पत्रकारलाई सभासदको चेतावनी

उर्लाबारी/मोरङ, क्षेत्र नं. ९ बाट संविधानसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सभासद डिगबहादुर लिम्बुले पत्रकारको घर छेउको बाटो नबनाउने धम्की दिएका छन् ।
पाँच करोड रुपैयाँ विरुद्ध समाचार लेखेकोले पत्रकारको घर छेऊको बाटो नबनाउने उनको भनाई  छ ।  सभासद लिम्बुले आफ्नो बारेमा जे पनि लेख्न पत्रकारलाई चुनौती समेत दिए । मोरङको मधुमल्लामा मंगलवार  आयोजित बी.पी.स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सभासद लिम्बुले पत्रकारलाई त्यस्तो धम्की दिएका हुन् ।
गत आर्थिक बर्षमा आफ्नो क्षेत्रमा विनियोजित १० लाख रुपैयाँ कहाँ–कहाँ खर्च भएको भन्ने बारेमा जानकारी लिने क्रममा सभासद लिम्बुले विकास निर्माणका लागि पाँच करोड रुपैयाँ माग गरिएको बताए ।  सोही कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति खड्ग फागोले जनताले चाहेको लोकतान्त्रिक संविधान बनाउन छाडेर सभासदहरु पाँच करोडमा अल्झिन नहुने सुझाव दिए ।  अहिलेको कार्यकर्ता नेताको दर्शन गर्न नभइ नेतालाई काम लगाउन चाहने स्पष्ट पार्दै क्षेत्रीय सभापति फागोले आफ्नै नेताले गल्ती गरेमा कार्यकर्ताले औँला ठड्याउने चेतावनी दिए ।
कांग्रेस मधुमल्ला गाउँ सभापति सेवन्त दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस महासमिति सदस्य शोभा चेम्जोङ्ग पालुङ्वाले पनि बोलेकी थिइन् ।

0 प्रतिकृया:

Post a Comment