के हो ‘सडेन इन्फेन्ट डेथ सिन्ड्रोम’ ?

सडेन इन्फेन्ट डेथ सिन्ड्रोमबाट एक वर्ष नपुगेका शिशुको मृत्यु हुने गरेको छ । एक देखि १२ महिनाका शिशुको मृत्युमा यस समस्याको ठूलो हिस्सा रहेको देखिन्छ । अमेरिकामा दुई हजारभन्दा बढी शिशुले प्रत्येक वर्ष यस समस्यामा परेर ज्यान गुमाउने गर्छन् तर सामान्यतया यसरी हुने शिशुको मृत्युको कारण व्याख्या गरिँदैन । अहिले एक अनुसन्धानले जनाए अनुसार ओछ्यानमा शिशुसँगै सुत्नु सडेन इन्फेन्ट डेथ सिन्ड्रोमको एक प्रमुख कारण हुन्छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको जर्नल पेडियाट्रिक्समा प्रकाशित नयाँ अनुसन्धानको विवरणमा अमेरिकाका २४ राज्यमा सन् २००४ देखि २०१२ सम्म भएका सडेन इन्फेन्ट डेथ सिन्ड्रोम मामिलाको अध्ययन गरिएको जनाइएको छ ।
अमेरिकाको रोग नियन्त्रण केन्द्रले शिशुको मृत्युको प्रमुख तीन कारणलाई यसरी छुट्याएको छः सडेन इन्फेन्ट डेथ सिन्ड्रोम (सिड्स), अज्ञात कारण र ओछ्यानमा दुर्घटनावस सास लिन नपाउने । एकदेखि चार महिनाका शिशुमा सडेन इन्फेन्ट डेथ सिन्ड्रोम बढी देखिने भए पनि एक वर्ष नपुगेका जसलाई पनि यो समस्याको खतरा रहन्छ । ओछ्यानमा सुत्दा शिशुको मृत्यु हुने जोखिम उमेर समूह अनुसार फरक हुने भएकाले अनुसन्धान टोलीले दुई समूह शून्यदेखि तीन महिना र चारदेखि १२ महिना, बनाएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान अवधिमा आठ हजार २ सय ७ शिशुको मृत्यु भएकोमा ६९ प्रतिशत शिशुले अभिभावकसँगै सुतेको अवस्थामा ज्यान गुमाएका थिए ।
अनुसन्धान टोलीले सडेन इन्फेन्ट डेथ सिन्ड्रोमजस्ता दुर्घटनाबाट जोगाउन जहिले पनि शिशुलाई उतानो पारेर सुताउनुपर्ने सुझाव दिएको छ । कोल्टे पारेर सुताएमा शिशु आफ्नो पेटको बलमा घोप्टिने खतरा हुन्छ । यस अतिरिक्त शिशुलाई न्यानो राख्ने भनेर धेरै लुगा लगाउने र ठूलो कम्मलले ओढाएर सुताउनु हुँदैन । कोठाको तापक्रम पनि आरामदायक राख्नुपर्छ ।

शिशुलाई कसरी सुताउने ?
– शिशुलाई हल्का नरम ओछ्यानमा सुताउने ।
– धुवाँ नहुने स्थानमा सुताउने ।
– शिशुलाई सुताउन वयस्क मानिसको ओछ्यान, कुर्सी, सोफा, तकिया आदि प्रयोग नगर्ने ।
– शिशुको ओछ्यानमा ठूला कम्मल, खेलौना, अतिरिक्त तकिया आदि नराख्ने ।
– आमाबाबुले शिशुलाई सँगै नसुताउने ।
– आमाले आपूmले सुतेर बच्चालाई कोल्टे पारी स्तनपान नगराउने । बसेर शिशुलाई काखमा राखी स्तनपान गराउनु पर्छ ।
– गर्भावस्था र बच्चा जन्माएपछि आमाले धूमपान नगर्ने वा धुवाँ हुने वातावरणबाट आपूmलाई टाढा राखेर पनि शिशुलाई सडेन इन्फेन्ट डेथ सिन्ड्रोमबाट जोगाउन मद्दत मिल्छ ।
– शिशुलाई मसाज गर्दा शिशुलाई धेरैबेर घोप्ट्याएर राख्नु हुँदैन ।
– शिशु ब्युँझेको बेला उसलाई आफ्नो निगरानीमा केहीबेर पेटको बल रहन दिएमा उसको शारीरिक विकासमा सहयोग पुग्छ ।

0 प्रतिकृया:

Post a Comment