अर्थतन्त्र उकास्ने सवालमा ध्यान देउ – सम्पादकीय

राजनीतिक परिवर्तन संगै आर्थिक रुपान्तरणमा जोड दिने गरिन्छ । नेपाली जनताले विभिन्न प्रकारका आन्दोलन र क्रान्ति सम्पन्न गरेका छन् । चाहे त्यो राणा देखि राजतन्त्रको शासनमा जनताले सधै  जितेको अवस्था छ । नेपाल मात्र होइन अहिले सबैले खुला बजार अर्थतन्त्रको नीति अंगालेको घोषणा गरेका छन् । ००७ सालदेखि अहिलेसम्म राजनीतिक स्थायित्व हुँदै भएनन् । यसले पनि आर्थिक सम्बृद्धि गर्न प्रभावित बन्न पुग्यो ।
 नेतृत्व राजनीतिक परिवर्तनका हकमा सफल देखिए पनि आर्थिक सवालमा देश सारमा असफल नै ठहरिन पुग्यो । प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुकका जनताले क्षमताअनुसार श्रम गर्ने ठाउँसम्म पाएनन् । आर्थिक विपन्नताकै कारण नेपाली युवा विदेश गएर कठोर श्रम गर्न बाध्य भएका छन् । यदि राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन पनि हुन्थ्यो भने समाजले सफल र समुन्नत समाजको परिस्कृत समय भोगिरहेको हुने थियो । दुर्भाग्य नेपाली समाज आर्थिक रूपले विपन्न अवस्थामा बाँच्न विवश छ ।
त्यसो त ०६२ को आन्दोनलपछि मात्र होइन, ०४६ को जनआन्दोलनपछि नै नेपाली जनताले समुन्नत जीवनशैलीको कल्पना गरेका थिए । तर, संविधानसभाको दोस्रो निर्वाचन भएर यहाँसम्म आइपुग्दासम्म राजनीतिले स्थायित्व ग्रहण नगरेका कारण आर्थिक अवस्था झन् खस्कँदै आएको छ । अब राजनीतिक स्थायित्त्व नहुने हो भने नेपालमा विकासका कार्य हुने छैनन् भने उद्योग कलकारखान पनि बन्द हुनेछन् । अहिले नै विकासका काममा खर्च नभएर पैसा एकातिर थुप्रिएको छ भने अर्कातिर काम नपाएर युवा पलायनको अवस्था डरलाग्दो गरी बढिरहेको छ । महँगी, भ्रष्टाचार, कुशासन, अराजकता र अनियमितताले दह्रो जरो गाढेका कारण नेपालमा आर्थिक विकास हुन सकेन । रजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रसमेत घुस र भ्रष्टाचारतर्फ आकर्षित भएपछि राष्ट्रको यो हविगत भएको हो । विकास आयोजनाहरू सफल नभएसम्म आर्थिक विकासले गति लिन सक्दैन । नेतृत्वमा दह्रो इच्छा शक्ति नभएसम्म विकास लक्ष्य पूरा हुँदैन । यसर्थ अब सबै दलका शीर्ष नेताले देश विकासको स्वच्छ र पवित्र उद्देश्य राखेर सहमतिअनुसार अगाडि बढ्नुको विकल्प छैन ।
जलस्रोतको धनी मुलुक भएर पनि लोडसेडिङ भोग्नै पर्ने, प्राकृतिक स्रोत र साधनले अत्यधिक सम्पन्न राष्ट्र नेपालले त्यसको दोहन गर्न नसक्दा जडिबुटीलगायत वस्तु अर्कैले उपभोग गरिरहेका छन् । यो अवस्था आउनुमा थोरबहुत सबै दोषी भए पनि मुख्य रूपमा राजनीतिक नेतृत्वको इच्छाशक्ति कमजोर भएकै कारण यो अवस्था भोग्नु परेको हो । अब राजनीतिक परिवर्तनले मात्र जनतालाई राहत मिल्दैन । त्यसका लागि आर्थिक विकास गर्नैपर्छ । अन्यथा यो राष्ट्र असफल राष्ट्रतर्फ धकेलिने छ । तसर्थ अब आर्थिक क्रान्तिका लागि स्थायी शान्ति, स्थायी सरकार, भ्रष्टाचारमुक्त राजनीतिज्ञ र कर्मचारी साथै तीव्र गतिमा विकास कार्य सुचारू गर्ने कार्य मात्र विकाल्प छ । अहिलेको अवस्था मुख्य रूपमा अस्थिर राजनीतिका कारण भित्रिएको हो । यसलाई हटाउन राजनीतिकर्मीहरू नै अग्रसर हुनुपर्छ । आर्थिक रूपमा सम्पन्न मुलुकका नागरिक मात्र सुखी र सम्पन्न हुन्छन् । यसतर्फ सबै पक्ष गम्भीर हुनै पर्छ । हामी गरिब छैनौँ । हामीमा इच्छाशक्ति कमजोर छ । प्रकृतिले सबै थोक दिएको छ तर उपयोग गर्न सकेका छैनौँ । अब सबैले आर्थिक क्रान्तिलाई टेवा पु¥याउने काम गर्नैपर्छ । अन्यथा मुलुक उँधो गतितिर जानेछ ।

0 प्रतिकृया:

Post a Comment