भूकम्पको पीडा सृजनाले भुलाऔं

भूकम्पको त्रास अझै सेलाएको छैन । भूकम्पका पराकम्पनहरु आइरहने क्रमले मानसिक रुपमा असर पारिरहेको छ । बालबालिकाहरु त झन विद्यालय जान डराइरहेका छन् । यस्तो अवस्थामा भूकम्पको त्रास भूलाएर मानिसहरुलाई सहज जीवनतर्फ फर्काउन नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले सृजनात्मक अभियान अगाडि बढाएको छ । प्रतिष्ठानले यसरी जनस्तरमा गाउँ गाउँमा आएर यसखाले कार्यक्रम गर्नु आजसम्मकै पहिलो काम सरह बन्ने भएको छ ।
देशभरी सञ्चालित अभियान अन्तर्गत पूर्वमा जेठ १५ देखि शुरु हुने छ । प्रतिष्ठानले झापाको दमकमा सर्जकहरुसँग अन्तरक्रिया गरी अभियानको स्थान, मिति र स्थानीय समन्वय सम्बन्धि योजना तय गरेको छ । प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले पूर्वी क्षेत्रको अगुवाई गर्नुभएको छ । आखिर जीवनको मोह नै सवैभन्दा महत्वपूर्ण ठानेर प्रतिष्ठानको नियमित कार्यक्रमलाई सन्देशमुलक कार्यक्रममा रुपान्तरण गरेको कुरा सदस्य सचिव रसिकले सुनाउनु भयो ।
भूकम्पबाट बढेको मनको त्रासका लागि मनोसामाजिक परामर्शको आवस्यकता पर्छ । जसका लागि गीत संगीत, साहित्य, नाटक परामर्शका प्रभावकारी माध्यम बन्छन् । भूकम्पबाट नेपाल जोखिमपूर्ण ठाउँमै पर्ने भएकाले यसबाट सधैं त्रसित नभई भूकम्पलाई सामान्य मान्दै यसबाट बच्न सजक हुनु आजको आवश्यकता रहेको छ । विद्यालयका बालबालिकालाई बढी मात्रामा सहभागि गराउँदा त्यसखाले कार्यक्रम सान्दर्भिक रहने योजना बनाइएको छ । विदेशमा भूकम्प प्रतिरोधि घर निर्माण हुने भएकाले भूकम्प आएको अवस्थामा घरभित्र भए टेबुल, बेञ्चमुनी लुक्नु भनिएको भएपनि नेपालका सन्दर्भमा सो कुरा लागू नहुने सन्देश दिन पनि गाउँघरमा यसखाले सचेतनाको आवश्यकता खड्किएको छ । त्यही कुरा सिकाउने र पढाउने गर्नाले बाहिर चौरमा रहेका बालबालिका भूकम्प आएपछि भाग्दै कक्षाकोठाभित्रको डेक्समुनी पस्दा तलाले किचिएका उदाहरण पनि छन् ।
जेठ १५ देखि २४ गतेसम्म गीत, साहित्य र नाटक प्रस्तुतिको कार्यक्रम अगाडि बढ्ने छ । जेठ १५ मा इलामको चुलाचुली, १६ मा मोरङको पथरी, १७ मा झापाको दमक सहित झापा, मोरङ र इलामका विभिन्न स्थानमा कार्यक्रम गरिने छ । सो अवसरमा चुलाचुली थिएटर र मोरङको कंचनजंघा नाट्य समूहको नाटक प्रस्तुति रहने छ ।
अभियानमा ८० वर्षीय विशिष्ट लोकगायक एलपी जोशीको अगुवाई हुने छ ।  साथमा गायक गणेश रसिक सहितको उत्साहमा भूकम्पको त्रासलाई कम गरेर सामान्य जीवनमा फर्किन सृजनात्मक सन्देश छर्ने कार्यक्रम अघि बढ्ने छ । पूर्व त्यति धेरै पीडित नभएपनि भूकम्पका त्रासदीपूर्ण खबरहरु सुन्दा सुन्दा त्रासकै मनस्थिती बनेको छ । पूर्वेलीहरुका लागि समेत यसखाले अभियान मनोसामाजिक विमर्शको प्रभावकारी थेरापी हुन सक्ने देखिन्छ । अझ पीडामा प्रत्यक्ष रुमलिएकाहरुलाई यो खाले कार्यक्रम निरन्तर अगाडि बढाउनु आवश्यक छ ।

0 प्रतिकृया:

Post a Comment