‘राष्ट्रिय सहमतिय सरकारको आवश्यकता’

बिर्तामोड । झापाका क्रियाशील राजनीतिक दलका नेताहरुले सहमतिय संविधान र मुलुकको विपद व्यवस्थापनका लागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औंल्याएका छन् । उनीहरुले संविधान सभाभित्र र बाहिरका समेत दलहरुको सहभागितामा राष्ट्रिय सरकार निर्माण गर्नुपर्नेमा जोड दिए ।
शनिवार संवाद समूहको सचिवालय बिर्तामोडमा भएको छलफलमा नेताहरुले त्यस्तो बताएका हुन् । छलफलमा सभासद तथा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रबिन कोइरालाले  सहमतिको संविधान निर्माण गरी यथाशिघ्र जारी गर्न संविधानसभाभित्र र बाहिरका दलको सहभागितामा राष्ट्रिय सरकार आवश्यक रहेको बताए । उनले राष्ट्रिय सहमतिको सरकार बनाएर सबैको स्वामित्वमा संविधान जारी गर्न सके भरपर्दो र दिगो हुने धारणा समेत राखे । सरकारको नेतृत्व जसले गरेपनि हुने बताउँदै उनले सबै दल यो बेला एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
नेपाली कांगे्रस झापाका उपसभापति देउमान थेवेले संविधान जारी गर्ने र सबैको सहमति हुने ग्यारेन्टी भए राष्ट्रिय सरकार गठन गर्नु ठीक हुने बताए । यतिबेला सरकारले सबैदलको सहयोग र समर्थन लिएर अघि बढ्नु पर्ने दायित्व रहेको बताउँदै उनले अहिलेकै सरकारको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनु पर्नेमा जोड दिए ।
 एकीकृत माओवादीका नेता ज्योतिसिंह दर्लामीले सहमतिमा संविधान बनाउनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउँदै त्यो सरकार सँग मुलुकमा परेको विपद व्यवस्थापन गर्ने गुरु योजना समेत हुनु पर्ने बताए । भूकम्पपछिको उद्धार र राहत संघीय राज्यको आवश्यकता र औचित्य अझ बढाएको बताउँदै उनले संघीयता सहितको संविधान निर्माणको लागि हरेक पार्टी पार्टीभन्दा माथि उठेर एकताबद्ध भई अघि बढ्नु पर्ने धारणा राखे । संवाद समूहको सचिवालयले ‘राष्ट्रिय सहमतिको सरकार, संविधान निर्माण र विपद व्यवस्थापनमा राजनीतिक दलहरुको धारणा’ विषयमा गरेको छलफलमा  अधिकांशले मूलुकको हितको लागि दिलीय स्वार्थ त्यागेर सहमतिको साथ अघि बढ्नुपर्नेमा  जोड दिएका थिए । नेकपा–माओवादी झापाका सेक्रेटरी रोशन कन्दङ्वाले अहिलेको बेला राष्ट्रिय
स्तरमा राजनीतिक समझदारी कायम गरी संयुक्त सरकार बनाउनुपर्नेमा जोड दिए । स्थानीय शान्ति समिति झापाका संयोजक एवम् सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेशले सहमतीय संविधान निर्माणका लागि राष्ट्रिय सरकार नै अहिलेको विकल्प रहेको बताए ।
नेकपा मालेका सचिव नवराज खरेलले भने ‘वर्तमान सरकारले नै पूर्व सहमति बमोजिम संविधान जारी गर्नुपर्ने अनि त्यसपछि मात्र राष्ट्रिय सरकार गठनको प्रक्रियामा जानु पर्ने धारणा राखे । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य त्रिनारायण राजवंशीले राष्ट्रिय सहमतिको सरकारको वहश संविधान नबनाउने खेल भएको बताए । फोरम लाकतान्त्रिकका अध्यक्ष भरत राजवंशीले यो बेला दलहरु मिलेर एकजुट भई अघि बढ्नु पर्नेमा जोड दिँदै मुलुकका वर्तमानका समस्या हल गर्न राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने बताए । संघीय समाजवादी झापाका इञ्चार्ज धनप्रसाद गुरुङले संविधान निर्माणका लागि पहिला राष्ट्रिय सहमति जुटाएर राष्ट्रिय सरकार निर्माणको चरणमा अघि बढ्नुपर्ने बताए । संघीय लिम्बुवान पार्टी नेपालका जिल्ला अध्यक्ष धनवहादुर पन्धाक सुब्बाले तत्काललाई मुलुकको विपद व्यवस्थापान गर्न सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताए । उनले संविधानसभा बाहिरका दलहरुलाई समेत उनीहरुको हैसियत अनुसार सहभागिता सुनिश्चित गरी राष्ट्रिय सहमतिको सरकार बनाएर सहमतीय संविधान निर्माणमा अग्रसर हुनु पर्ने धारणा समेत राखे । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ताद्धय दिपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment