दकम–चिसोपानी–रवि रडक निर्माणका एजेण्डा केके छन् ?

जेठ १५ र १६ मा दमक– चिसोपानी–रवि सडक निर्माण उपभोक्ता समितिको निर्वाचन हुँदैछ । यसका लागि २ वटा गठबन्धन प्रतिष्पर्धामा उत्रिएको छ । कांग्रेस, एमाले, राष्ट्रिय जनमुक्ति र राप्रपा नेपाल सहितको गठबन्धनले प्रकाश बुढाथोकीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । एमाओवादी, संघीय लिम्बूवान पार्टी, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी र नेपाल कम्यूनिष्ट पार्टी एकीकृतको अर्काे गठबन्धनबाट रेवतराज पुरी (गगन) अध्यक्षका उम्मेदवार रहेका छन् । बुढाथोकी कांग्रेसका महासमिति सदस्य हुन् । उनी निवर्तमान समितिका सचिव तथा वाटो निर्माणको प्रारम्भदेखि नै सदस्य थिए । पुरी एमाओवादीका सक्रिय राजनीति गर्ने कोचिला राज्यसमिती सदस्य हुन् । दमक निवासी बुढाथोकी र पुरीसँग सडक र चुनावी सन्दर्भमा गरिएको कुराकानी : —

------------------------------------------------------------------------------------------------------------------------‍
प्रकाश बुढाथोकी
- तपाईको अध्यक्षको उम्मेदवारी किन ?
►यो सडकमा शुरुवातबाटै क्रियाशिल भएको हुँ । सडक निर्माण पुरा गर्न र  सडकले भेट्ने क्षेत्रमा स्पष्टरुपमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, अग्र्यानिक खेतीको अवधारणा पुरा गर्ने मनसायले म उम्मेदवार बनेको हुँ । सडक बन्ने कुरामा दुईमत छैन । सडक निर्माणका लागि कांग्रेस र एमालेको संयुक्त सरकारले पनि सहज बनाउँछ । यस क्षेत्रका सभासदहरुको पनि सरकारमा पहुँच रहेको अवस्थाले कांग्रेस र एमालेको अगुवाईको समिति बन्नु पर्छ भन्ने मेरो मान्यता हो ।

- तपाई नै उययुक्त भन्ने आधार के के छन् नि ?
► यो सडकका लागि साह्रै धेरै समय खर्चिएको छु । जसका कारण तराईदेखि पहाडसम्मकाले चिनेका छन् । भावनात्मक रुपले यसमा म लागेको हो भन्ने सवैले बुझेका छन् । अनि यो सडकको भूगोल र यसका समस्या अनि समाधानका कुरा पनि मलाई थाहा छ । यो भूगोल नै नबुझेका साथीहरुले अगुवाई गर्न हत्ते गर्नु सान्दर्भिक छैन भन्ने लाग्छ ।

- तत्कालिन योजना के छ ?
► यो सडक राष्ट्रिय योजना आयोगको बहुबर्षीय योजना अन्तर्गतको प्राथमिकता नम्बर १ मा परिसक्यो । जस अनुरुप सडक विभागले माङ्मालुङ सहितका क्षेत्रमा निरीक्षण गरिसकेको छ । आगामी वर्षबाट सवै महिना गाडी गुड्न सक्ने बाटो बनाइसक्छौं । आगामि आर्थिक वर्षका लागि १० करोड र अर्काे वर्षका लागि १२ करोड गरी चालु वर्षसमेतको ८ करोड गरी ३० करोडमा सडकको काम सक्ने योजना सरकारले बनाइसक्यो । तत्काल त्यही योजनालाई सहयोग गरी पर्यटन क्षेत्रको विकासका लागि माङमालुङमा रक गार्डेन र पहाडका ४ वटा गाविसलाई अर्गानिक भिलेजका योजनाहरुमा छलफल गरिने छ ।

- राजनीति क्षेत्रमा पनि चिनिएको मान्छे सडक समितिमा बस्ने योजना किन नि ?
► म कुनै पार्टीको राजनीतिक कार्यकर्ता भएपनि मैले कार्यकारी तहमा बसेर यसबेला राजनीति गरेको छैन । अनि समाजसेवाका काममा संलग्न रहेको अवस्था र यो बाटोको सपना बुन्नु मध्येको एउटा मान्छे म पनि भएकाले सवैको समन्वय पाउने भएपछि विशुद्ध सडक निर्माणको काम गर्न म आएको हुँ ।

- अनि सहमतिको पहल चाँही कत्तिको गर्नु भो नि ?
► साँच्चै भन्नुपर्दा म राजनीतिक तिकडमबाजी गर्ने मान्छे होइन । मैले त सहमतिमा समिति बनाउने पहलमै आफुलाई केन्द्रीत बनाएको हो । लोकबहादुर धिमाल, केहेरसिंह योङ्याको नाम मैले नै अध्यक्षका लागि सहमतिमा लान प्रश्ताव गरेको हो । अर्काे मोर्चाका साथीले पनि पहिले त हुन्छ भनेका हुन् तर पछि उनीहरुले हामीभित्र खेल्न खोजेर सहमति भाँडेका हुन् । त्यसो भएपछि म बाध्य भएर अध्यक्षका लागि आउनु परेको हो ।

- सामाजिक संस्थामा पार्टीहरु नै लागेर यस्तो राजनीति गर्नु ठिक हो ?
► यसमा पार्टीकै राजनीति गर्नु त ठिक होइन । यसलाई सामाजिक संस्थामा सक्षम मान्छे पठाउने र त्यहाँ समितिको विधि विधान अनुसार काम गर्ने हो । बहुदलीय मुलुकमा दलमा समावेश भएका मान्छे देखिनु अस्वाभाविक मान्नु हुँदैन । तर त्यहाँभित्र आ आफ्नो पार्टीको राजनीति गर्ने थलो बनाउनु हुँदैन भन्ने मान्यतामा म अडिग छु ।

- चुनाव जितिन्छ त ?
►  ठूला पार्टीसहितको मोर्चाबन्दी हामीसँगै छ । निरन्तर सडककै लागि पसिना बगाउनेहरुको ठूलो संख्या हामीसँगै छ । ४ जना उम्मेदवार त पूर्व गाविस अध्यक्ष नै छन् । द्धन्दको बेला काम गर्न सक्ने स्थिती नहुँदा केही बजेट फ्रिज भएको कुरालाई अरु साथीले निहुँ बनाउनुको कुनै तुक छैन । पहाडी क्षेत्रको समेत उम्मेदवार मिलाएर राखिएको छ । हामीले सडकलाई यत्तिको बनाएर राम्रै बजेट आउन थालेपछि सवैको आँखा परेर अहिले निकै मजाले चुुनाव लागेको हो । यो सवै मेहनत गर्नेहरुको टिम हामीसँग भएकाले अंकगणितीय हिसावले पनि हामी जित्छौं ।

------------------------------------------------------------------------------------------------------------------------‍
रेवतराज पुरी (गगन)
तपाईको अध्यक्षको उम्मेदवारी किन ?
► दमक रवि बाटोमा २२-२३ वर्षदेखि निर्माण कार्यमा लागेपनि उपलब्धि नभएको अवस्था हो । उपलब्धि हाँसिल गर्न कुशल नेतृत्वको खाँचो छ । जुन नेतृत्वले एकैसाथ करोडौं बजेट ल्याउन सकोस् र आएको बजेट फ्रिज हुन पनि नदियोस् । अनि सडक विभाग, निर्माण व्यवसायी र स्थायी उपभोक्ताबीच कुशल, समन्वयकारी, नेतृत्वदायी भूमिका खेल्न सक्ने व्यक्तिको खाँचो छ । त्यसका लागि म नै उपयुक्त छु भन्ने लाग्छ ।

- तपाई नै उययुक्त भन्ने आधार के के छन् नि ?
►म सँग राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक योजना मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, मुख्य सचिवको कार्यालय, विदेशी नियोक र दातृ निकायका आधिकारिक व्यक्तिहरुसँग सिधा र सरल सम्पर्क छ । जुनसुकै पार्टीको सरकार आउने÷जाने कुराले फरक पर्दैन । व्यूरोक्रेसीका उपल्लो निकायसँग हटलाइन कन्ट्रयाक छ । मेरो यो पहुँच र सामथ्र्यलाई बाटो निर्माणमा खर्चिने छु । म युवा हुँ, प्रक्रियाका बारेमा मलाई राम्ररी जानकारी छ । ४ वर्षभित्र दमकदेखि रविसम्मको सडकको चौडाई बढाएर ग्राभेल र पक्की ढल निर्माण गर्दै ७ वर्षभित्र कालोपत्रे गर्ने योजना छ । सडक अन्तर्गत पर्ने चोकहरुलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने, पहाडी इलाकाका कतिपय गाउँलाई रक गार्डेन तथा अर्गानिक भिलेजका रुपमा विकास गर्ने कुरा पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिसकेका छौं । यसका साथै लारुम्बालाई बृहत धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, भारतको सिमाना फत्तेपुरबाट चीनको घाङ्ला जोड्ने आधारमार्गका रुपमा दमक रवि सडकलाई विकास गर्न सकिने यथार्थपरक योजना म सँग छ ।

- तत्कालिन योजना के छ ?
► नेपाल सरकारको राष्ट्रिय गौरवको योजनामा समावेश गरेर बहुवर्षीय सम्झौता गर्नका लागि अविलम्ब ४०/५० करोडको व्यवस्था गराउने छु । आगामि आर्थिक वर्षदेखि हिउँद वर्षा गाडी गुड्ने गरी बाँकी काम फत्ते गर्ने र नेपाल सरकारको ध्यान यो बाटोमा केन्द्रीत गर्न सञ्चारकर्मी तथा आम उपभोक्तामार्फत राष्ट्रिय मुद्धाका रुपमा उठाउने तत्कालिन मेरो योजना हुनेछ ।

- राजनीति क्षेत्रमा सक्रिय मान्छे सडकको समितिमा बस्ने योजना किन नि ?
► हो, म राजनीतिमै सक्रिय मान्छे हुँ नै । त्यही भएर झापामा ५÷७ वर्षको अवधिमा मेरो पहलमा दमकबाट मधुमल्ला जाने सडक र महेशपुरमा करोडौंको झोलुङ्गे पुल सहितका धेरैवटा विकास निर्माणका योजना मैले ल्याएको छु । अनि नेपालको पूर्वी भागमा रणनीतिक महत्व राख्ने सडक भएकाले मैले यसमा चासो र चिन्ता व्यक्त गरेको हुँ । यसलाई चुस्त तरिकाले सञ्चालन गर्न मेरो अगुवाई सवैले महसुस गरेपछि मैले यस क्षेत्रबाट समाजसेवा गर्न लाग्नु परेको हो । पहिलो कुरा मेरो मामली अहिले पनि इलामको फुयतप्पा पहाड हो । म मेरो आमासँग हाफपाइन्ट लगाएर पेरुङ्गे, टोड्के, कुसुण्डेको बाटो हुँदै रतुवाको जंघार तरेको छु । कैयौं पटक पार्टीको जिम्मेवारी इलाममा हुँदा उकाली ओराली गरेको छु । म भन्दा अग्रजहरुले देखाएको सपना पुरा गर्न म फेरि एकपटक दमकबाट चुली पस्छु र माथिसम्म उकालो लाग्छु । त्यहाँका स्थानीयसँग मिलेर काम गर्न सक्ने प्रशस्त सम्भावना छ ।

- अनि सहमतिको पहल चाँही कत्तिको गर्नु भो नि ?
► सहमतिको पहल त धेरै गरियो । तर एमाले र कांग्रेसले नै मानेन । लोकबहादुर धिमाल, केहरसिंह योङ्याहरुको नाम लिएर हामी गएका थियौं । त्यसमा सहमतिमा नगएपछि म अध्यक्षका लागि अगाडि आउनु परेको हो ।

- सामाजिक संस्थामा पार्टीहरु नै लागेर यस्तो राजनीति गर्नु ठिक हो ?
► राजनीतिलाई समाजसेवामा लानु पर्ने हो, राजनीति नै समाजसेवा हो । तर त्यस्तो संस्कार बसिनसकेकोले हामीलाई पार्टीले राजनीति गरेको भन्ने बुझाई छ । बहुदलीय लोकतान्त्रिक मुलुकमा जो कोही पनि कुनै न कुनै पार्टीको सदस्य हुने भएकाले यसमा राजनीतिक प्रभाव पर्नु स्वभाविक हो । अनि अर्काे कुरा राजनीतिक तबरले कुरा नउठाउने हो भनें यो बाटो बनाउन सरकारसम्म दवाव दिन र समितिलाई चुस्त बनाउने कुरामा खबरदारी गर्न पनि सकिदैनथ्यो । यति राजनीतिक जागरण नभएको भए बाटो समितिको फेरि पनि निर्वाचन हुँदैनथ्यो । मात्र सवाल के रह्यो भने निश्चित मुल्य, मान्यता र प्रक्रियामा रहेर राजनीति गरौं भन्ने मेरो अरु गठबन्धनलाई पनि आग्रह हो ।

- चुनाव जितिन्छ त ?
► नजित्ने कुरै छैन । समितिको काम कारबाहीको चुस्तता र बजेटलाई चलाएमान बनाएर सक्रिय काम नभएको अथवा ९ वर्षसम्म साधारसभा नभएको अवस्थामा हामीले यी सवै कुरालाई चिर्दै आएर उपभोक्तालाई प्रष्ट्याएका छौं । मैले माथि नै भनिसकेंका सवै महत्वपूर्ण कारणहरुले हामी चुनाव जित्छौं ।

0 प्रतिकृया:

Post a Comment