “हत्या हिंसा बन्द गर । लोकतन्त्र बहाली गर । गणतन्त्र जिन्दावाद । क क अरु बन्द गर ......................... । महङ्गी नियन्त्रण गर । सबैलाई राजगोरीको ग्यारेण्टी गर । अनाथ, अपाङ्ग, वृद्धहरू र बालबालिकाहरूको संरक्षणको व्यवस्था गर । विस्तारवादी घुसपैठ बन्द गर । खुला सीमाना व्यवस्थीत गर । विदेशी कामदारलाई वर्कपरमीट लागू गर । पुलिस धरपकड बन्द गर” आदि इत्यादि । नाराको खुदोमा लटपटिएको जुलुश र चेपुवामा परेर मरेका मानिसहरूको शहादतबाट उत्पन्न शक्तिबाट सत्ता प्राप्त गरेपछिको रङ्ग आहा ! स्याउ दाना गाला । क्रिमदाना छाला । अनि नारा जुलुशका सहयात्री वा जनतालाई उही पुरानो सास्ती । वाह ! “वाद” को होलोग्राम । सक्कली नक्कली वा पवनकली ? पहिले क्रान्ति वा परिवर्तनको आन्दोलनमा लाग्दा देखिएको सिद्धान्तको होलोग्राम राम्रै लाग्दथ्यो ।
हृदयमा कान नहुने र आँखामा आँखा नहुनेहरू पो राजनीतिको उच्च पदमा बस्दारहेछन् । माग माग्न आफू अह्राउने । अनि आफूले दिने समयमा धम्की दिने । कस्ता प्रजातिका छिप्कलीहरू हुन् ? पहिचान गर्न जीव विशेषज्ञहरूलाई सादर अनुरोध गर्दछु । नक्कली छाला भित्र वा खद्दरको थैलो भित्र भूस, कत्रन र पराल खाँदेर बाहिर भुत्ला टाँसेर बाघ, भालु, कुकुर, चरा, आदि आकृतिको खेलौना र जनहित, नागरिकहित, जनहितका लागि लोकतन्त्र वा जनवादको शासनको आकृतिमा फरक होला ? जनतालाई कार्टेलिङ् गर्ने सैद्धान्तिक सेन्डिकेटवादीहरूको वास्तविक दार्शनिक धरातल हुँदैन । डण्डहीनताले लबालब भएको गतिविधिलाई कुनै सैद्धान्तिक र दार्शनिक आवरण लगाउन खोज्नु नक्कली होलोग्राम टाँसेर शासन चलाउने दाउपेच हो ।
सेवा, समर्पण र पहलकदमी जनहीत व्यवस्था चलाउनेहरूको आधार हो । नागरिकहरूको विपन्नता, अचेतनता, अबुझपन, अशिक्षित अवस्था आदिलाई चतु¥याइँपूर्वक बुझेर डरको मनोविज्ञान स्थापित गरी त्यसैको आधारमा राजनीति अगाडि बढाउने प्रवृति ‘खोइ मुसा ?’ को खेलबाट प्रष्ट हुन्छ । कर्मको भाषा नजान्नेले रगतको भाषा बोल्छ । शहिदको भावमूभि नबुझ्नेले शहिदको खेती गर्छ । जनताको पीर नचिन्नेले पिराहा वितण्डता मच्चाउँछ । त खोइ न्याय ? अपराधले लग्यो । खोइ अपराध ? राजनीतिले लुकायो । खोइ राजनीति ? राहत बाँड्दैछ । खोइ राहत ? डोनर खोज्दै छ । खोइ डोनर दुरविन लगाउँदै छ । ओहो ! हामी कति भाग्यमानी दुरविनबाट हेरिने ।
गाली गर्न पनि पाइने थाली थाप्न पनि पाइने । कस्ता दानी विस्तारवादी र साम्राज्यवादीहरू । “साम्राज्यावाद मुर्दावाद, विस्तारवाद मुर्दावाद” यो पनि क्रान्ति उठाउने होलोग्राम नै हो । तिनैले गाँस वास र आस दिन्छन् कसरी हुन्छन् ति विस्तारवाद र साम्राज्यवाद ? यहि त हो सिद्धान्तको नक्कली होलोग्राम । अझै हेर्दै र चाख्दै जानुस् । हामी पराइद्वारा ‘पालिने’ मा पुग्नै आँटेका छौं ।
navinnp45@mail.com

0 प्रतिकृया:

Post a Comment