मेचीमा समस्या बन्दै ‘अल्कोहलिक’

इलाम/एक दशक अघि झापाको विर्तामोडमा स्थापित ‘नयाँ आशा फाउण्डेशन’ नामक रिह्याविटेसन सेन्टरले स्थापनाको चार वर्षसम्म ड्रग्स प्रयोगकर्ताहरुको मात्र उपचार ग¥यो । त्यसयता रिह्याव सेन्टरमा जानेमध्ये धेरै अल्कोहलिक छन् । ५० जनालाई उपचार गर्ने क्षमता भएको नयाँ आशा फाउण्डेशनमा २५ देखि ३० जना टुट्दैनन् । त्यसमध्ये धेरै जना अल्कोहलिक हुने गरेको सेन्टरले जनाएको छ ।
मादक पदार्थ सेवनलाई समाजले पनि स्वीकारेकाले अहिले रिह्याव सेन्टरमा जानेमध्ये धेरै अल्कोहलिक हुने गरेको अध्यक्ष बलराम पनेरुको भनाई छ । ‘रक्सीको सेवनलाई समाजले पनि स्वीकारेको छ, कानुनी मान्यता पनि दिइएको छ’ उनले भने, ‘त्यसैले अल्कोहलिकको समस्या बढ्दै गएको छ ।’ मादक पदार्थ र लागूऔषध दुबै नशालु बस्तु भएकाले यसको एउटै समस्या भएको रिह्याव सेन्टरमा कार्यरत धिरेन्द्र देउजा बताउँछन् । ‘यी सबै चिज नशाको लागि प्रयोग हुने हो’ उनले भने, ‘अहिले मादक पदार्थबाट नशा लिने समस्या विकराल बन्दैछ ।’
२०५९ सालयता झापामा मात्रै ६ वटा रिह्याव सेन्टर स्थापना भएका छन् । लाइफलाइन ग्रुप विर्तामोड, नयाँ आशा फाउण्डेशन, विसडम फाउण्डेशन दमक, रि–वर्थ फाउण्डेशन विर्तामोड, सनराइज फाउण्डेशन धुलाबारी अहिले सञ्चालनमा छन् । झापाकै दमकमा महिलाहरुकै लागि मात्र ह्याप्पी नेपाल नामको रिह्याव सेन्टर स्थापना भएको छ । झापामा भएको रिह्याव सेन्टरमा अत्यधिक मादक पदार्थ सेवन गरेर क्रोनिक भएकाहरु धेरै जना छन् । मेचीको पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङ्गमा रिह्याव सेन्टर छैनन् । तीन जिल्लाबाट धेरै जना झापामा रहेको रिह्याव सेन्टरमा जाने गरेको नयाँ आशा फाउण्डेशनका अध्यक्ष पनेरुले जानकारी दिए ।
नेपाल र भारतको अन्य ठाउँमा भएका रिह्याव सेन्टरमा जाने पनि निकै छन् । डाक्डर, इञ्जिनियर, सरकारी कर्मचारीहरु समेत रिह्याव सेन्टरमा पुग्छन् । कुलतका कारण धेरै शिक्षकहरु रिह्याव सेन्टरमा जाने गरेको सञ्चालक बताउँछन् । बालबालिकाहरु भने डेन्ड्राइड सुँघ्ने कुलतमा फस्दै छन् । झापामा स्थापना भएका रिह्याव सेन्टरले तीन महिना राखेर उपचार गराउने गरेका छन् । नयाँ आशा फाउण्डेशनले स्थापना देखि हालसम्म २१ सय जनाको उपचार गरिसकेको छ । त्यसमा धेरैजसो अल्कोहलिकको संख्या रहेको छ । ड्रग्स किन्न महङ्गो पर्ने र यसलाई कानुनी वन्देज लगाइएकाले प्रयोगकर्ता सीमित रहेको उनीहरु बताउँछन् । तर, मादक पदार्थ किन्न सस्तो पर्ने र जताततै  पाइने भएकाले धेरै सेवनकर्ताहरु क्रोनिक भइसकेको रिह्याव सेन्टर सञ्चालकहरु बताउँछन् । ‘ड्रग्सलाई एक डोजका लागि तीन÷चार हजार रुपैयाँ पर्छ’ रिह्याविटेसन सेन्टरमा काउन्सिलिङ्ग गर्दै आएका धिरेन्द्र देउजाले भने, ‘मादक पदार्थ पाँच रुपैंयाूको पनि पाइन्छ, सस्तोमा पाइने भएकाले धेरै र नियमित प्रयोग हुन्छ ।’
रिह्याव सेन्टरहरुले दैनिक ६ घण्टाको कक्षा लिन्छन् । योग लगायतका अन्य काममा ब्यस्त बनाउँछन्, परामर्श दिन्छन् र लागूऔषध तथा मादक पदार्थ सेवनकर्तालाई लतबाट छुटाउँछन् । रिह्याव सेन्टरबाट फर्किएर फेरि प्रयोग गर्नेहरुको समस्या बल्झिने रिह्याव सञ्चालक बताउँछन् ।

0 प्रतिकृया:

Post a Comment