हात्ती धपाउन ट्रयाक्टरको प्रयोग

झापा । झापाको उत्तर पूर्वी बाहुनडाँगी गाविसका किसानले जङ्गली हात्ती धपाउन ट्याक्टर प्रयोगको नयाँ जुक्ति निकालेका छन् ।
मेची सीमापारि भारतबाट हरेक साँझ नेपाल पस्ने हात्तीको बथानले खेतमा पाकिसकेको अन्न बाली मकै र धानसहित केरा, सुपारी, कटहरलगायत फलफूल खाएर सखाप पार्ने गरेको छ । यस अवस्थामा साँझमा हात्ती आएको थाहा पाउनासाथ गाउँले ट्याक्टर चलाएर हात्ती तर्साउन निकालिएको नयाँ उपाय प्रभावकारी बन्दै गएको प्रकृति संरक्षण समाजका संस्थापक अध्यक्ष अर्जुन कार्कीले बताए । ट्याक्टरको चर्को आवाज सुनेपछि हात्ती भाग्ने गरेको छ । ट्याक्टरको हेडलाइट बाल्दासमेत हात्ती भाग्ने गरेको छ ।
३० हजार जनसङ्ख्या रहेको बाहुनडाँगी गाविस झापाको सर्वाधिक हात्तीपीडित क्षेत्र हो । भारतको आसामदेखिका हात्ती मेची तरेर बाहुनडाँगी हुँदै नेपालमा पस्ने गरेका छन् ।
जेठ लागेपछि मकै र धान खान दिनहुँ हात्ती आउने गरेकाले स्थानीयवासीले मुख्य गांैडामा ६ वटा ट्याक्टर हात्ती धपाउन प्रयोग गर्दै आएको बाहुनडाँगीका पत्रकार शिशिर चम्लागाईंले जानकारी गराए । हात्ती धपाउन प्रयोग हुने ट्याक्टरका लागि चाहिने इन्धन खर्च स्थानीय गाविसले दिने आश्वासन दिएको स्थानीयवासी बताउँछन् ।
यसअघि बाहुनडाँगीमा हात्ती धपाउन टुङ र सुरुङ बार र विद्युतीय तारको घेराबेरा गरिएको थियो । ती उपायले पनि हात्तीको आतङ्कमा कमी नभएपछि चिन्तित भएका किसानले पछिल्लो समयमा ट्याक्टर प्रयोग गरिरहेका छन् ।

0 प्रतिकृया:

Post a Comment