पाँच महिनामा २ सय २० चेलीको उद्धार

विर्तामोड । पूर्वी झापालाई केन्द्र बनाएर पूर्वमा चेलीवेटी बेचविखन गर्ने गिरोह सक्रिय बनेको खुलासा भएको छ । पछिल्लो ५ महिनाको अवधिमा २ सय २० जनाको उद्धार भएको छ ।
जिल्लाको विर्तामोड, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानलाई केन्द्र बनाएर पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय रहेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जनाए । माइती नेपालको कार्यालय काँकडभिट्टाले गत जनवरीदेखि मईसम्मको ५ महिनाको समयावधिमा २ सय २० जना महिलाको उद्धार गरेको उनले बताए । खुला सिमानाका कारण पूर्वबाट महिलालाई भारतलगायत तेस्रो देश लान सहज हुँदा एजेन्टले यो बाटो प्रयोग गर्ने गरेको तथ्य फेला परेको उनले सुनाए । पश्चिम नेपालका युवतीलाई आर्थिक प्रलोभन देखाएर केही दिनसम्म झापामा राख्दै उनीहरुलाई भारतलगायत तेस्रो देश पु¥याउने गिरोहका व्यक्ति झापामा पक्राउ पर्न थालेसँगै यस्तो रहस्य सार्वजनिक भएको हो ।
भूकम्पबाट पीडित बनेका युवतीलाई विदेशमा राम्रो कमाई हुने आश्वासन देखाउँदै पूर्वी नाका काँकडभिट्टा, भद्रपुर, इलामको पशुपतिनगरलगायतका स्थानबाट भारतसहित तेस्रो देश पु¥याउने गिरोहका एक महिला र एक पुरुषलाई विहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेसँगै यस्तो रहस्य खुलेको हो । केही दिनअघि मात्र दुई जना दलाललाई काँकडभिट्टा नाकाबाट पक्राउ गरी मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।
बर्दिया सानो श्रीगाविस–९ की १८ वर्षीया प्रमिला केसीलाई उनीहरुले भारत लैजान लाग्दा प्रहरीले बिर्तामोडबाट उनको उद्धार गरेको छ । एक साताअघि शनिअर्जुन नगरपालिका–६ का मीना घतानी राजवंशीको घरमा ल्याइएकी उनलाई एक सातासम्म झापामा राखेर भारत लान लागेको गोप्य सूचनाका आधारमा केसीको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घरधनी राजवंशी तथा मोरङ उर्लावारी–६ का सन्दीप बुढाथोकीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
उनीहरुलाई चेलीबेटी बेचबिखनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उता, रामेछाप स्नालु–७ घर भएका हर्क तामाङलाई प्रहरीले झापाको धुलाबारीबाट बुधबार पक्राउ गरेको थियो ।  पक्राउ परेका तामाङ चेलीबेटी बेचबिखनमा संलग्न भएको जनाउँदै धुलावारीमा सञ्चालित रञ्जित होटलबाट प्रहरीले पक्राउ गरेको थियो । लामो समयदेखि पाँचजना युवतीलाई होटलमा राखेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रामेछाप, सिन्धुपाल्चोक, नवलपरासी, र सुनसरी घर भएका युवतीलाई किर्गिजस्तान लैजान भन्दै उनले उक्त होटलमा राखेको बताइएको छ । राहदानीलगायत अन्य कागजातसमेत उनीहरु आपैंmले बनाइदिएर ती युवतीलाई भारत हुँदै किर्गिजस्तान लैजान लाग्दा प्रहरीले उद्धार गरेका ती युवतीलाई काँकडभिट्टास्थित माइती नेपालको कार्यालयमा राखिएको र अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ ।
काठमाडौं निवासी श्याम श्रेष्ठले युवतीलाई झापासम्म ल्याएर राखिदिएवापत तामाङलाई प्रतिव्यक्ति भारतीय रुपैयाँ १५ हजार दिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
एकसाताअघि झापाको भद्रपुर हुँदै चारजना युवतीलाई भारत लैजाँदै गर्दा प्रहरीले सोही गिरोहका दुईजना महिलालाई  जलथलबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जलथल–७ की हिमा श्रेष्ठ र सोही ठाउँकी २८ वर्षीया सरिता लिम्बु रहेका छन् । उनीहरुले भद्रपुरमा महिलालाई राखेर भारतलगायत तेस्रो देश पु¥याउने गरेको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment