संयुक्त व्यवस्थापनबाट उज्यालो यातायात सञ्चालन हुने

पिपुल्स टाइम्स समाचार
बिर्तामोड/विगत नौ महिनादेखि उज्यालो यातायात सञ्चालनको विषयमा चर्किएको विवाद समाधान गर्न संयुक्त व्यवस्थापनबाट उज्यालो यातायातका सवारी साधन सञ्चालन गर्ने सहमति भएको छ ।
मेची अञ्चलका चार वटा यातायात व्यवसायी संघको संयुक्त यातायात व्यवस्थापन समिति, उज्यालो यातायातका प्रतिनिधि र टे«ड युनियनका प्रतिनिधिबीच विहीवार विर्तामोडमा भएको बार्तामा उज्यालोसहितको संयुक्त व्यवस्थापनबाट यातायात सञ्चालन गर्ने सहमति भएको हो । संवाद समूहको संयोजनमा भएको बार्ताको सहमतिमा ‘संयुक्त यातायात व्यवस्थापन समिति मेचीकै संरचनामा पहिचानसहित उज्यालो यातायात व्यवसायी संघका यातायात उज्यालोसहितको संयुक्त व्यवस्थापनबाट सञ्चालन गर्न हामी सहमत छौँ’ उल्लेख छ ।
पहिचानको मोडल, हैसियत र यातायातको क्यू वितरण लगायतको प्राविधिक विषय तीन दिनभित्र टुंग्याउने गरी कार्यदल गठन भएको छ । संवाद समूहका सदस्य तथा स्थानीय शान्ति समितिका संयोजक सूर्यनारायण गणेशको संयोजकत्वमा गठित समितिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद मैनाली, सर्वोच्च यातायात व्यवसायी महासंघका अध्यक्ष विष्णु शिवाकोटी, मेची यातायात संघका सभापति एलपी सिटौला, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मेचीका सचिव राजेन्द्र रिजाल, उज्यालो यातायात व्यवसायी संघ मेचीका अध्यक्ष भूपू कान्छा र सचिव केवलराम राई सदस्य रहेका छन् ।
कार्यदलले प्राविधिक विषयमा छलफल र निर्णय गर्ने संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले बताए । विभिन्न चरणमा भएको वार्ताको आधारमा विहीवारको बार्तामा उक्त दुई बुँदे सहमति भएको संवाद समूहका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले बताए ।
वार्ताको सहजीकरण संवाद समूहका तर्फबाट राजनीतिक दलका नेताहरुले गरेका थिए । नेपाली कांग्रेसका कार्यवहाक सभापति देउमान थेवे, नेकपा एमालेका डिल्ली घिमिरे, एकीकृत नेकपा माओवादीकी अध्यक्ष धर्मशीला चापागाई, नेकपा माओवादीका सेक्रेटरी रोशन कन्दङवाले सहमतिबाटै विवाद टुंग्याउनुपर्नेमा जोड दिँदै बार्ताको सहजीकरण गरेका थिए । टे«ड युनियनका
 प्रतिनिधिहरु यज्ञप्रताप अधिकारी, विष्णु सिटौला, भूपाल सापकोटा, दीपक तामाङ र भूपाल ओलीले मजदुरका पेशागत हकअधिकार ग्यारेन्टी गर्न र सहमतिबाट अगाडि बढ्न दबाब दिएका थिए । बार्तामा  कन्काई यातायातका सभापति कुलप्रसाद ओडारी, पूर्वाञ्चलका सभापति प्रमानन्द घिमिरे, उज्यालोका तर्फबाट लाजेहाङ साम्यु, अरुण बुढाथोकी र रवीन बस्नेतले समेत आ–आफ्नो एजेन्डा प्रस्तुत गरेका थिए । 


0 प्रतिकृया:

Post a Comment