प्रशिक्षार्थी चिकित्सक र प्रहरीबीच झडप

विराटनगर । मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययनरत प्रशिक्षार्थी चिकित्सक र प्रहरीबीच बिहीबार झडप भएको छ ।
इन्टर्नसिपमा काम गरिरहेका प्रशिक्षार्थी डाक्टरहरुले श्रम शोषणको विरोधमा जारी राखेको धर्नामाथि प्रहरीले हस्तक्षेप गर्दा दर्जन बढी घाइते भएका छन् भने प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
नोबेल मेडिकल कलेजमा एमवीवीएस अध्ययन गरेका सन् २०१० ब्याचका विद्यार्थीहरु एक सातादेखि  आन्दोलनमा छन् । उनीहरुले कलेज प्रशासन समक्ष इन्टर्न समयमा गर्ने श्रमको उचित पारिश्रमिक दिनुपर्ने र भर्ना भएको बेला राखेको धरौटी रकम फिर्ता गर्नुपर्ने माग राखेका थिए । आफ्ना सुनुवाई नभएछि अस्पतालको ओपीडी सेवामा तालाबन्दी गरेर धर्नामा बसेका प्रशिक्षार्थीमाथि प्रहरीले अन्दाधुन्द लाठीचार्ज गरेको थियो ।
प्रशिक्षार्थी चिकित्सकहरुले अन्य मेडिकल कलेजले इन्टर्नमा श्रम गर्नेहरुलाई न्युनतम ७ हजारदेखि १२ हजार रुपैंयाँसम्म पारिश्रमिक दिने गरेको भन्दै सोही अनुसार पारिश्रमिक दिन माग गरेका थिए । नाबेलले भने मासिक ३ हजार ८ सय रुपैयाँ मात्र दिने गरेको छ । प्रहरीले धर्नामा बसेका चिकित्सकहरुमाथि हस्तक्षेप गर्ने क्रममा अस्पतालका बरिष्ठ चिकित्सकहरु पनि घाइते भएका छन् । जथाभावी बल प्रयोग भएपछि नोबेलमा कार्यरत अन्य चिकित्सकहरुले पनि प्रशिक्षार्थीहरुकोे आन्दोलनलाई
समर्थन गर्दै कालोपट्टी बाँधेर काम थालेका छन् । उनीहरुले कलेज प्रशासनले अस्पतालभित्र प्रहरी प्रवेश गराएकोमा आपत्ती जनाएका छन् ।
कलेजमा झडप भएपछि बिभिन्न विद्यार्थी संगठनहरुले अस्पताल प्रशासनको विरोध गरेका छन् । उनीहरुले माग पुरा नभए सशक्त आन्दोलन अघि बढाउने तयारी गरिरहेका छन् । नोवेल मेडिकल कलेजमा अहिले १ सय २४ जना प्रशिक्षार्थी चिकित्सकहरुले इन्टर्नसिप गरिरहेका छन् ।
उता, मेडिकल शिक्षामा उत्कृष्ट नतिजा ल्याएको दावी गर्ने सो कलेजका एमबीबीएस तेस्रो वर्षमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएका छन् । नतिजामा नोबेल मेडिकल कलेजनका १४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । आवश्यक भौतिक पूर्वाधार पुरा नगरी पहुँचका अधारमा १ सय ५० जना विद्यार्थीलाई एमबीबीएस पढाउने सम्बन्धन पाएका नोबेलले २२ जना विद्यार्थी मात्र उत्तीर्ण गराएको छ ।
पूर्वाधार विना ठूलो संख्यामा विद्यार्थी पढाउने सम्बन्धन लिएको भन्दै नेपाल मेडिकल काउन्सिलले नोबेलको कोटा कटौती गरेपनि कार्यान्वयन हुन सकेको छैन ।

0 प्रतिकृया:

Post a Comment