सकारात्मक वहस नै उत्तम विकल्प – सम्पादकीय

लिम्बुवान स्वायत्त राज्यको माग गर्दै आन्दोलन गरिरहेको संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् भित्र उब्जिएको विवाद समाधान तिर नभई थप चर्किदै गएको देखिन्छ । पार्टी संगठन भित्र विधान नाघेर पदाधिकारी नियुक्त गरेको विषय उठान भएपछि विधि प्रक्रिया तथा संगठन सुदृढिकरण संघर्ष समिति गठन गरेर परिषद्का सचिवालय सदस्य लोकसागर साम्बाले गतिविधि थालेकामा केही हप्ता अघि उनी निलम्बनको कार्बाहीमा परेका छन् । परिषद्का अध्यक्ष कुमार लिङ्देनले विज्ञप्ति जारी गरेर साम्बामाथि कार्बाही गरिसकेको भए पनि उनी अहिले पनि सांगठानिक गतिविधिमा सशक्त छन् ।
पछिल्लो समय अध्यक्ष लिङ्देन र सचिवालय सदस्य साम्बाबीच सांगठानिक दूरी बढेको तथा एक–अर्काका कार्य शैलीप्रति असन्तोष र असन्तुष्टि बढ्दै जाँदा कार्यकर्ता पंक्ति विभाजित मानसिकतामा पुगेका स्पष्टै देखिएको छ । साम्बाले परिषद्को सुनसरी जिल्ला समितिका अध्यक्ष सहितको बहुमत समिति, परिषद्को भातृ संगठन संघीय विद्यार्थी यूनियन र पाँचथर जिल्ला कार्य समिति बाहेकका जिल्लाका कार्यकर्ताहरू समेतलाई संघर्ष समितिमा आवद्धताको दावी तथा नेतृत्व गरिरहेका छन् भने परिषद्को सचिवालय सहितको मूल टिमको नेतृत्व लिङ्देनको रहेको छ ।
लिम्बुवान आन्दोलनको सुरुवात गर्न अघि दुवै नेता राष्ट्रिय जनमुक्ति पार्टीमा विद्रोह गरेर नेपाल जनमुक्ति पार्टी गठनका समयमा समेत सँगै देखिएका तथा यसअघि परिषद् फुटका क्रममा समेत पटक–पटकका सांगठानिक हलचलहरूमा समेत सँगै देखिएका कारण उनीहरूबीचको सांगठानिक समिकरण बलियो भएको अनुमान गरिन्थ्यो, जो आज लगभग असत्य सिद्ध हुन लागेको अवस्थामा पुग्दैछ ।
शुक्रबार साम्बा नेतृत्वको संघर्ष समितिले भेलाको आयोजना गरेर पार्टी संगठनका विधान विरोधी गतिविधिमा प्रभाव पार्दै जाने निर्णय गरेको अवस्था एकातिर विद्ययमान छ भने अर्कातिर कार्बाहीमा परिसकेकाहरूबाट अराजक भनाई आइरहेका तर कुनै प्रभाव नपर्ने प्रतिक्रिया अध्यक्ष लिङ्देनबाट आउनुलाई पार्टी संगठनका कार्यकर्ताले पुनः परिषद्को फुट नजिक आएको अर्थमा वा कसरी बुझ्छन् त्यो उनीहरूको कुरो हो । यद्यपि, क्षेत्रीय राजनीतिमा लगभग स्थापित भइसकेको लिङ्देन नेतृत्वको परिषद्मा पुनः फुट हुने हो भने मुलुकमा प्रारम्भिक अभ्यासमा रहेको क्षेत्रीय राजनीतिक संगठनको प्रयास आफैमा असफल बन्ने देखिन्छ ।
राजनीतिक एजेण्डा र गतिविधिको बेग्लै मूल्याङ्कन हुनु स्वाभाविक प्रक्रिया हो । तर, स्थापित राजनीतिक शक्तिहरू फुटका चरणबाट मात्रै गुज्रिरहेने परिस्थिति नराकिने हो भने यसले मुलुकको राष्ट्र राजनीति, जनजीवन र विकास निर्माण लगायतका सबै खाले कार्यमा नकरात्मक प्रभाव पर्ने निश्चित छ । तसर्थ सांगठानिक विवादहरूलाई सही वहसका माध्यमबाट निरुपण गरेर अघि बढ्नु बाहेको उत्तम विकल्प अरु हुन सक्दैन कि ! अझै पनि वहसका माध्यमबाट समस्याहरूको निधान गरी सही नेतृत्व र सांगठानिक ढाँचाबाट अघि बढ्ने समय छ । यतातर्फको पहललाई विशेष ध्यान पु¥याउन जरुरी छ ।

0 प्रतिकृया:

Post a Comment