हाजिर गर्ने मेसिन प्रयोगविहीन

दमक/ तीन लाख रूपैयाँ खर्चिएर दमक बहुमुखी क्याम्पसमा किनिएको हाजिरी मेसिन प्रयोगविहीन भएको छ । दुई वर्षअघि करिब ३ लाख रुपैयाँमा किनिएको सो मेसिन क्याम्पसका प्राध्यापकहरुले प्रयोग गर्न नमानेपछि यो अहिले समय हेर्ने घडीको रूपमा मात्र प्रयोग हुँदै आएको हो ।
क्याम्पसमा प्राध्यापक तथा कर्मचारीहरूको चुस्त दुरूस्त हाजिरी रेकर्ड राख्ने उद्देश्यले किनिएको यो मेसिन प्राध्यापकहरूको असहयोगका कारण प्रयोगविहीन बन्न पुगेको हो । यो मेसिनमा ‘फिंगर प्रिन्ट’को रेकर्ड गरिन्छ । फिंगर प्रिन्ट रेकर्ड भएपछि कार्यालय आउने र जाने समयमा मेसिनमा आफ्नो औँठाको छाप लगाउनु पर्ने हुन्छ । कार्यालयमा ढिलो आए मेसिनले हाजिरी नगर्ने भएकाले संघ–संस्थाका कार्यालयका कर्मचारीहरु यसको प्रयोग गर्न रुचाउँदैनन् । विशेष गरी कर्मचारीहरुलाई कामप्रति लगनशील हुन र कार्यालय समयमा आउन र जान उत्प्रेरित गर्नका लागि यो मेसिनको प्रयोग हुन्छ । स्रोतका अनुसार दमक क्याम्पसमा यतिका वर्ष बितिसक्दा पनि यो मेसिनको प्रयोग नभएकाले विद्यार्थी संगठनहरु रुष्ट भएका छन् ।
यस विषयमा जिज्ञासा राख्दा क्याम्पस प्रमुख सन्त कुमार भगतले भने आगामी साउन १ गतेदेखि यसलाई प्रयोगमा ल्याइसक्ने बताएका छन् । यसका लागि प्राध्यापकहरुको ‘फिंगर प्रिन्ट’को रेकर्ड लिने कार्य भइरहेको उनले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment