अतिरञ्जना भित्रका स्वार्थहरु

नरपति पाण्डे
देश र जनताको हितको नाममा खुलेका राजनीतिक दलहरुको चरित्र तामसी भयो भने के होला ? सजिलै उत्तर आउँछ –उद्दण्ड, अराजक, अशान्ति र भद्रगोल । नेता र कार्यकर्ताको महत्वाकांक्षा देश र जनताको भावना सापेक्ष भएन भने आम नागरिकहरुले भोग्नु पर्ने दुर्दशा अहिले जारी छ । राजनीतिक दल ‘सचेत, योग्य, दृढ र श्रेष्ठ नेताहरको संगठन’ हुनुपर्नेमा ‘महत्वाकांक्षी, स्वार्थी, अवसरवादी र हिंसावादी’ भयो भने मुलुकले दुर्घटना मात्र भोग्दछ । दलिय नेता र कार्यकर्ताहरु संयम, कृतज्ञ, विचारशील, परिश्रमी, भविष्यद्रष्टा र विवेकी भएनन् भने त्यो दल ‘कमाउ र खाउ’ भन्ने भीडको समूह मात्र हुन्छ ।
राजनीतिक दलहरु आवधिक रुपमा चुस्त र दुरुस्त भैरहनु पर्दछ । चुस्त र दुरुस्त नरहने राजनीतिक दलको भित्रि आशय दूराशययुक्त हुन्छ । दलहरुले आवधिक रुपमा चुस्त र दुरुस्त रहन सम्मेलन, महाधिवेशन, सेमिनार, प्रशिक्षण, तथा भेलाहरु समय समयमा गरिहनु पर्दछ । दलको आर्थिक आयव्यय पारदर्शी र जनताको स्तर अनुसारको हुनुपर्दछ । तर मुलुकमा जनताले चुनेको राजनीतिक दल एकीकृत माओवादीको स्थापनाको बीसौं वर्ष भैसक्दा पनि एकपटक महाधिवेशन भएको छैन । आर्थिक रुपमा नेपालको सबभन्दा धनी पार्टीको वार्षिक आयव्यय एकपटक पनि सार्वजनिक नहुनु रहस्यजनक छ । महाधिवेशन दलहरुको जीवन प्राप्त गर्ने अवसर हो । राजनीतिक, आर्थिक र साँस्कृतिक गतिविधिहरुलाई आम जनताबाट वैधानिक बनाइ गति प्रदान गर्न राजनीतिक महाधिवेशन एकमात्र अवसर हो ।
अतिरञ्जनाहरुबाट उदाएको राजनीतिको भविष्य पनि अतिरञ्जना मै ओरालोमा लाग्दै जान्छ । समाजमा आतसलाई राजनीतिक रक्षा दिने परम्पराको थालनी भयो । वैचारिक संकीर्णलाई ‘वर्ग संघर्ष’ को नाम दिएर सम्पूर्ण सामाजिक जीवन ध्वस्त बनाइयो । ‘खराब कामको आलोचना र असल कामको समर्थन गर्ने’ हरुलाई पनि हत्या गरियो । युग विरोधी वैचारिक हतियारले सिर्जनशील नयाँ पिँडीहरु संक्रमित गरायो । प्रतिशोधी सञ्जालहरुको निर्माण गर्दै राजनीति सहिष्णुताको विनिर्माण गरियो । परिवेश र परिस्थितिलाई दानवीय बनाउँदै मानवीय उत्पीडनको अन्तहीन संक्रमण संस्थागत गरियो । र अरुलाई दोषादोष गरेर आफ्नो साजिस पूरा गर्दै लगियो ।
उदयमान युवा शक्तिहरुको जोश जाँगर, विवेक र जीवनको उर्वर रगतलाई मनोगत क्रान्तिको स्वार्थी भूमि निर्माण गर्न जबरजस्त गरियो । मार्गदर्शक, प्रचारक, संगठक, उत्प्रेरक र प्रोत्साहन दाताहरु वैचारिक रुपमा सुसंगठित, सु–संस्कृत र आत्मअनुशासित नभए कै कारण उनीहरुको दलभित्र अराजक गुट–उपगुट, दल–उपदलहरु सक्रिय छन् । यस्ता दल तथा उपदलहरु नै सम्पूर्ण कारणहरुको बाधक बनिरहेका छन् । आफू निर्मित घात नै आजको दल भित्रको अराजकता हो ।अर्कालाई ध्वस्त पार्न हत्या, आक्रमण, लुटपाट, कुटाकुट, कब्जा, अपहरण, बहिष्कार आदि गैरराजनीतिक हतियारहरुको प्रयोग गर्न प्रोत्साहित गर्दा प्रशिक्षिहरु आफ्नै लागि पनि प्रत्युपादक बनेको सत्य अहिले दलहरुले भोग्दैछन् । यो एकीकृत माओवादीले माकुराको जीवन चक्र झै भोग्दै छ । यो घटना मुलुक र नागरिकहरुका लागि दुःखदायी छ ।
मुलुकको भू–राजनीतिक स्थिति र जनताको अवस्था नबुझी नाराहरु सिर्जना गरेर राजनीति गर्नेहरुले आफूलाई बुझ्ने, अवलोकन गर्ने, सुधार गर्ने, अरुको कुरा सुन्ने आफूलाई रुपान्तर गर्ने आदि गर्दैनन् । आफू र आफ्नो दलको आर्थिक तथा साँस्कृति पक्षहरुमा ध्यान दिदैनन् । आन्तरिक सु–संगठन गर्न पनि चाहँदैनन् । आन्तरिक सु–संगठन गर्न पनि चाहँदैनन् र सक्दैनन पनि । त्यहाँ एकले अर्कोको स्वार्थ, मौका र षड्यन्त्रको कसरत बुझेको हुन्छ । यहि वास्तविकता सबभन्दा बढी एमाओवादी भित्र विकसित भएको छ । र सतहमा छताछुल्ल हुँदैछ । जो आज दुःखद परिणाम भएर सतहमा देखिदैछ ।
विध्वंसात्मक विद्रोह थाल्नु अघि राज्य समक्ष राखेका ४० ओटा मागहरुलाई आज आफैंले पूरा गर्न सकेन । दूराशयको राजनीतिक प्रतिशोधले अरुलाई होइन आफ्नै खती पु¥याउँछ । परिस्थितिको यथार्थतालाई बल मिच्याइ गर्दा राष्ट्रियको जग नै नै धरासायी हुन पुग्दछ । विदेशी भूमि प्रयोग गरी देशभित्र गरिएको अतिरञ्जनापूर्ण गैर राजनीतिक क्रियाकलापले सल्ट्याउनै नसक्ने समस्याहरु संस्थागत भएका छन् । अरुलाई दोषेर उम्कने कुनै गौडो नै छैन ।
राष्ट्रप्रति आफ्नो मत जाहेर गरेर आम नागरिकहरुले कर्तव्य पूरा गरे । तर ‘आफ्नो मत राष्ट्रिय हितमा प्रयोग गर्नेछन्’ भन्ने पवित्र मत भावनाको पूर्ण दुरुपयोग भयो । जातीय, दलिय र साम्प्रदायिकताको हितमा जनमत प्रयोग हुनु जनमतको पवित्रता समाप्त हुनु हो । दुर्लभ संविधासभाले अन्तिम काम गर्दै गरेको समयमा अचानक संविधानसभा विघटन गर्नु अतिरञ्जना भित्रको दुराशययुक्त मनोविज्ञान प्रकट हुनु हो । तामसी राजनीतिक इच्छाको अभिष्ट पबिन देखिनु हो । ‘संविधानसभा नै सबै कुराहरुको समाधानकर्ता हों भन्ने रुझानको अतिरञ्जनालाई यो विघटनले भण्डाफोर गरिदिएको छ ।
सर्वहाराको दल र नेता भन्नेहरुको गुप्ती खेलको पटाक्षेप हुँदैछ । एकाद वर्ष मै धनदौलतले राजसी बन्न पुगेकाहरुको पोल खुल्ने चरण प्रवेश गरेको छ । आफैले प्रशिक्षित गरेका कार्यकर्ताहरुले भनसुनबाट नभएर विद्रोहपूर्ण रुपमा हिसाबकिताब माग्नु पर्ने कारणहरु भित्र ‘अरबौं धनसम्पति निश्चित पहुँचवाला र दम्भी व्यक्तिहरुको गुपचुपमा’ छिपेको हुनसक्तछ । राजनीतिक परिवेशलाई स्वार्थमा भूजाउन सिपालु वाचालहरुको तामसी जीवनशैली कसरी निर्माण भयो होला त ? दलको जीवनलाई दुरुस्त बनाउन हिसाबकिताब किन सार्वजनिक गरिएन त ? किर्ते लडाकुहरु किन देखाइयो ? वीरतापूर्वक लड्दा पाएको सुविधाको चेकहरु खोसाखोस किन गरियो ? मुलुकभरी जथाभावी उठाइएको चन्दाको हिसाब जनतालाई देखाउनु पर्दछ कि पर्दैन ? अरुहरुको खाजी खोजी आलोचना गर्दै शक्ति निर्माण गर्नेले आफ्नो पारदर्शीता जनता सामु सार्वजनिक गर्नु पर्छ कि पर्दैन ? दल सबैको सरोकारको विषय हो । अहिले चलनचल्तीमा भएका सबै राजनैतिक दलहरुको आन्तरिक जीवन जान्ने अधिकार सबै नेपालीको छ ।
कुनै पनि राजनीतिक दलको आर्थिक र साँस्कृति पक्षले मुलुकलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । दलका नेता तथा कार्यकर्ताहरुको सामाजिक जीवनशैली र पद्धतिले तिनीहरुले लिएको वैचारिक पक्षको मूल्याङ्कन गरेको हुन्छ । भन्नलाई ‘सादा जीवन, सर्वहारा शैली, लोकतान्त्रि विधि’ भन्लान् । तर व्यवहारमा देखिएका गतिविधिले भनाइ र गराइको पुष्टि गर्दछ । राजनीति सेवामुलक जीवन दर्शन हो । तर आज अतिरञ्जनाको राजनीति गर्ने कम्युनिष्ट तथा अन्य केहीले राजनीतिलाई शक्ति र आर्थिक सामथ्र्यको राम्रो व्यापार बनाएका छन् । आफ्नो निजी व्यवसाय केही नहुँने पहुँचवाला नेता कार्यकर्ताहरुले करोडौं सम्पत्ति के बाट आर्जन गरेका छन् । आफू मार्गदर्शक भएको स्वाङ्मा सोझा र इमान्दार युवाहरलाई जडतामा फँसाएर आफू रकम कमाउने धन्दामा लाग्नेहरुले निर्माण गरेका अतिरञ्जनाका घैंटाहरु फुट्ने क्रम बढ्दैछ ।
‘जन आवश्यकताको बहना सत्ता एक मात्र चाहना’ कथित दर्शनजीवीहरुको राजनीतिक स्वार्थ भयो । विगतको हेक्का नराख्ने प्रगतिशील हुँदैन । सनक देखाउने लोकतन्त्रवादी हुँदैन । जनता र देशलाई जहिले पनि दुःख दिइरहने पिराहा क्रान्तिकारी मार्गदर्शक हुँदैनन् । स्वार्थको भीड प्रगति र उन्नतिको प्रेरक शक्ति बन्न सक्दैन । सबै बिचारहरुमा मत जाहेर गर्ने जनताहरु राजनीतिक लुटाहाबाट ठगिनबाट सावधान बनौं । विचार पु¥याऊ । अतिरञ्जनाहरुको सप्निल जालमा पर्नबाट बच्दै परिवर्तनलाई आफ्नो हितमा प्रयोग गरौं । navinnp35@gmail.com

0 प्रतिकृया:

Post a Comment