सुरुङ्गामा विश्व कलायात्री नगेन

सुरुङ्गा/शान्ति, पर्यटन र कलाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्व कला यात्रामा जुटेका नगेन सिंह आफ्नो कला यात्राको क्रममा झापा कनकाई नगरपालिकास्थित सुरुङ्गा आइपुगेका छन् । स्वदेश तथा विदेशकाका आम नेपाली जनमानसहरुमा आफ्नो मौलिक कलाको पहिचान गराउँदै यसको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले उनी विश्व कला यात्रामा निस्किएका हुन् ।
ललितकला क्याम्पस काठमाडौँबाट चित्रकलामा स्नातकोत्तर गरेका लेखनाथ नगरपालिका १२ कास्कीका ३५ वर्षीय सिंहले गत असार १६ गते पूर्वको तीर्थस्थल ताप्लेजुङको पाथिभराबाट आफ्नो कला यात्राको आरम्भ गरेका हुन् । ताप्लेजुङका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरु, पाँचथरको गढीमाई मन्दिर, पर्यटकीय स्थल स्वीजरल्याण्ड, इलामको नारायणथान मन्दिर, भ्यू टावर लगायतका स्थानमा आफ्नो कला प्रस्तुत गर्दै उनी झापासम्म आइ पुगेका हुन् । उनले झापाका प्रमुख पर्यटकीय स्थलहरु जामुनखाडी सिमसार, दोमुखा, कनकाई धाम कोटीहोम, धनुषकोटी धाम, अर्जुनधारा जलेश्वर धाम लगायतका स्थलमा भ्रमण गरी ती क्षेत्रको प्रत्यक्ष रुपमा चित्र समेत बनाएका छन् ।
झापापछि पूर्वी जिल्लाहरु सुनसरी, मोरङ हुँदै देशका ७५ वटै जिल्लाको धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुको चित्र क्यान्भासमा उतार्ने उनको लक्ष्य छ । आगामी चैत्र २२ गते दार्चुलाको खलङ्गामा पुगेर नेपाल यात्रा टुंग्याउने उनी बताउँछन् । त्यसलगत्तै नेपालको कलासम्बन्धी पुस्तक प्रकाशन गरी सोही पुस्तक बोकेर विश्व समुदाय माझ नेपाली कला पहिचानलाई लग्ने विश्व कला यात्री सिंहले बताए ।

0 प्रतिकृया:

Post a Comment