ताप्लेजुङमा फेरि अर्को पहिरो, मेची राजमार्गमा यातायात ठप्प

ताप्लेजुङ / बुधबार झरेको पहिरोमा परेकाको उद्वार गरिनसक्दै  ताप्लेजुङमा फेरि अर्को पहिरो गएको छ । पश्चिमी क्षेत्रमा पहिरोले वितन्डा मच्चाए लगत्तै शुक्रबार राति पुर्वी क्षेत्रमा शुक्रबार राति पहिरो गएको हो । पहिरोले सबैभन्दा बढी सुरुम्खिम र खेवाङ, पेदाङ र याम्फुदिन लगायतका गाविसमा क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् । शुक्रबार दिनभर अवरुद्ध मेची राजमार्गमा शनिबार बिहानै पहिरो खसेपछि यातायात साधन गुड्न सकेका छैनन् । ताप्लेजुङको खोक्सेखोला र कावेलीमा पहिरो खसेर बाटो अवरुद्ध भएपछि झापाको बिर्तामोड, इलाम र पाँचथरबाट ताप्लेजुङ आउने र ताप्लेजुङबाट झापा झर्ने गाडी बीच बाटोमै अलपत्र छन् ।
सुरुम्खिम निवासी खड्ग तिवारीका अनुसार पहिरोले सो क्षेत्रको थुप्रै संरचना, अलैंची बारी, पशुचौपाया र खेतीयोग्य जमीनमा क्षती पुर्याएको छ । पहिरो खोल्साहरु लेदोसहित बग्दा झन् त्रास बढेको छ । सुरुम्खिम माबि छेउबाट पहिरो गएकोले सो विद्यालय पनि खतरामा परेको उनले जनाकारी दिए । पहिरोले ठूलो क्षति गरेको जानकारी पाउनासाथ तेल्लोकबाट प्रहरी पठाइएको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
३५ जनाको शव भेटियो
जिल्लाको पश्चिमी भेगमा बुधवार रातिको पहिरोमा पुरिएकामध्ये शुक्रवार साँझसम्म ३५ जनाको शव फेला परेको छ । जसमा २७ जनाको शव परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकामध्ये थिङलावु गाविसबाट मात्रै १७ जनाको शव निकालिएको छ । त्यस्तै लिवाङमा ९,  लिङतेपमा ६ र खोक्लिङमा तीनको शव भेटिएको छ । पहिरोमा अझै २६ जना वेपत्ता छन् ।  
हेलिकोप्टरबाट खोजी तथा उद्वार
वेपत्ताको खोजी, उद्धार र राहतका लागि शनिबार स्थानीयबासी प्रहरी परिचालित भए ।  प्रतिकुल मौसमले हेलिकोप्टर जान नसक्दा पहिरोपीडितले राहत पाउन सकेनन् । पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित ठाउँमा सारिदिन भनिरहेका स्थानीय अझै पनि पहिरो प्रभावित क्षेत्रमा त्रासमा बाँचिरहेका छन् ।
रातभर खुल्ला आकाशमुनि बास
पहिरो प्रभावित वासिन्दाहरु रातभर डाँडा, पाखा र विद्यालयमा आश्रय लिएर बसिरहेको लिङ्तेपस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार दासले बताए । उनका अनुसार पहिरोले रामदुवाली लगायतका गाँउका बजार सबै खोलामा परिणत गरिदिएको छ । बाटो र पुल भत्काएकाले स्थानीयबासी वल्लो गाउँबाट पल्लो गाँउ पुग्न सकेका छैनन् । छिमेकी लिवाङमा थुप्रै मानिस पहिरोमा फसेपनि उद्धारकर्मी जान सकेका छैनन् ।


संखुवासभामा पहिरोले १ को मृत्यु, ४ बेपत्ता

संखुवासभा । संखुवासभामा पहिरोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ । पाथीभरा–१ थाप्रुङकी ३२ वर्षीया सुकु तामाङको शनिबार दिउँसो गएको पहिरोले पुरिएर मृत्यु भएको हो । पहिरोले पुरिएर नुम र पाथीभरामा ४ जना बेपत्ता भएका छन् । पहिरोले पुरिएर उनको ३ बर्षीय छोरा बेपत्ता छन् । उनका अर्का छोरालाई सेनाले जिवितै उद्धार गरेको थियो । उनीहरुको नाम भने खुल्न सकेको छैन । सेनाको हेलिकप्टरले उद्धार गरेर ल्याएपछि उनको खाँदबारी अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोले नै पुरिएर नुम गाविसको फ्याक्सिन्दामा एकै परिवारका ३ जना बेपत्ता भएका छन् । शुक्रबार राति घर माथिबाट पहिरो झरेपछि भाग्ने क्रममा ३२ बर्षिय रोशन तामाङ, उनका २८ बर्षीया श्रीमती उर्मिला तामाङ र १९ महिनाकी छोरी सुनिता तामाङ बेपत्ता भएको डीएसपी कमल थापाले बताए । पहिरोका कारण फ्याक्सिन्दाका १७ परिवारका ८१ जनाले गाउँ छाडिसकेका छन् । वेपत्ताहरुको खोजी जारी राखिएको छ । पहिरो गएपछि फ्याक्सिन्दामा रहेको अरुण नदीको पुलबाट आवतजावतमा समेत रोक लगाइएको छ । पहिरोले मकालु गाविस ६ याङदेममा ४ वटा घर बगाएको छ । घर बगाएपछि उनीहरु नजिकैको साक्सेवा गाउँमा अस्थायी रुपमा बसिरहेका छन् । मकालुको तल्लोवालुङमा ३ घर बगेका छन् । मकालुमा पहिरोले १४ घर–परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । यसैबीच, २ दिन अघिबाट पहिरोमा फसेका पावाखोला ६ खङदुवाका ६२ परिवारलाई सेनाको हेलिकप्टरले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ ।

0 प्रतिकृया:

Post a Comment