सबैको ध्यान जाओस् - सम्पादकीय

झापा लखनपुर-५ को गेउरियाका स्थानीयले बुधबार बिहान अकस्मात पाडाजुङ्गी-गौरीगाज सडक खण्डमा ४ घण्टा चक्काजाम गरे । २२ किलोमिटर सडकको गेउरिया खण्डमा अकस्मात गरिएको चक्काजाममा सय बढीका सवारी साधन रोकिए भने मोटरसाईकलमा सवार यात्रुहरु समेतलाई बन्दकर्ताले सवारी डोर् याएर लैजान बाध्य पारेको दृष्य देखियो । बिहान ६ बजेदेखि १० बजेसम्म यसरी अकस्मात चक्काजाम गरिनुको कारण भने स्पष्ट थिएनन् । न त कुनै गम्भीर विरोध सहमति वा निर्धारित उद्देश्य नै थिए । तथापि यातायात अवरोध गर्न सडकमा उत्रिएका जमातको उपस्थिति हेर्दा भने बालबालिका युवा महिला वृद्धवृद्धा सबैको स्वतस्फूर्त सहभागिता रहनुले कुनै पूर्वघोषित आन्दोलन नभए पनि गम्भीर समस्याका कारण स्थानीय सडकमा ओर्लिएका हुन् भन्ने स्थिति देखिन्थ्यो ।
झापाको दमकस्थित निर्माणाधीन बसपार्कदेखि गौरीगाज र गौरीगाज देखि दमक बसपार्क सम्मको निर्धारित दूरी २४ किलोमिटर छ । पूर्व-पश्चिम राजमार्गको पाडाजुङ्गी बसपार्क सम्म गुणस्तरीय कालोपत्रे सडक केही वर्षयता साचालनमा रहेको छ भने यो सडक भारतसँगको सीमानासम्म पुग्न सक्ने अत्याधिक सम्भावना बोकेको सडक पनि हो । यसले दुई देशीय व्यापारिक सम्बन्ध विकास र विस्तारका अतिरिक्त अन्य थुप्रै विशेषता बोकेको स्पष्ट छ । तथापि यस सडकमा नियमित रुपमा चल्ने ४५ बढी सवारी साधन छन् । लामो दूरी देखि छोटो दूरीका बस र ट्याक्सीहरु नियमित साचालनमा रहने यो रुटको यातायात सेवा लिन लखनपुर-५ गेउरिया र आसपासका सर्वसाधारणलाई सहज भने छैन । दैनिक चल्ने यातायात सुविधान लिन तोकिएको भाडा तिरेर पनि सम्भव नहुने पीडा पोख्न स्थानीयले बुधबार सडक नै ताके । पूर्व जानकारी नै बिना यसरी चक्काजाम गर्नु स्थानीयवासीको महानता भने पक्कै होइन तर उनीहरुले दैनिक जीवनमा जुन पीडा भोग्दै आएका छन् त्यसको परकाष्ठ भने यो आक्रोश भन्दा थप गम्भीर परिणतिको पनि हुन सक्थ्यो ।
छोटो दूरीमा उत्रने भन्दै गाडी चढ्नै नदिने नियमित भाडादर भन्दा बढी रकम तिरेपछि मात्र सिटमा बसेर यात्रा गर्न पाइने सवारीका सह-चालक र कन्डक्टरहरुबाट विशेषतः महिला विद्यार्थी र वृद्धवृद्धाले अश्लील शब्द र दुव्र्यवहार भोग्नु पर्ने जस्ता दैनिकको प्रताडनबाट उन्मुक्तिका लागि चेतावनी स्वरुप चक्काजाम गरिएको भन्दै सडकमा उर्लिएको जनमानसको भिडलाई यथोचित सम्बोधन गर्ने र उनीहरुको समस्या सुनुवाई गर्ने जिम्मा अन्ततः यातायात आवद्ध व्यवसायीहरुको संस्था र राज्य नै हो । स्थानीयवासीले आफ्ना निहित कमजोरीहरुलाई सुधार गर्ने र यातायात सम्बद्ध पक्षले यस समस्या प्रति गम्भीरताका साथ सोचेर निकास दिनुको विकल्प छैन । यात्रु सबै स्थानका उत्तिकै समान् हुन् । यातायात व्यवसाय नितान्त व्यापार मात्र होइन सेवा र सुविधानका लागि पनि हो जो आम सर्वसाधारणका लागि महत्वपूर्ण छ । यी विषयहरुमा दुवै पक्षको स्पष्ट बुझाई रहनु जरुरी देखिन्छ । यसका अतिरिक्त पटक-पटक यस किसिमका समस्या उत्पन्न हुन नदिन राज्यले पनि आफ्नो भूमिका र जिम्मेवारीलाई बढाउन जरुरी छ ।
बुधबार स्थानीयवासी र यातायात व्यवसायी संघका प्रतिनिधिहरु बीच समस्या समाधानका लागि वार्ता र सहमतिहरु भएका छन् । उक्त सहमतिपछि यातायात सुचारु हुन सकेको निष्कर्षले पनि यो स्पष्ट छ कि अन्ततः सबै पक्षले एक ठाउँमा बसेर अर्थपूर्ण सहमति गर्न सक्दा समस्याको समाधान निश्चित छ यो पाटोलाई भने थप महत्वका साथ कार्यान्वयन पक्षमा इमान्दारिताको खाँचो छ । यसप्रति सबै पक्षको ध्यान जान जरुरी छ ।

0 प्रतिकृया:

Post a Comment