गुरू पूर्णीमा र यसको महत्व


पारसमणि आचार्य
गुरू ब्रम्हा, गुरू विष्णु, गुरू देव महेश्वर, गुरू साक्षत परम ब्रम्हा तहमैश्री गुरूवे नमह ! भनेझैं हाम्रो समाजमा गुरूको स्थान सदैव सर्वश्रेष्ठ । गुरूलाई जन्म दिने बा–आमा पछिका भगवानका रुपमा हेर्ने र पूज्ने चलन छ । गुरूले सधैंभरी आफ्ना विद्यार्थीहरूलाई राम्रो काम गर्न, प्रेरित गर्नुहुन्छ । साथै, कु–मार्गबाट राम्रो मार्गमा लाग्न मार्ग निर्देश गर्नुहुन्छ । साथै गुरूले कहिल्यै पनि आफ्ना शिष्यको अहित चिताएको पाइँदैन । तसर्थ, हाम्रो समाजमा गुरूको स्थान सर्वश्रेष्ठ रहेको छ ।
आफूलाई शिक्षा दिने गुरूहरूलाई सम्झने दिनको रुपमा हामी गुरू पूर्णीमालाई दिने गर्दछौं । गुरू र शिष्यको सम्बन्धलाई थप सुमधुर बनाउन यो दिनले सहयोग पु¥याएको पाइन्छ । आफ्नो कार्य विशेषले देश एवम् विदेशमा छरिएर रहेता पनि आजका दिन आफ्ना गुरूजनप्रति विशेष आदर र सम्मानका साथ गुरूहरूलाई सम्झने दिनको रुपमा हामी गुरूपूर्णीमालाई लिन्छौं । आजका दिनमा गुरूहरूलाई भेटेर विशेष पूजा अर्चना गरी मिठो खानेकुरा खुवाउने, गुरूबाट आशिर्वाद लिने गरिन्छ । सधैं गुरूको दीर्घायु, स्वास्थ्यलाभको कामना गरिन्छ । अतः आज पनि हाम्रो समाजमा गुरू पूर्णीमाको विशेष महत्व रहेको पाइन्छ ।

गुरू पूर्णीमाको यस पावन अवसरमा यस प्रसङ्गलाई यहाँ जोड्न चाहन्छु । एक समयको कुरा हो । गुरूले आफ्ना शिष्यलाई ज्ञान प्रदान गर्दै हुनुहुन्थेछ । त्यसैक्रममा एक जना विद्यार्थी चाँहि गुरूको आज्ञा नमान्ने पनि रहेछ । पढाउँदै गर्दा गुरूले सबै विद्यार्थीलाई ठूला–ठूला ढुङ्गा टिप भन्नुभयो, सबैले ठूला ढुङ्गा टिपे तर एउटा जो गुरूको आज्ञा मान्दैनथ्यो, यसले चाँहि सानो ढुङ्गा टिपेछ । तयसपश्चात गुरूले सबैलाई भन्नुभयो, तिमीहरू भोकाको छौ होला, त्यसैले तिमीहरूको हातको ढुङ्गा खानेकुरा बनोस्, भनेर खानेकुरा बनाइदिनुभयो । ठूलो ढुङ्गा टिप्ने सबैले अघाउञ्जेल खान पाए तर सानो टिप्नेले थोरै मात्र खान पाएछ, त्यस पश्चात पुनः गुरूले सबैलाई साना–साना ढुङ्गा टिप्न लगाउनुभयो, सबैले सानो ढुङ्गा टिपे तर एकजनाले चाँहि ठूलो ढुङ्गो टिपेछ । गुरूले सबैलाई भन्नुभयो, तिमीहरूले टिपेको ढुङ्गा पर–परसम्म फाल । त्यो तिमीहरूको जमिन हुनेछ । जसले सानसो ढुङ्गा टिपे, उनीहरूले धेरै जमिन पाए, जसले ठूलो ढुङ्गा टिपेको थियो, उसले थोरै जमिन पाएछ । यस्तै प्रकारले पुनः गुरूले सबैलाई भन्नुभयो, दुईवटा एकनासका ढुङ्गा टिप । सबैले एकनासका, उत्रै ढुङ्गा टिपेछन्, तर एकजना गुरूको आज्ञा नमान्नेले चाँहि एउटा ठूलो र एउटा सानो गरी दुईवटा ढुङ्गा टिप्यो । गुरूले पुनः भन्नुभयो, तिमीहरूको खुट्टामा चप्पल छैन, त्यसैले त्यो ढुुङ्गा चप्पल बनोस् । नभन्दै जसले एकनासका ढुङ्गा टिपे, उनीहरूको एकनासको चप्पल बन्यो भने नमान्ने एकजनाको भने एउटा ठूलो र अर्को सानो चप्पल बन्यो । यसकारण यहाँ मैले के भन्न खोजेको भने गुरूको कुरा मान्नुपर्दछ । गुरूको आज्ञापालन गर्नुपर्दछ । गुरूको आज्ञा नमान्दा दुःख पाइन्छ ।
आफूलाई ज्ञान प्रदान गर्ने गुरूहरूलाई मिल्छ भने आजको दिन प्रत्यक्ष भेटेर गुरूहरूलाई मिठो फलफुल, खानेकुरा, कपडा आदि उपहार प्रदान गर्ने र गुरूहरूबाट आशिर्वाद लिने गरिन्छ । प्रत्यक्ष भेट्न सम्भव छैन भने पनि फोन, फेसबुक आदि इलेक्ट्रोनिक यन्त्रको माध्यमबाट पनि गुरूजनप्रति सम्मान प्रकट गर्न सकिन्छ । गुरू र चेलालाई जोड्ने पवित्र आजको दिन गुरू पूर्णीमाको यस पुनित अवसरमा मलाई शिक्षा दिने, मार्ग निर्देश गर्ने, सुमार्गमा लाग्न प्रेरित गर्ने मेरा आदरणीय गुरूजनहरूप्रति सुख, शान्ति, दीर्घायु, उन्नति प्रगतिको कामना गर्दै श्रद्धा प्रकट गर्न चाहन्छु ।

0 प्रतिकृया:

Post a Comment