"एलडीओ नहुँदा निर्माण योजना प्रभावित"

इलाम÷जिल्ला विकास समिति इलाममा लामो समयदेखि स्थानीय विकास अधिकारी नहुँदा जिल्लाको विकास निर्माणका योजना प्रभावित भएका छन् ।
स्थानीय विकास अधिकारी नआउँदा सम्पन्न योजनाको भुक्तानी दिन सकिएको छैन भने गाउँ विकास समितिमा बिनियोजन हुनुपर्ने बजेटसमेत रोकिएको छ । स्थानीय विकास मन्त्रालयले पहिलेकै भुपराज राईलाई स्थानीय विकास अधिकारीमा पठाउने निर्णय गरे पनि जिल्ला नआउँदै अवकाश पाएपछि राई आएनन् ।
स्थानीय विकास अधिकारी नहुँदा ग्रामीण भेगमा सम्पन्न विकास योजनाको रकम उपभोक्ता समितिलाई दिइएको छैन । सबै आर्थिक अधिकार कार्यालय प्रमुखमा निहित हुने हुँदा आर्थिक कारोबार ठप्प रहेको जिल्ला विकास समितिले जनाएको छ । सम्पन्न भइसकेका योजनाको बजेट उपलब्ध नहुँदा उपभोक्ता समेत जिविसप्रति आक्रोशित बन्दै गएका छन् ।
जिल्ला विकास समितिको प्रमुख नहुँदा गाउँ विकास समितिमा निकासा हुनुपर्ने पुँजीगत बजेटसमेत निकासा हुन नसकेको सचिवहरुले जनाएका छन् भने स्थानीय निकायअन्तर्गत कर्मचारीले तलब खान पाएका छैनन् । जिल्ला विकास समितिले आउँदो चैत मसान्तसम्ममा खर्च गरिसक्नुपर्ने २३ करोडमध्ये पाँच लाखमात्र खर्च भएको जिविसको आर्थिक प्रशासन शाखाले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment