तटबन्धनमा जुटे स्थानीयवासी


केर्खा२६ मंशिर÷ झापा तोपगाछी-७ स्थित केर्खा बजार उत्तरको च्याङ्ग्री खोला नियन्त्रणका लागि स्थानीयले ३ लाख रुपैयाँ भन्दा बढीको लागतमा तटबन्धन थालेका छन् ।
वर्षेनी खोलाले दुःख दिन थालेपछि स्थानीय १०५ घरका बासिन्दाले मिलेर खोला नियन्त्रणका लागि पहल थालेका च्याङ्ग्री खोला नियन्त्रण समितिका सचिव दाताराम चापागाईंले जानकारी दिए । च्यङ्ग्री खोलाले वर्षायाममा तोपगाछी-७ को पूर्व-पश्चिम राजमार्ग छेऊका १०५ घरलाई प्रभावित पार्ने तथा २० घर उच्च जोखिममा पर्दै आएको चापागाईंको भनाईं छ ।
केर्खास्थित रतुवा-माई वुक्षारोपण आयोजना हाताको जङ्गलमा करिव ६ सय मिटर लामो कुलो खनी च्याङ्ग्री खोलाको पानीलाई बजार पूर्वको केर्खा खोलामा मिसाउन ३ लाख बढी खर्च भइसकेको छ । लगातार तीन दिन स्काभेटर प्रयोग गरेर पैनी खन्न मात्रै अढाई लाख रुपैयाँ खर्च भएको समितिका जीवन घिमिरेले बताए । । केर्खा बजार उत्तरबाट ४० फिटको मुख खोलेर केर्खा खोलामा २० फिट मुख रहेको पैनी तयार गरिएको छ । खोला नियन्त्रणका लागि हाल स्थानीयले नयाँ पैनीको किनारामा सनाई फूल रोप्ने काम गर्दै आएका छन् भने गत मंसिर १६ गतेदेखि शुरु गरिएको यस कार्यका लागि आर्थिक बाहेक एक लाख बढीको श्रमदान जुठाएको समितिको दावी छ ।
खोला नियन्त्रणका लागि १५ सदस्यीय समिति गठन गरिएको र आफूले १ लाख २० हजार रुपैयाँ सहयोग प्रदान गरेको समितिका अध्यक्ष देवराज थापाको भनाई छ । स्थानीयले आफ्नो गच्छे अनुसार २ हजार रुपैयाँ देखि माथि रकम सहयोग गरेका छन् । अनुमानित ७ लाखको लागतमा तार जाली बाँध्ने इलाम चुलाचुली जोड्ने वन क्षेत्रको बाटोमा कल्भर्ट निमार्ण गर्ने र पक्की तटबन्धन गर्ने योजना भए पनि रकम अभावका कारण योजना पूरा गर्न आर्थिक अभाव भएको समितिको भनाई छ ।
खोलाले हालसम्म २ ओटा विद्युत पोल लडाउनका साथै पूर्व-पश्चिम राजमार्गखण्डलाई समेत कटान गरेकाले ती निकायहरुमा समेत सहयोगका लागि गुहारेको उनीहरुको भनाई छ । खोला नियन्त्रणका लागि गाविसमा बजेट माग गरिएको सचिव चापागाईंले बताउनुभयो । तोपगाछी गाविसका सचिव वीरेन्द्र खड्काले समितिले थालेको खोला नियन्त्रण कार्यलाई गाविस संयन्त्रको बैठकबाट निर्णय गराई जिल्ला विकास समिति झापा समक्ष आवश्यक सहयोगका लागि सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment