स्वार्थको पनि सीमा हुन्छ

निधिरत्न अधिकारी
मानव दुनियाँ सपार्ने पनि राजनीति हो । बिगार्ने पनि त्यही राजनीति नै रहेछ । दुनियाँका सम्पन्न समृद्धशाली राष्ट्र बन्नुमा राजनीतिको अहम् भूमिका छ । तर दुनियाँको कङ्गाल राष्ट्र बनाउनु पनि उत्तिकै राजनीतिकै भूमिका रहेछ । आखिर राजनीति कसले गर्छ ? के का र कसका लागि गर्ने ? भन्ने सवाल अहम् छ । मानिसले मानिसका लागि राजनीति गर्ने हो । कुनै पशु प्राणीका लागि होइन । मानिस यो धर्तीको चेतनशील र सामाजिक प्राणी हो । उसँग चेतना विवेक र ज्ञान हुन्छ भनेर चेतनशील प्राणीको रुपमा उसको स्थान छ । राजनीतिले गर्दा त्यही समाजमा रहेको मानिस जुन टाठो बाठो, विवेकशील, बुद्धि ज्ञान भएको त्यो समाजमा कहलिन्छ, उही नै राजनीतिको केन्द्र भागमा पुग्दछ । यसरी ऊ त्यहाँ पुग्न कुनै खेलाँची कसैको लहडले मात्र पनि एउटा नेता नेतृत्व हुन सक्दैन, माथि पुग्न सक्दैन । धेरै लगानी हुन्छ, धेरै समय खर्चेको हुन्छ । तर उसले त्यो लगानी समयको प्रतिफल प्राप्त गर्न के गनुपर्छ ? उसले प्रष्ट थाहा पाउनुपर्छ । आफ्नो काम, कर्तव्य र अधिकार के हो भनेर । राजनीति गर्नेको मूलमन्त्र भनेको ‘बाँच, बचाउ र बाँच्न देऊ’ भन्ने मन्त्रलाई आत्मसाथ गरेर देश निर्माण र जनताको सेवामा निरन्तर लागिरहनु पर्दछ । जसले जनता र देशलाई केन्द्रबिन्दुमा राखेर राजनीति गर्छ, देश र जनतालाई समृद्ध पार्ने काम गर्छ, ऊ कहिल्यै कुनै कुरामा गरिनु हुँदैन । राष्ट्रमा रहेका सम्पूर्ण जनताको सुख दुःखमा राजनीति गर्ने नेतृत्वले सहभागी बन्न सक्नुपर्छ । उसलाई जनता र देशलाई खाडलमा हाल्न पनि सक्छ र देश र जनतालाई समृद्धशाली बनाउन पनि सक्छ । उसको सकारात्मक इच्छा शक्ति र नकारात्मक इच्छा शक्तिमा भर पर्छ । एउटा राजनीतिक कालखण्ड एउटा नेता जसले दुनियाँ जनताको दिमाग जादुगरी तरिकाले भुटेको हुन्छ । जनता पल्टाए पनि जनता पल्टिन्छ । जनतालाई नेताको जादु थाहा हुँदैन, नेताले मख्ख बनाइदिन्छन् । जब मूल केन्द्र भागमा नेता पुग्छ, जनता र देश सबै भुल्दछन् । अनि दुःख पाउने चाँहि जनता हुन्छन् । मानवको असल कर्म गर तर फलको आशा नगर भन्ने शास्त्रको भनाई छ । असल कर्मबाट स्वतः सिद्ध फल प्राप्त हुन्छ । तर मानव जातिको प्रकृति नै स्वार्थी छ । स्वार्थका पनि सीमा हुन्छ, नेपाली राजनीति सामुहिक राष्ट्र र समग्र जनताको स्वार्थ भन्दा पार्टी र नेताको व्यक्तिगत स्वार्थमा विशेष गरेर लागेको देखिन्छ । आज नेपाल राष्ट्रको भौतिक समृद्धि र समग्र नेपाली जनताको समानताको आमूल परिवर्तन गर्न नेपाली जनसंविधान बनाउनु पर्ने अहम् प्रश्न छ । यस्तो संवेदनशील संस्करणकालीन घडीमा नेपाली राजनीतिको कुनै पार्टी र नेताको बीचमा सत्ता र र स्वार्थको लागि आपसी लडाई, विवाद नभएका कोही छैनन् । विचारको लडाई यस्तो लडाई हुन सक्दैन । देश र जनताको समृद्धिको लागि राजनीति गर्ने पार्टी र नेताको विचार एउटै हुनुपर्छ । त्यो भनेको नेपाली जनता र नेपाल राष्ट्रको आमूल परिवर्तन गर्ने हो भने साझा सवाल हो भने सुत्र एउटै हुन्छ । यत्रो राजनीतिक झगडा गर्नु आवश्यकता नै होइन । आजको दुनियाँ, हिजोको दुनियाँ, मानव जाति या प्रकृतिको नियम पछाडि फर्कने होइन, अगाडि बढ्ने नै हुन्छ । मानिस जन्मेर सानु हुँदै जाने होइन, उसको सम्पूर्ण विकास हुँदै ठूलो हुँदै जाने हो । राजनीति गर्ने नेता, पार्टी, विचारका पनि एउटा लक्ष्य हुन्छ । कुनै कुरा शून्यमा हुँदैन । त्यो नेताले पार्टी र विचारको आफ्नो लक्ष्य देश र जनताको नाममा समर्पित गरेर आफ्नो नाम सदाको लागि कहलाउने, सामुहिक स्वार्थ हुनु स्वभाविक हो । तर नेपाली राजनीतिमा कोही पनि नेता पार्टी विचार, सामुहिक देश र जनताको स्वार्थको लागि कुरा नमिलेर यो राजनीतिक झगडा होइन । किनभने २ पटक संविधानसभाको निर्वाचन भइसक्यो । नेपालको संविधान बन्नको लागि सबैको सहमति आवश्यक छ । नत्र संविधान बन्न सक्दैन । किनभने सहमति भएन भने बनेको संविधानबाट नै द्वन्द्व सिर्जना हुन्छ । इतिहासले पाठ सिकाइ सकेको छ कि २०१५ साल, २०४६ सालमा बनेका संविधानको हालत के भयो ?
संघीय लोकतान्त्रिक गणतन्त्रभित्र रहेर आम नेपाल र नेपालीको समृद्धि खोज्ने मूल मन्त्र एउटै होइन ? कसरी उक्त मन्त्र अलग बन्न सक्छ ? संघीय लोकतान्त्रिक गणतन्त्र त आज सबैको साझा मुद्दा हो त । कसो गर्दा या कति संघीय राज्य बनाउँदा समग्र नेपालको हित हुन्छ, त्यो सुत्र सबैको साझा हुनुपर्छ । कुन शासकीय स्वरुप अपनाउँदा नेपालको राजनीतिक स्थित हुन्छ, त्यो पनि सबैको साझा हुनुपर्छ । कुन न्याय प्रणालीले नेपाली नेपाली जनताको पूर्ण न्याय प्राप्त गर्न सकिन्छ, त्यो पनि सबैको साझा हुनुपर्छ । कस्तो निर्वाचन प्रणालीले नेपाली जनताले पूर्ण प्रजातन्त्रको अनुभूति गर्छन् । त्यो पनि सबै राजनीति गर्नेको साझा हुनुपर्छ । यति देश र जनताको नाममा राजनीति गरेको हो भने । ४ वर्षसम्म झगडा गरेकै हो, अब पनि नेपाली राजनीतिको चेत खुलेको छैन ? स्वार्थको पनि सीमा हुन्छ । नेपाली समग्र राजनीतिलाई मेरो प्रश्न । तिमीहरू नेपाल र नेपालीलाई समृद्ध पारेर आफ्नो नाम स्वर्णिम अक्षरले लेखाउन चाहन्छौं कि ? कलङ्कित बन्न ?

0 प्रतिकृया:

Post a Comment