विवाद समाधानका लागि भएका छलफल निष्कर्ष विहीन – मुख्य समाचार

काठमाडौं, वैशाख ९/ संविधान निर्माणका विवादित मुद्दामा सहमति जुटाउन शुक्रबार बिभिन्न दलहरुले विभिन्न चरणमा अलग–अलग छलफल गरे पनि उनीहरुले निष्कर्ष निकाल्न सकेनन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा माओवादी र कांग्रेसबीच शुक्रबार भएको छलफलमा विवादित सबै विषयमा सहमति खोज्ने उपाय बारे छलफल भएको कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताए । ‘सबै विवादमा सरसर्ती छलफल भयो,’ संवाददाताहरुसित उनले भने ।
संघीय संरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली तथा नागरिकता विषयमा प्रमुख दलहरुबीच सहमति हुन सकिरहेको छैन । खासगरी राज्य पुनर्संरचनाका विषयमा सडकमा पनि विभिन्न समूहले खबरदारी गरेपछि दलहरुबीच सहमतिको गृहकार्य भएको हो ।
बैठकमा सहभागी माओवादी सचिव पोष्टबहादुर बोगटीले जनअपेक्षालाई सम्बोधन गर्ने बारे छलफल भएको बताए । ‘सडकमा देखिएको जनअपेक्षा सम्बोधन गर्ने बारे पनि छलफल ग¥यौं,’ उनले भने । संविधानका विवादित विषयमा सहमति जुटाउन बैशाख ११ गतेसम्मका लागि अन्तिम समय सीमा तोकिएको छ । गत आइतबार र सोमबार हात्तीवनस्थित रिसोर्टमा दलहरुबीच बैठक बसेपछि संविधानमा केन्द्रीत भएर सामूहिक बैठक हुन सकेको छैन । यसबीचमा भएका बैठक शान्ति प्रक्रियाको मुद्दामा केन्द्रीत रहेको थियो । यस्तै संविधान निर्माणका विवादित मुद्दामा सहमति जुटाउन माओवादी र एमालेबीच भएको छलफल बिना निष्कर्ष टुङ्गिएको छ ।
डिल्लीबजारको भोजन गृहमा भएको छलफलमा विवादित सबै विषयमा सहमति खोज्ने उपाय बारे छलफल गरिएको थियो । बैठकपछि एमाले नेता भीम रावलले वार्ता सकारात्मक भएको बताए । उनले भने –‘वार्ता सकिएको छैन भालि पनि जारी रहने छ ।’ संविधान निर्माणका सबै विषयमा छलफल भएको उनले बताए ।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा कांग्रेससँग छलफल भएको थियो । काग्रेससँगको छलफलमा संघीय संरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली तथा नागरिकता विषयमा सरसर्ती चर्चा भएको कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले जनाएका थिए । खासगरी राज्य पुनर्संरचनाका विषयमा सडकमा पनि विभिन्न समूहले खबरदारी गरेपछि दलहरुबीच सहमतिको गृहकार्य भएको हो ।
कांग्रेससँगको छलफलपछि माओवादी अध्यक्ष दाहालले मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका थिए । शनिबार प्रमुख तीन दलको बैठक बस्ने बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment