होलीमा विभिन्न कार्यक्रम

दमक, फागुन २६/फागु पूर्णिमाको अवसरमा बिहीबार विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ ।
होली मिलन कार्यक्रमको सन्दर्भमा दमक जेसीज र पत्रकार मञ्च दमकले संस्कृतिमूलक होलीलाई भाइचारा अभिबृद्धि गराउन सचेतनाका रुपमा सो पर्व मनाउनुपर्ने भन्दै शुभकामना आदानप्रदान गरेका थिए ।
जेसीजका अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका कोषाध्यक्ष सुवासचन्द्र भट्टराई, नेपाल रेडक्रस सोसाइटी दमकका पूर्व अध्यक्ष मानबहादुर बुढाथोकी, होटल व्यवसायी संघ झापाका अध्यक्ष शिव पोख्रेल, रोटरी क्लब दमकका अध्यक्ष जगदीश आचार्य, पत्रकार मञ्चका कार्यवाहक अध्यक्ष विष्णु पोख्रेल, पत्रकार विष्णु सुब्बा लगायतले बालेका थिए । सो अवसरमा कार्यक्रम सहभागी जेसीज, सामाजिक संघ संस्था र संचारकर्मीहरुबीच एक आपसमा अविर, रङ खेलेर शुभकामना साटासाट गरेका थिए ।
यस्तै होलीको अवसरमा पाथीभरा एफएम, हिमशिखर टेलिभिजन, दमक उद्योग वाणिज्य संघ, मैथील समाज सेवा समिति लगायतले छुट्टा छुट्टै कार्यक्रम गरी मनाएका छन् । पाथीभरा एफएमले एफएम परिसरमा प्रत्यक्ष प्रसारण कार्यक्रम गरेको थियो । कार्यक्रममा एफएमका कमल भण्डारी, इलाका ट्राफिक कार्यालयका प्रनानि होमप्रसाद अधिकारी, पत्रकार विष्णु पोख्रेल लगायतले बोलेका थिए । त्यस अवसरमा होलीमय गीत, नृत्य समेत प्रस्तुत गरिएको थियो । यसैगरी हिमशिखर टेलिभिजनले दमक चोकमा होली विशेष प्रत्यक्ष कार्यक्रम सञ्चालन गरेको टेलिभिजनका अध्यक्ष ध्रुव न्यौपानेले जानकारी दिए ।
यस्तै मैथिल समुदायहरुले दमक–१० मा होली पर्व सम्बन्धी कार्यक्रम गरेको थियो । दमक क्षेत्रमा रहेका मैथील समुदायहरुले सो पर्वमा सामूहिक भेला भई होली मनाइएको थियो । त्यस कार्यक्रममा मैथील समुदाय बाहेक स्थानीय क्षेत्रका संघ संस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मैथील समाज सेवा समिति दमकको आयोजनामा भएको तथा केही वर्षदेखि होलीमा वर्षेनी त्यस्ता कार्यक्रम गरिआएको अध्यक्ष नवीनकुमार झाले बताए । होली सम्बन्धी फोटो फिचरमाथिको स्लाईडमा हेर्नुहोस् ।

0 प्रतिकृया:

Post a Comment