मुलुकलाई सक्षम डाक्टरको खाँचो : बुढाथोकी

कमन देवान
महारानीझोडा, २ पुष/नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तामा बसिरहने नैतिक हैसियत गुमाइसकेको भन्दै मुलुकलाई सक्षम डाक्टरको खाँचो भएको बताएका छन् ।
झापाको महारानीझोडामा आइतबार स्व. गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुनधुरा झापाको आयोजना तथा नेपाली कांग्रेस महारानीझोडा गाउँ समितिको सहयोगमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै झापा क्षेत्र नम्बर ५ को पूर्व सभासद् समेत रहेका बुढाथोकीले प्रम भट्टराई फेबिकोल लगाएर कुर्सीमा टाँसिइरहेको आरोप लगाए । उनले भने –‘संविधानसभा बिघटन लगायत थुप्रै मुद्दामा असफल भएका डाक्टरलाई हटाएर मुलुकका समस्या समाधान गर्न सक्ने सक्षम डाक्टरको खाँचो परेको छ ।’
सो अघि झापाको लखनपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बुढाथोकीले चुनाव भए हैसियत घट्ने डरले माओवादी चुनावबाट भागिरहेको आरोप लगाए । ‘कांग्रेसलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व दिए चुनाव गर्छौं । तर माओवादी हैसियत गुम्ने डरले भागिरहेको छ । राजनीतिक गतिरोध त्यसैले लम्बिूदै गएको छ’, उनले भने । माघमा पार्टीको महाधिवेशन गर्ने माओवादी रणनीति बैशाखलाई घोषणा गरिएको संविधानसभा निर्वाचन टार्ने खेलमात्र भएको बुढाथोकीले आरोप लगाए ।
कार्यक्रममा बोल्दै झापा क्षेत्र नम्बर ६ का पूर्व सभासद् दीपक कार्कीले तल्लो तहका जनतालाई स्वास्थ्य शिविर उपयोगी हुने बताए । त्यस्तै कांग्रेस झापा उपसभापति देउमान थेबेले राजनेता गिरिजाप्रसाद काइरालाको स्मृतिमा स्थापित प्रतिष्ठानले ग्रामीण क्षेत्रका जनताको हितमा काम गरेको सुझाए ।
सो अवसरमा स्थानीय छ जना सामाजिक अगुवाहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेहरूमा नेका महारानीझोडाका पूर्व सभापति विष्णुप्रसाद अधिकारी, महारानीझोडाका पूर्व गाविस अध्यक्ष देवीप्रसाद काफ्ले, कृष्णप्रसाद चुडाल, गुरुप्रसाद घिमिरे, कुलप्रसाद ओली र गंगाप्रसाद पौडेल रहेका थिए ।
विराटनगरस्थित नोबेल अस्पतालका विशेषज्ञ डाक्टरहरूको सहयोगमा सञ्चालित शिविरबाट ग्रामीण भेगका १२ सय बढी सर्वसाधारण लाभान्वित भएको जनाइएको छ । स्वास्थ्य परीक्षणका क्रममा उपचार आवश्यक भएका बिरामीले चाहे अस्पताल भर्नाका लागि निःशुल्क यातायातको
व्यवस्था गरिएको नोबेल अस्पतालका बजार प्रबन्धक भगत शाहले बताए ।
शिविरमा भिडियो एक्सरे, इसिजि, फिजिसियन, स्त्रीरोग, बाल रोग, मानसिक, दन्त परीक्षण लगायतका स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको कांग्रेस क्षेत्रीय प्रतिनिधि युवराज पौडेलले जानकारी दिए ।
कार्यक्रमको उद्घाटनसत्रमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ७ का महाधिवेशन प्रतिनिधि हुकुमसिंह राई, जिल्ला सदस्य टीकाराज सापकोटा लगायतको आतिथ्य रहेको थियो । प्रतिष्ठानका अध्यक्ष किरण भट्टराई र नेका महारानीझोडा सभापति पिताम्बर दाहालको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

आङ्ग खस्ने महिलाका लागि स्वास्थ्य शिविर

आइतबारदेखि दमकको लाईफलाईन अस्पतालले आङ्ग खस्ने महिलाहरू बिरामीहरूको उपचार सहजताका लागि निःशुल्क तीन दिने स्वास्थ्य परीक्षण शिविर सुरु गरेको छ ।
अस्पतालद्वारा आयोजित स्वास्थ्य शिविरमा आङ्ग खस्ने रोगको पहिचान गरी पीडित महिलाहरूलाई निःशुल्क शल्यक्रियाका लागि आवश्यक तयारी थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सूर्यनारायण शाहले जानकारी दिए ।

महिलामा हुने आङ्ग खस्ने समस्या गुप्त रोग भएकाले अधिकांश रोगी उपचारका लागि स्वास्थ्य संस्थामा आउन लजाउने डा. शाहाको भनाई छ । धेरै बच्चा जन्माउने र बढी श्रम गर्ने महिलाहरूमा यो समस्या अत्याधिक रहने उनले दावी गरे । आइतबार अस्पतालमा ३० जना महिलाले आफ्ना समस्याका बारे स्वास्थ्य परामर्श लिएको शाहले बताए ।
सो रोगको शल्यक्रिया सहितको उपचारका लागि पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटासँग सम्झौताको अन्तिम तयारी भइसकेको अस्पतालका अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिए । उनले भने –‘निर्देशनालय र अस्पतालबीच आगामी ९ गते सम्झौता हुने पक्का भएको छ ।
त्यसपछि आङ्ग खस्ने समस्या भएका महिलाहरूलाई हामी निःशुल्क उपचारको व्यवस्था गर्ने छौं ।’ आङ्ग खसेका बिरामीको शल्यक्रियाका लागि न्यूनतम २५ हजार रुपैयाँ खर्च हुने अस्पताल स्रोतले जनाएको छ । राष्ट्रिय कार्यक्रम अन्तर्गत विभिन्न अस्पतालहरूसँग सम्झौता गरी आङ्ग खस्ने महिलाका उपचारको लागि स्वास्थ्य मन्त्रालयले उपचार लागत व्यहोर्ने व्यवस्था छ ।
आइतबारदेखि सुरु भएको शिविरमा मदुमेह र दन्त परीक्षणको समेत निःशुल्क व्यवस्था गरिएको अस्पतालले जनाएको छ । अस्पतालका फिजिसियन डा. सन्तोष सुवेदी, डा. मुक्ति भट्टराई र डा. अविनव श्रेष्ठले मंगलबारसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्दैछन् । पहिलो दिन एक सय बढी सर्वसाधारणले सेवा लिएका बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment