होमियोपैथिक चिकित्सालाई मान्यता

विराटनगर, १२ साउन/भारत सरकारले नेपालमा अध्ययन हुने होमियोपैथिक चिकित्सा पद्धतिलाई मान्यता प्रदान गरेको छ ।
नेपाल होमियोपैथिक चिकित्सक संघ केन्द्रीय कार्यालय विराटनगरको विशेष पहलमा भारतले उक्त मान्यता प्रदान गरेको हो ।
भारत सरकारको सेन्ट्रल काउन्सिल अफ होमियोपैथिकले नेपालको पूर्वाञ्चल विश्वविद्यालय विराटनगरको स्नातक स्तरको ब्याचलर अफ होमियोपैथिक मेडिसिन एण्ड सर्जरी (बिएचएमएस), होमियोपैथिक उपाधिलाई स्नातक स्तरको मान्यता प्रदान गरेको संघले जनाएको छ ।
उपरोक्त मान्यताका सम्बन्धमा भारत सरकारले पूर्वाञ्चल विश्वविद्यालयले तयार पारेको स्नातक स्तरको पाठ्यक्रमलाई आफ्नो एकेडेमिक कमिटीबाट मान्यता प्रदान गरेको हो ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् बाँसबारीले नेपालको होमियोपैथिक चिकित्सा सम्बन्धमा नेपाल सरकारले गरेको कार्य, त्यस सम्बन्धी हुने अध्ययन, अध्यापन र मान्यताका सम्बन्धमा सेन्ट्रल काउन्सील अफ होमियोपैथी भारतले माग गरे अनुसार जवाफ पनि पठाइएको बताएको छ ।
त्यसका आधारमा नेपालको होमियोपैथिक
 चिकित्सालाई भारत सरकारले मान्यता प्रदान गरेको हो । होमियोपैथिक उपाधि (बिएचएमएस) लाई नेपाल एवम् भारत सरकारको सेन्ट्रल काउन्सील अफ होमियोपैथिकबाट मान्यता प्राप्त गराउनमा नेपाल होमियोपैथिक चिकित्सक संघ, केन्द्रीय कार्यालय विराटनगरको भूमिका रहेको संघका अध्यक्ष डा. जीवन प्रकाशले बताए ।
हालसम्म नेपालमा सरकारी स्तरमा पशुपति होमियो चिकित्सालय हरिहर भवनमा सञ्चालित छ । निजी स्तरबाट नेपाल होमियोपैथिक मेडिकल कलेज विराटनगरमा छ । यसैगरी डाक्टर अफ मेडिसिन पाठ्यक्रम निर्माणका लागि पूर्वाञ्चल विश्वविद्यालयमा दर्ता गराएको बताइएको छ । विराटनगर होमियोप्याथिक कलेजबाट ५६ चिकित्सक उत्तीर्ण भएका छन् ।

0 प्रतिकृया:

Post a Comment