‘मावाको बगरमा के को दिवस नि ?’–मुख्य समाचार

विष्णु पौडेल
दमक, फागुन २६/बिहीबार विश्वभरका श्रमिक महिलाहरुले १०२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा झापा दमक–८ ताराबारीकी ४० वर्षीया फुलमाया माझी भने मावा खोलाको किनारमा गिट्टी, बालुवा छान्न नियमित दैनिकीमा नै व्यस्त थिइन् ।
 सरस्वती नेपाल, श्रीमान बुद्धिप्रसादसँगै गिट्टी चाल्दै । फोटोः पिपुल्स टाइम्स

करिब ४ किलोमिटर पूर्वको दमक–१४ मा श्रमिक महिलाका अधिकारका बिषयमा जान्नेबुझ्नेहरु भाषण गर्दै थिए । उनीहरुले श्रम गर्ने महिलाहरुले अझै पनि बिभिन्न समस्या झेल्नु परेको र घरै भित्र पनि अनेक बिभेद् सहनु परेको दुखेसो पोख्दै थिए ।
मावा खोला किनारमा गिट्टि, बालुवा चालेर जिवीका चलाउने फुलमाया जस्ता दर्जनौ महिलाहरुलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले कुनै महत्व राखेन । महिला दिवसको महत्व त के फुलमायालाई बिहीबार यो दिवस परेको नै थाहाँ भएन । ‘मावाको बगरमा के को दिवस नि ? भरे बेलुकाको छाक टार्न दिनभरी बगरमा नखटी हुँदैन’ माझीले भनिन् ।
फुलमाया माझी बालुवा छान्दै ।

अघिल्लो दिनदेखि नैं युवा–युवतीहरु रङ्गिएर हिडेको देखेपछि बिहीबार होली पर्व हो भन्ने चाँहि थाह भएको तर महिला दिवशबारे केहि नसुनेको उनले बताईन् । घरमा छोरा छोरीले होली खेल्ने भनेको बताउँदै उनले भनिन्– ‘खै घरमा आज होली हो त भन्दै थिए, अरु के दिवस त कसैले सुनाएनन् ।’
बिहीबार बिहान ११ बजे बगरमा श्रीमान लालबहादुरसँगै बालुवा चाल्न व्यस्त फुलमायाले दुईजनाको दिनभरको कमाई बढीमा ५ सय रुपैयाँ हुने सुनाइन् । त्यो पनि खोलाको बगर आफ्नो नम्बरी जग्गा परेको भन्दै दाबी गर्ने उनीहरुकै शब्दमा ‘मालिकलाई’ ५० देखि सय रुपैयाँ नबुझाई धरै पाइदैन । दुई छोरा, दुई छोरी र श्रीमान श्रीमती  ६ जनाको परिवार छ माझीको ।  बनिबुतो गर्नैले छोराछोरीलाई सोचे जति पढाउन नसकेको पनि गुनासो छ माझी परिवारको ।
फुलमाया जस्तै दमक–८ मदनटोलकी ४६ वर्षीया सरस्वती नेपालले आफूलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बारे थाह भए पनि मनाउन फुर्सद नभएको बताइन् ।  परिवारका ६ जनालाई श्रीमान–श्रीमतीले दिनभरी खोला किनारमा गिट्टी, वालुवा चालेरै छाक टार्नुपर्ने बाध्यताका कारण यस दिवसको अवसरमा आयोजित सभा, समारोहमा जाने फुर्सद नभएको उनको भनाई थियो । ‘नानीहरु पनि पढाउनै पर्यो, दुईछाक पनि खानै प¥यो’ सरस्वतीसँगै गिट्टी चाल्न बिहान सबेरैदेखि खटिएका श्रीमान बुद्धिप्रसाद नेपालले भने ।
एक सय ४ वर्ष अघि अमेरिकाको एक गार्मेण्ट उद्योगका श्रमिक महिलाहरुले समान कामको समान ज्याला पाउनुपर्ने माग सहित आन्दोलन गरेको दिनको सम्झनामा हरेक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवश मनाउने गरिएको छ । नेपालमा चाँहि यसलाई नारी दिवसको रुपमा मनाउने गरिन्छ  ।

0 प्रतिकृया:

Post a Comment