घर घरमा ‘किचन बम’

-  तेजबन विश्वासी
सुनसरी ।  नियमनकारी निकाय आफैमा चुप लागिदिँदा र स्थानीय उपभोक्ताहरु समेत सचेत नहुँदा नेपाल सरकारले विक्री वितरणमा प्रतिबन्ध लगाएको साना आकारको सिलिन्डरहरु पुन पूर्वका बजारहरुमा देखिन थालेका छन् ।
बजार अनुगमन गर्ने निकाय जिल्ला प्रशाशन कार्यालय तथा घरेलु उद्योगका कर्मचारीहरु भूकम्प पीडितलाई राहत बाँढ्न गएको मौका छोपी व्यापारीहरुले साना आकारका सिलिण्डरको विक्री वितरणलाई तीव्रता दिएका छन् । पटक पटक व्यापारीहरुलाई साना आकारको सिलिण्डर विक्री वितरण नगर्न सम्बन्धित निकायहरुले आग्रह गरेपनि ठोस कार्वाही नीति लागु गर्न नसक्दा पूर्वमा पूनःव्यापारीहरुले साना आकारको सिलिण्डर विक्री बितरणलाई तीव्रता दिएको पाइएको छ । ‘किचन बम’को संज्ञा दिदै आएको साना आकारका सिलिन्डरहरु प्रयोगमा खतरा रहेको भन्दै नेपाल सरकारले यस्को विक्री वितरणमा रोक लगाउँदै आएको छ तर नियमनकारी निकायले नियमित बजार अनुगमन नगर्दा र अनुगमनको बेला पक्राउ परेका व्यापारीहरुलाई कडा कार्वाही गर्न नसक्दा पूर्वका बजारहरुमा फेरि साना आकारका सिलिण्डरहरु विक्री वितरण हुन थालेका छन् ।
पूर्वको केन्द्र मानिएको इटहरीलाई व्यापारीहरुले साना सिलिण्डर विक्री गर्ने मुख्य अड्डाको रुपमा लिदै आएका छन् । मोरङ र झापामा पनि यस्ता सिलिण्डरको विक्री भइरहको बुझिएको छ । बाटैमा प्रहरी कार्यालय रहेको देखेपनि प्रसाशनकै आँखा अघि साना आकारको सिलिण्डर विक्री वितरण भइरहँदा व्यापारीहरुलाई कार्वाहीको दायरामा ल्याउन प्रसाशन स्यवम असक्षम देखिएको छ । आँखा अघी गैरकानुनी काम भएपनि उजुरीको पर्खाइमा रहेको प्रसाशनले त्यस्ता व्यापारीहरुलाई कार्वाहीको सट्टा आखा चिम्लेर बसेको पाइन्छ । हेर्दा सानो चिटिक्क देखिने र कम लागतमा उत्पादन समय टिकाउने हुदा कम आर्थिक स्तर भएका उपभोक्ताहरुले यस प्रकारका सिलिण्डरहरु प्रयोग गर्ने गरेका छन् । यता बजार अनुगमनको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालय सुनसरी भने आफनो क्षेत्रमा भएको कालोबजारी तथा गैरकानुनी कामको बिषयमा केही जानकारी नभएको बताउँदै आएको छ । यतिबेला सिङ्गो राष्ट्र भूकम्प पिडितहरुको उद्धार र राहतमा खटिएको कारण साना तिना कुराहरुमा ध्यान नगएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ बताउँछन् ।


यसरी भित्रन्छ अवैध सिलिण्डर !

नेपाल भारतबीचको मैत्रीपूर्ण सम्बन्धको फाइदा उठाउँदै भारतीय नाकाहरुमा रहेका नेपाली तथा भारतीय शुरक्षाकर्मीहरुकै मिलेमतोमा यस्ता साना आकारका सिलिण्डरहरु भित्रीने गरेको श्रोतको भनाइ छ । नेपाल र त्यसमा पनि तराइमा रहेका खुल्ला सिमानाको फाइदा उठाउँदै जिल्ला प्रवेश गरेका व्यापारीहरुको बढी मिलेमतो रहेको पाइन्छ । नेपालका व्यापारीहरुसंग अग्रिम कन्ट्रयाक गरी रातको समयमा सुनसरीको भारतीय नाका हरीपुर, भुटाहा, कोशी ब्यारेज, भण्टावारी, बिराटनगरको नाका जोगवनी, लगायतका नाकाहरुबाट यस्ता अवैध सिलिण्डरहरु भित्रिने गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment