परीक्षा केन्द्रमै तीन जना सुत्केरी

धनकुटा, चैत्र ९/धनकुटा, दोलखा र रुकुममा बुधबार सम्पन्न प्रवेशिका (एसएलसी) परीक्षामा तीनजना छात्राले बच्चा जन्माएका छन् ।
धनकुटाको ठाकुरदेवी उच्च मावि आँखिसल्ला केन्द्रमा एसएलसी परीक्षा दिइरहेको अवस्थामा १९ वर्षीया मीना राईले परीक्षा शुरु भएको एक घण्टापछि छोरालाई जन्म दिएकी हुन् । उनी पञ्चकृष्ण उमाविबाट एक्जाम्टेड परीक्षार्थीका रुपमा सामेल भएकी थिइन् । परीक्षा दिइरहेको अवस्थामा सुत्केरी व्यथा लागेपछि परीक्षा केन्द्रबाट करिब दुइ मिनेट नजिकको स्वास्थ्य चौकीमा उनलाई पु¥याइएको थियो ।
नवजात शिशुको नाम रिजल्ट राखिएको बताइएको छ ।
आमा र नवजात शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । यसैगरी चुङमाङबाट परीक्षा दिन आएकी कोपिला राईले नवजात शिशुसँगै परीक्षा दिएकी छिन् । यसैबीच दोलखा बैतेश्वर उमावि नाम्दू परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षा दिन जाँदै गर्दा छोरी जन्माएपछि स्थानीय स्वास्थ्य केन्द्रमै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
बुधबार बिहान छ बजे परीक्षा दिन आउँदै गरेकी मिरी जिरेल सुत्केरी भएपछि त्यस्तो सुविधा मिलाइएको केन्द्राध्यक्ष रविचन्द्र आचार्यले बताए । निलकण्ठेश्वर उमावि जुगुबाट परीक्षा दिन आएकी १९ बर्षीय उनले सुरक्षाकर्मीसहित नाम्दु उपस्थास्थ्य चौकीको शैय्याबाट परीक्षा दिएकी छिन् ।
यस्तै रुकुमकी सुष्मा कुँवरले परीक्षा केन्द्रमै छोरी जन्माएकी छिन् । सदरमुकाम खलंगास्थित वालकल्याण माध्यमिक विद्यालय सोलावांग केन्द्रबाट परीक्षामा सहभागी उनले परीक्षा दिएको १ घण्टामा छोरी जन्माएकी प्रहरीले जनाएको छ । यो सहित परीक्षा हलमा सुत्केरी हुने छात्रा ३ पुगेका छन् । मंगलबार पूर्वी रुकुमको तकसेरा परीक्षा केन्द्रमा सहभागी परीक्षार्थी रेखा घर्ती र प्वांगको नायगाड परीक्षा केन्द्रमा सहभागी कविता विक परीक्षा हलमै सुत्केरी भएका थिए ।


नक्कली परीक्षार्थी पक्राउ
त्यस्तै बुधबार नेपाली विषयको एसएलसी परीक्षा दिइरहेको अवस्थामा पाँचथरबाट एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सरस्वती उच्च माध्यमिक विद्यालय मेमेङ परीक्षा केन्द्रमा सिम्बोल नं. ००२०६२० ‘व’ भएका सञ्जुङ आङ्बोको नाममा परक्षिा दिइरहेका सुनौल आङ्बो पक्राउ परेका हुन् ।
नक्कली परीक्षार्थी आङ्बोलाई आवश्यक कारवाहीका लागि मेमेङ प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । त्यसैगरी केन्द्राध्यक्ष भीमराज आङ्बोका अनुसार नक्कली परीक्षार्थी राख्ने आङ्बोले कारवाही स्वरुप बाँकी परीक्षा दिन नपाउने भएका छन् । जिल्ला शिक्षा अधिकारी लोकबहादुर
लोप्चनले नक्कली परीक्षार्थीलाई नियमत कारवाही गरिने बताए । जिल्लाको अन्य परीक्षा केन्द्रमा मर्यादित ढंगले परीक्षा सञ्चालन भइरहेको जिशिअ लोप्चनले बताए ।

0 प्रतिकृया:

Post a Comment