न्यून विद्यार्थी हुने विद्यालय अन्यमा गाभिने

इलाम, ९ साउन/जिल्ला शिक्षा कार्यालय इलामले विद्यार्थी संख्या शून्य र कम भएका एक दर्जन विद्यालयलाई अन्य विद्यालयमा गाभ्ने तयारी गरेको छ । जसमध्ये केही विद्यालय बन्द नै गर्ने तयारी थालिएको छ ।
कार्यालयले नयाँ शैक्षिकसत्रमा विद्यार्थी संख्या शून्य भएकालाई बन्द गर्ने र नियम अनुसार विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई अन्यमा गाभ्ने तयारी गरेको हो । बन्द गर्नुपर्ने र अन्यमा गाभ्नुपर्ने अवस्थाका विद्यालयहरूको कार्यालयले प्रारम्भिक सूचि तयार गरेको छ ।
जिल्ला शिक्षा अधिकारी दिलनाथ पूरीका अनुसार विद्यार्थी शून्य भएका र भर्ना भएका विद्यार्थी सबै उपस्थित नहुने विद्यालयहरू सदरमुकामका दुई र अन्य विभिन्न गाविसका दश ओटा रहेका छन् ।
कार्यालयका अनुसार यस शैक्षिकसत्रमा सुलुबुङको सरस्वती प्रावि र साङ्रुम्बाको बिजुवाडाँडा प्राविमा एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । विद्यालयका शिक्षकहरूले नपढाई तलब बुझिरहेका छन् । त्यस्तै अन्य विद्यालयमा गाभिन लागेका विद्यालयहरूमा नगरपालिकास्थित बालमन्दिर प्राविमा ६ शिक्षक २० विद्यार्थी, दृपादेवी प्राविमा ४ शिक्षक २ विद्यार्थी तथा पशुपतिनगरको महेन्द्ररत्नमा ३ शिक्षक र ३ विद्यार्थी छन् ।
साङ्रुम्बास्थित युवा प्रावि र दूर्गा प्रावि साथै मावुस्थित जनता प्राविलाई पनि अन्य विद्यालयमा गाभ्ने तयारी गरिएको छ । तीमध्ये युवा प्राविमा १५ जना विद्यार्थी भर्ना भए पनि ९ जना मात्र नियमित उपस्थित हुने गरेका छन् । सो विद्यालयमा तीनजना शिक्षक दरबन्दी रहेको छ । दूर्गा प्राविमा २ जना शिक्षक, ६ जना विद्यार्थी र जनता प्राविमा ३ शिक्षक र ६ जना विद्यार्थी छन् ।
त्यसैगरी दानाबारीस्थित बालमन्दिर प्राविमा दुई शिक्षक, १५ विद्यार्थी, अरनीको प्राविमा एक शिक्षक २० विद्यार्थी, बालज्योति प्राविमा एक शिक्षक ११ विद्यार्थी र महमाईस्थित फूलबारी नमुना प्राविमा एक शिक्षक रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
विद्यालयहरूमा कम मात्र विद्यार्थी भर्ना भएका र भर्ना भएकामध्ये कतिपय नियमित उपस्थित नहुने भएकाले ती विद्यालयहरूको तत्काल निरीक्षण गरी नजिकैको विद्यालयमा गाभ्ने कार्यालयका उपसचिव गेहेन्द्र दाहालले बताए ।
प्रक्रियागत रुपमा विद्यालयहरूलाई बन्द गराउन सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय आवश्यक पर्ने भएकाले कार्बाही प्रक्रियामा केही ढिला भइरहेको जिशिअ पुरीले बताए । उनले भने –‘ती विद्यालयहरू बन्द गराउन व्यवस्थापन समिति मञ्जुर छैनन् । ’
यसअघि कार्यालयले एकै जना पनि विद्यार्थी नभएका ५ ओटा प्राथमिक विद्यालयहरू बन्द गरिसकेको छ । कार्यालयले गोर्खेको सरस्वती निवास प्रावि, श्रीअन्तुको विद्याज्योति प्रावि, लक्ष्मीपुरको गंगादेवी प्रावि, गजुरमुखीको भानुभक्त प्रावि र नगरपालिकास्थित कुमीटार प्राविलाई बन्द गराएको थियो ।

0 प्रतिकृया:

Post a Comment