‘प्रममा सुशीलको सम्भावना सकियो’ – मुख्य समाचार

काठमाडौं, १३ पुष/एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने सम्भावना सकिएको बताएका छन् ।
कोइरालाले प्रचण्डकै प्रस्तावमा आफू उम्मेदवार बनेको दावी गरेकै भोलिपल्ट बिहीबार प्रचण्डले अब कोइराला प्रधानमन्त्री बन्न नसक्ने दावी गरेका हुन् ।


आफ्नै नेतृत्वको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनको बैठकमा प्रचण्डले कोइराला प्रधानमन्त्री नबन्ने ठोकुवा गरेका हुन् । ‘सुशील प्रधानमन्त्री बन्दैनन् । उनको सम्भावना शून्य जस्तै छ’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने–‘मलाई प्रधानमन्त्री चाहियो मात्र भनेर हुन्छ र ? आधार हुनुप¥यो नि । ’
सुशीलले लचकता नदेखाएको र कुनै पनि विषयमा सहमति गर्नै नचाहेको प्रचण्डको भनाइ छ । प्रचण्डले दलहरूबीच सहमतिको प्रयास गर्ने र नभए संविधानसभाको पुनःस्थापनाको एजेण्डा पुनः उठाउनु पर्ने बताए ।
कांग्रेसलाई नेतृत्व दिंदा आइलाग्ने खतराबारे चर्चा गर्दै प्रचण्डले बाधा अड्काउ फुकाएर अघि बढ्दा अदालतले रोक्न सक्ने बताए । बाधा अडकाउ फुकाउविरुद्ध रिट पर्न सक्ने र राष्ट्रपतिले पारित गरेका अध्यादेश पनि खारेज हुनसक्ने खतरा औंल्याउँदै प्रचण्डले त्यस्तो अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार हुने तर चुनाव नहुने अवस्था आउन सक्ने बताए ।
यसैगरी सत्तासीन गठबन्धनको बैठकले २५ गतेसम्म सहमतिको सरकार गठन गरेर निर्वाचनमा जान सहमतिको प्रयास गर्ने र नभए २६ गतेबाट पुनःस्थापनाको एजेण्डा पुनः उठाउने निर्णय गरेको छ । २६ गतेबाट निर्वाचन आयोग आयुक्तविहीन हुँदैछ । आयोगले पदाधिकारी नियुक्ती, आवश्यक ऐन कानुन संशोधनलगायतमा सहमतिका लागि २५ गतेसम्मको समयसीमा दिएको छ ।

“कसैको नेतृत्व पनि कांग्रेसले मान्दैन”
इलाम, १३ पुष÷नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारमा कांग्रेस कुनै पनि हालतमा नजाने बताएका छन् । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले एक दिन भए पनि वर्तमान सरकारमा आउन अरु दलहरूलाई आग्रह गरिरहेका बेला केसीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 सहमति नभए देशमा भयावह अवस्था आउने भन्दै केसीले सरकारको नेतृत्व, संविधानका अन्तरवस्तुमा सहमतिको सर्त र संविधानसभाको पुनस्र्थापनामा कांग्रेसले कहिल्यै सहमति नगर्ने बताए । उनले भने ‘अरु सबै बिकल्पमा कांगेस लचिलो हुन तयार छ तर यी तीन कुरा हामी अन्तिम अवस्थासम्म पनि छाड्दैनौं । ’
उनले भने ‘कांग्रेस बाबुराम भट्टराई त के अरु कसैको नेतृत्वमा गठन हुने सरकारमा सहमति हुँदैन । ’ यो माओवादीको सत्ता कब्जा गर्ने चालबाजी मात्रै हो । ’ केसीले नेपाली कांग्रेसले जसरी भएपनि अबको सरकारको नेतृत्व नगरे निष्पक्ष चुनाव सम्भव नहुने बताए ।
नेपाल प्रेस युनियनले सदरमुकाममा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले माओवादीले विभिन्न बहानामा खेल मात्रै खेलिरहेको आरोप लगाए ।

0 प्रतिकृया:

Post a Comment