काठ तस्करीमा बालबालिकाको दुरुपयोग

गोपाल झापाली
दमक÷ झापामा हुने अवैध काठ ओसार-पसारमा बालबालिकाको प्रयोग हुने गरेको पाइएको छ ।
दक्षिणी इलाम र पाँचथरका वन क्षेत्रबाट झापा तर्फ हुने काठ तस्करीमा बालबालिकाको प्रयोग हुने गरेको पाइएको हो । दमकको बेलडाँगीमा रहेको रेन्जरपोष्टले केही समय अघि अवैध काठ ओसार-पसारमा संलग्न भएको आरोपमा २ जना बालकलाई नियन्त्रणमा लिएको थियो । ती मध्ये एक जनालाई आवश्यक अनुसन्धान पछि रिहा गरिएको र अर्का एक धरौटीमा रिहा भएको रेन्जरपोष्टले जनाएको छ । पछिल्लो २ वर्षमा दक्षिणी इलाम र दमकको उत्तरी क्षेत्रका २० जना बालबालिका अवैध काठ ओसार-पसारको अभियोगमा पक्राउ परेको रेन्जरपोष्टका प्रमुख सहायक वन अधिकृत जीवन पाठकले जानकारी दिए । वन रक्षक भोजराज खतिवडाका अनुसार ती मध्ये इलामको चुलाचली क्षेत्रका बढी रहेका छन् । बालबालिकाको हकमा दण्ड र जरीवाना नलाग्ने तथा लागे पनि न्यून हुने भएकाले तस्करहरुले उनीहरुलाई प्रयोग गर्ने गरेको उनले बताए । अवैध काठ ओसार पसारमा १३ वर्ष उमेर सम्मका वालवालिकालाई कानुनी रुपमा दण्डित गर्न नमिल्ने र १३ देखि १५ वर्ष उमेरका वालवालिका हरुलाई आधा दण्ड-सजाय हुने कानुनी व्यवस्था रहेको प्रमुख पाठकले बताए । तस्करीमा वालवालिकाको संलग्नता रोक्न विद्यालयहरु सँग समेत समन्वयको खाँचो रहको वन कार्यालयले जनाएको छ । पक्राउ परेकाहरुलाई गाविसले प्रमाणित गरेको उमेरको आधारमा कानुनी प्रकृया अघि बढाईने गरेको छ ।
यसै बिच झापाको बेलडाँगी क्षेत्रबाट सशस्त्र प्रहरी ५ महिनाको अवधिमा १ सय ३४ किविक फिट अवैध काठ बरामद गरेको छ । बिभिन्न क्षेत्रमा गरिएको सर्चका क्रममा ति काठ बरामद गरिएको बेलडाँगी-१ स्थित सशस्त्रत्र प्रहरी वेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक रविन भुजेलले जानकारी दिए । शसष्त्रप्रहरीले बिहिबार बिहान समेत ६ किविक फिट अवैध काठ बरामद गरेको छ । वेवारिसे अवस्थामा फेला पारिएको सो काठ बेलडाँगी रेन्ज पोष्टमा बुझाईएको उनले बताए ।

0 प्रतिकृया:

Post a Comment