धिमाल लोक नाचका केही विशेषताहरु

धिमाल लोकनाचका प्रकार, उत्पत्ति, चिनारी र लोकसंस्कृति र धर्मसंस्कृतिको सम्बन्धीको संक्षिप्त सिंहावलोकनको आधारमा केही विशेषताहरु औँल्याउन सकिन्छ ।
क) सामाजिकता तथा सामूहिकताको स्पष्ट विद्यमानताले धिमाल लोकनाचका जटिल र विकट नभएर अत्यन्त सरल र सहज छन् । तिनलाई सिक्न र बुझ्न कुनै विशेष प्रशिक्षणको आवश्यकता हुँदैन । अतः ती खास रुपले सिकाइँदैनन् या सिकिँदैनन् । स्वतः समाजको सदस्यको नाताले जन्जात परम्परागत कलाहरुको उत्तराधिकारी भएर व्यक्तिले विभिन्न संस्कारहरु पचाउँदै र पार गर्दै सहजरुपमा बालककालदेखि नै परिचित हुन्छन् ।

ख) धिमाल लोकनाचहरु वैयक्तित रचना नभएर सामाजिक सृजनाको रुपमा बढी स्वीकृत छन् । एदतर्थ व्यक्तिविशेषको व्यक्तित्वको प्रछापको सर्वथा अभाव नभए पनि सामाजिकताको प्रछाप प्रखर हुने हुन्छ । यसैले पनि ती लोकनाचका समान विशेषताहरु सर्वगम्यता, सर्वसुलभता र सर्वग्राह्यताले परिपूर्ण छन् । तिनमा नाच प्रस्तुतिकरणको क्रमिक सिलसिला प्राप्त भए पनि कथात्मताको भने नितान्त अभाव देखिन्छ ।
ग) धिमाल लोकनाचहहरु अत्यन्त सहज र स्वभाविक लाग्छन् । लोकनाचका अनिवार्य अङ्गहरु ताल, लय र अङ्गभंगिमाको दृष्टिकोणले ती एकरुप छन् । तिनमा आवश्यक एकरुपताको लागि नर्तकहरुले एक अर्काको हस्त, ग्रीवा, पाउ, कटी आदिको सञ्चालनको निमित्त सह–नर्तकहरुलाई पटक–पटक दृष्टि परीक्षणले र गायक तथा वादकहरुले एकै लयबद्धता र समान तालबद्धताको निर्वाहको निमित्त आफ्ना सह–कर्मीहरुलाई चनाखो श्रवण परीक्षणको पूर्णत अभावमा पनि धिमाल–लोकनाचमा नृत्यका सबै अंगहरु स्वभाविक रुपमा संपृत्त भेटिन्छन् ।
घ) धिमाल–लोकनाचमा धिमाल–लोक–जीवनमा प्रचलित परम्परा, रीतिरिवाज, लोक–धर्म विश्वास जातीय विचारधारा एवम् संस्कारहरु सम्मिलित र प्रतिबिम्बित छन् । ती अनुष्ठानिक र मनोरञ्जनात्मक दुवै छन् । त्यसैले ती कालस्थान र परिस्थितिबाट केही प्रभावित भए पनि परम्पराकै रुपमा बढी प्रतिष्ठित र मर्यादित छन् । तिनको प्रदर्शनमा हीनताबोधभन्दा बढी जातीय गौरब बोध र लक्षित उद्देशय प्राप्तिको आतुरता देखिन्छ ।
ङ) धिमाल–लोकनाचहरु सबैजसो धार्मिक एवम् सामाजिक उत्सव चाड तथा पर्वहरुसँग सम्बन्धित भए पनि तिनमा विशेष परिधान र विशेष अलंकरणको प्रयोग पाइँदैन । यसो हुनाको कारण धिमालहरु मनोरञ्जन र आडम्बर र देखावटी पनलाईभन्दा नाचको अनुष्ठानिक एवम् आदूई पक्षलाई विशेष महत्व प्रदान गर्ने गरेको पनि हुन सक्दछ धिमालहरु नाचमा पनि सामान्य श्रृङ्गार र दैनन्दिन पोशाककै प्रयोग गर्दछन् र बहुधा ‘आल्गी’ (सेतो बर्को) ले मुख छोप्ने गर्दछन् ।
च) धिमाल–लोकनाचमा कण्ठसंगीत र बाद्यसंगीत दुवैको समान प्रयोग र समान महत्व देखिन्छ । धिमा, नृत्यगीत ताल र लयको दृष्टिकोणले सरल, सहज र आकर्षक छन् । तर तिनमा एकरसता र एकरुपताको बढी प्रधानता देखिन्छ ।
छ) धिमाल–लोकनाचमा बढी प्रयोग हुने लोकबाजाहरु हुन्– ढोलक, उर्नी र गोमना । यी बाजाहरुमा बज्ने ‘पोदो’ कै आधारमा धिमाल–लोकनाचहरु नाचिन्छन् । धिमालहरु धिमाल–लोकनृत्यमा प्रयुक्त कुनै पनि वाद्यको जोडी मिलाउन आवश्यक मान्दछन् । विशेषतः एक जोडी ढोल, एक जोडी उर्नी र एक जोडी मुर्चुङ्गा बजाउँदछन् । यी बाजाहरुको जोडी मिलाउँदा पनि उनीहरुको डाँका (भाले) तथा माइनी (पोथी) स्वरको सन्तुलन तथा समन्वय कायम गर्ने गर्दछन् ।
ज) धिमाल लोकनाचहरुमा नृत्यको विविध मुद्रा केही भए पनि निश्चित नाचमा निश्चित मुद्राको प्रधानता र प्रमुखता पाइन्छ । एक प्रकारले प्रधान अङ्गभंगिमा तथा मुद्राकै आधारमा धिमाल लोकनाचहरुको नामकरण भएको पाइन्छ । धिमाल नाचमा नाचका सञ्चालित अङ्गभंङ्गिमाहरुमा चपलताभन्दा मन्दता भए पनि लयबद्धताले गर्दा आकर्षक छन् । धानमा बहुत केराको पात चलेको नक्कल गर्ने प्रवृत्तिको प्रदर्शन हुने गर्छ । नृत्य गठन विधिको सम्बन्धमा धिमाल लोक नाचमा गोलाकार र अर्ध गोलाकार रुपको गठन अधिक मात्रामा पाइन्छ । साभार ः धिमाल लोक धर्म र संस्कृति

0 प्रतिकृया:

Post a Comment