सहिदका छोराछोरीलाई पढ्ने समस्या

पथरी । सुनसरीको इटहरीमा रहेको सहिद स्मृति आवासीय माविबाट एसएलसी उतीर्ण विद्यार्थीहरु अवको उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि चिन्तित बनेका छन् ।
सशस्त्र युद्धको बेलाका सहिद परिवार तथा द्वन्द्वपीडित अनाथहरुलाई एसएलसीसम्म अध्ययनका लागि खडा गरिएको विद्यालयले एसएलसीमा सतप्रतिशत नतिजा निकालेपनि विद्यार्थीको अवको भविष्य भनें अन्यौलमा परेको छ । ०६६ मा स्थापित तरहरास्थित सहिद स्मृति आवासीय विद्यालयबाट पहिलो पटक एसएलसी परीक्षामा सहभागी २० जनामध्ये ३ जनाले बिशिष्ट र १७ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । असल मान्छे बन्ने सपना साँचेर निक्कै मेहनत गरेर आफुहरुले एसएलसी उत्तीर्ण गरे पनि अब अगाडिको शिक्षा कसरी लिन भन्ने चिन्ताले सताएको त्यहाँबाचट एसएलसी उत्तीर्ण ईलाम दानाबारी–१  की हीमा बराईलीले दुखेसो पोखिन् ।
विद्यालयमा उच्च माध्यमिक कक्षा सञ्चालन नभएको र आफ्नो खर्चमा बाहिर पढ्ने क्षमता उनीहरुको नभएकोले विद्यार्थीहरु समस्यामा रहेको विद्यालयकी प्रधानाध्यापक रीता फुयाँलले बताइन् । विद्यालयमा उच्च माबि सञ्चालन गर्न प्रयत्न भइरहे पनि उच्च माध्यमिक शिक्षा परिषदले दरखास्त नै नमागेकोले यो वर्ष उच्च मावि सञ्चालन हुनसक्ने अवस्था छैन ।
मन्त्रीस्तरीय निर्णय गराएर  विद्यालयमा उच्च मावि सञ्चालन गर्ने पहल भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार डाँगीले बताए । उच्च मावि सञ्चालन नभए एसएलसी उत्तीर्ण द्वन्द्वपीडित बालबालिका समस्यामा पर्ने उनको भनाइ छ । जिरी, पोखरा, दाङ, डोटीमा समेत यस्ता स्कूल सञ्चालनमा छन् ।

0 प्रतिकृया:

Post a Comment