सर्वोत्कृष्ट प्राणी – असरल्ल

कमन देवान
सिद्धान्त, शैली, बोली, प्रवचन र प्रतिबद्धता भन्दा व्यवहार माथि हुन्छ । मानिस के, कसरी वा कस्तो बोल्छ ? त्यो मानिसलाई चिन्न काफी छैन । केवल मानिससँग परिचित हुने र सङ्गत गर्ने विषय हुन सक्दछ । तर, वास्तवमा कुनै पनि मानिसको बारे बुझ््नलाई उसले अरुसँग गर्ने व्यवहार नै आवश्यक तत्व हो । जो मानिस आफूमा इमान्दार छैैन, ऊ अरु कसैका लागि पनि इमान्दार बन्न सक्दैन । मानिसको इमान्दारितालाई जाँच्ने कसी भन्नु पनि उसको व्यवहार नै हो । तर, व्यवहारिकताको अर्थ कुनै पुस्तकमा महान् वाणीका रुपमा लेखिएका आदर्श शब्दहरु भने होइनन् । आदर्श शब्दहरुले मानिसलाई कुनै सकरात्मक चिन्तनका लागि प्रभावित सम्म गर्न सक्छ तर समग्र आचरणमै परिवर्तन ल्याउन भने सक्दैन । कुनै एउटा छात्रले अरुकै सहयोगमा गृहकार्य बुझाए जस्तो वा कुनै एक गृहिणीले नोकर चाकर मार्पmत घरायसी क्रियाकलापमा चुस्तता ल्याउनु जति सजिलो आफ्नो आचरण परिवर्तन गर्नु विल्कुलै छैन । आचरण आफै भित्र आफ्नै प्रयासबाट मात्र परिवर्तन गर्न सकिन्छ, अरुले भनिदिएका, औँल्याइदिएका, देखाइदिएका वा सुनाइदिएका र सघाइदिएका भरमा त्यो कदापि सम्भव छैन । सर्वप्रथम हामीले यस सत्यलाई आत्मसाथ गर्न जरुरी छ । अधिकांश समाजमा घरेलु हिंसाका घटनाहरु दिनानुदिन वृद्धि भइरहेका छन् । महिलाहरु विशेष गरी र पुरुषहरु समेत बोक्सी वा बोक्सीका आरोपमा प्रताडित बन्दै आएका घटनाहरु हाम्रा लागि सामान्य जस्तै छन् । त्यस्तै, दाइजोको निहुँमा महिलाहरु माथि अझै पनि हिंसा रोकिएको अवस्था छैन । सामान्य रुघा, खोकी, झाडाबान्ता मात्रै छैन, मृत्युको सिकार पनि बन्ने गरेको छ । जातभात, छुवाछुत, धर्म, वर्ण जस्ता बेतुकका प्रसङ्ग आज समाज विग्रहका प्रमुख तत्व बन्दै गएका छन् । मानिस समाज भन्दा बाहिर छैन । ऊ आफै भित्र प्रदुषित छ, सँगै उसको सामाजिक परिवेश दुर्गन्धित बनिरहेको अवस्था छ । सामाजिक परिवेशलाई दोष लाग्ने काम गर्न तम्सिएको मानिस कति सचेत छ ? कति इमान्दार र व्यवहारवादी छ ? अब समयले यी गौण ठानिएका गम्भीर विषयहरु उपर चिन्तन गर्ने समय आएको छ । यद्यपि, चिन्तनका लागि मात्रै गरिएको औपचारिकता पूरा गर्ने कार्यले अबको मानिसको इमान्दारिताको परिभाषा किताबी वा दर्शनको ठेली हुन सक्दैन । इमान्दारिता भनेको आफू वा आफ्नो जस्तै समस्या अरुका पनि छन् भन्ने बुझ्न सक्ने क्षमता र मानसिकताको विकास हुनु हो । इमान्दारिता भनेको अरुले आफूलाई जस्तो व्यवहार गरोस् भनेर अपेक्षा राखिन्छ, आफूले अरुलाई त्यस्तै व्यवहार गर्न सक्नु र गर्न तयार हुनु पनि हो । इमान्दारिता भनेको बोले अनुसार वा जिम्मेवारी बहन गरे अनुसारको कर्तव्य पूरा गर्न सक्ने व्यवहारिकता हो । तथापि, कसैको मन भित्र निहित व्यवहारिक स्वार्थ नबुझी उसका भनाईमा पछि लाग्ने कार्य समय, श्रम, विवेक र इच्छा शक्तिको नाश गर्नु शिवाय अरु होइन । केही दिन अघि पूर्वाञ्चलको एउटा एफएम रेडियो स्टेशनमा काम गरिरहेका सबै कर्मचारीले राजीनामा दिए । पूर्वकै एउटा अस्पताल चल्न नसकेर सेवा बन्द गर्ने स्थितिमा पुग्यो । अरु यस्ता थुप्रै सेवा प्रदायक संस्थाहरुको भट्टा बस्न थालेको छ । समग्र राष्ट्रकै हालत जोखिमग्रस्त अवस्थाको छ । यसो भनिरहँदा दिग्दार र शंका लाग्छ, कतै हामी पनि भट्टा बस्ने अवस्थाकै युगमा त पुृगेका छैनौँ ? चाहे राजनीति भन्नुहोस् वा अन्य जुनसुकै नीति, नेपाली समाज र परिवेश कतैबाट पनि सुरक्षित छैन । सिङ्गो असुरक्षित परिवेशमा दम्भ गर्ने हाम्रो वास्तविकता केवल आडम्बरी मुस्कान र रवाफ मात्र हो । रवाफ र दम्भले पेट भरिँदैन, किनकि यो सामान्य व्यवहारिक पक्ष हो । हामीलाई थाहा छ, नेपाली समाज दम्भ र आडम्बरी ओढेर निकृष्ट व्यवहार गर्छ अनि सतहमा उत्कृष्ट आदर्श फलाक्छ मात्र । चाहे नेता, चाहे अभिनेता, उद्योगपति, व्यापारी, कैयौँ वा फुटपाटका पसले देखि कृषक, श्रमिक, बेगारी वा दुराचारी सबैलाई एउटै बास्केटमा राखेर तौलन हिच्किचाइरहनु पर्दैन । चिकित्सक, प्राध्यापक, न्यायाधिश, सुरक्षा अधिकारी, प्रशासक, कर्मचारी, पत्रकार, लुटेरा, डाका वा पकेटमार सबैको प्रथम र आधारभूत आवश्यकता निर्वाह हो । जीवन निर्वाह गर्नु प्राकृतिक अधिकार हो मानिसका लागि । प्रत्येक मानिस जन्मन्छन् र मर्छन् प्राकृतिक नियम फरक छैन, तर मानिसका निर्वाहका पेशा, शैली, क्षमता र व्यवहार भने फरक छन् ।
समग्रमा मानिस व्यवहारका कारण कलङ्कित वा पुरस्कृत हुने गर्दछ । इमान्दारिताका कारण स्थापित वा विस्थापित हुने गर्दछ । यद्यपि, मानिसका व्यवहार र इमान्दारिताले आफूलाई मात्र नभएर ऊसँग सम्बन्ध र सरोकार राख्ने उसले लिएको दायित्व अन्तर्गतका उसको पक्षका वा उसले तोकेर काम लगाएका, परिचालित, निर्देशित वा प्रेरित गरेका अरु मानिसहरु जे समेत अवस्था र स्थितिमा गम्भीर प्रभाव पार्दछ । यो अवस्था नै नेपाली परिवेशका लागि घातक सिद्ध बन्दै गएको छ । केही वर्ष विभिन्न नाममा सञ्चालित नेटवर्किङ्ग व्यवसायको हिवगतले पनि कतिपय अवस्थामा माथि वर्णन गरिएका विषयवस्तुलाई सरल ढङ्गले बुझ्न मद्दत पुग्ने छ । अन्ततः मानिस नै मानिसको दुःख, नियति, पीडा, भय, त्रास, विपत्ति र मृत्युको कारण बन्दछ । आखिर सृष्टिकै सर्वोत्कृष्ट प्रांणी पनि त मानिस एक्लो न हो ।

0 प्रतिकृया:

Post a Comment