सप्तरङ्गीको वार्षिक उत्सव

दमक, वैशाख ९/दमकको सप्तरङ्गी एफएमले शुक्रबार छैठौं वार्षिक उत्सव मनाएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक गणेशप्रसाद बस्नेत, ब्रोडकास्टर एशोसिएसनका उपाध्यक्ष राजेन्द्र चौलागाँई, दमक बहुमुखी क्याम्पसका अध्यक्ष सुरेश सुब्बा, हिमशिखर टेलिभिजनका अध्यक्ष ध्रुव न्यौपाने,  मदन भण्डारी फाउण्डेसन झापाका अध्यक्ष देवेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एफएमका प्रबन्ध निर्देशक गिरीराज भट्टराईले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
सोहि कार्यक्रमको दोस्रो खण्डमा एफएमले मासिक रुपमा आयोजना गर्दै आएको सप्तरङ्गी सप्तकमा गायिका कुन्ती मोक्तानले विभिन्न सुमधुर गीतहरु प्रस्तुत गरिन् । उनले डाली–डालीमा, कहिले काँहि मलाई पनि, रुँदै छु म गैरी खेतमा लगायतका विभिन्न लोकप्रिय गीतले स्रोता–दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन् । उनलाई उनका सङ्गीतकर्मी शिलाबहादुर मोक्तानले साथ दिएका थिए ।

0 प्रतिकृया:

Post a Comment