साम्बाको नेतृत्वमा नयाँ पार्टी

दमक, २ पुष/मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् फुटाएर असन्तुष्टहरूले नयाँ पार्टीको घोषणा गरेका छन् । आइतबार धरानमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी निर्माण भएको औपचारिक घोषणा गरेका हुन् ।

लिङ्देन नेतृत्वको संगठनले लिम्बुवानी आन्दोलनलाई धोका दिएको भन्दै नयाँ शक्तिको रुपमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् (लोकतान्त्रिक) पार्टी सार्वजनिक गरेका हुन् । घोषित सो पार्टीको नेतृत्व लोकसागर साम्बाले गरेका छन् ।
पार्टीको चार उपाध्यक्षहरूमा दिलकुमार फोम्बो, होमप्रसाद तुम्वाहाम्फे, हरि श्रेष्ठ, टिका ढुंगेल, सचिवमा डम्बर खजुम, सहसचिवमा मनिष हेल्लोक, अर्थसचिवमा देउमान लिम्बु लगायत २१ सदस्यीय कार्यसमिति गठन गरेका छन् ।
गत मंसीर २३ र ३० गते सम्म धरानमा असन्तुष्टहरूले (प्रगतिशील विचार समूह) को भेला गरी नयाँ पार्टी घोषणा गरेका थिए । पार्टी गठनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नवगठित पार्टीका अध्यक्ष साम्बाले लिम्बुवानी आन्दोलनलाई निष्कर्षमा पु¥याउन नयाँ राजनीतिक शक्ति स्थापित भएको दाबी गरे । ‘अरुण पूर्वका ९ जिल्लालाई पहिचानसहितको लिम्बुवान स्वायत्त राज्यको रुपमा स्थापित गराउन लोकतान्त्रिक विचार समूहलाई एकताबद्ध गराउनेछौँ’ अध्यक्ष साम्बाले भने–‘लिम्बुवानजन्य संगठनहरूबीच दर्विलो एकताका लागि समेत हाम्रो प्रयास हुनेछ ।’ सम्मेलनमा सम्बाले लिङ्देन नेतृत्वको परिषद्ले लिम्बुवानी आन्दोलनलाई ओझेलमा पारेको जिकिर गरे ।
सोही सम्मेलनमा वितरित विज्ञप्तिमा सुनसरी जिल्लाको अध्यक्षमा कुमार सेरेङ चोङवाङ, विद्यार्थी विभागमा अनिल लिङ्देन, युवा विभागमा नितेश सिंगक, विद्यार्थी तर्फ उपत्यका प्रमुखमा गुमानसिंह लिङ्देन, विद्यार्थी तर्फ झापा प्रमुखमा विष्णु लाओती र सल्लाहकार समिति प्रमुखमा चन्द्र साम्बा रहेका सांगठानिक समिति समेत गठन गरिएको जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment