लखनपुर र सुन्दरदुलारीमा विउ बैंक स्थापना गरिँदै

दमक । झापाको लखनपुर र मोरङको सुन्दर दुलारीमा लोप हुन लागेका विउ विजन संरक्षणका लागि विउ बैंकको योजना अगाडि बढेको छ ।
 उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्र्रतिष्ठानको अगुवाइमा लोप हुन लागेका नेपाली मौलिक विउ विजनहरु संरक्षण गर्ने अभियानका विषयमा विहीबार उर्लाबारीमा छलफल भएको छ । प्रतिष्ठानको ‘सशक्तिकरणको माध्यमबाट जिविकोपार्जनमा सुनिश्चितता’ कार्यक्रम अन्तर्गतको अर्धवार्षिक सहभागितामुलक चिन्तन मनन् प्रक्रिया (पीआरआरपी ) का सहभागिले सो कुरामा जोड दिएका छन् । कार्यक्रमको विषयवस्तु उठान गर्दै छलफलको सहजिकरण गरिरहेको प्रतिष्ठानका सामुदायिक विकास अधिकृत तथा कार्यक्रम संयोजक रुद्रबहादुर तामाङले भने’– केही संस्थासँगका सहकार्यमा प्रतिष्ठानले विउ बैंक खडा गर्ने तयारी अगाडि बढाएको छ । अनि वचत समूहहरुलाई पनि सहकारीमा रुपान्तरण गर्ने योजना तपाईहरुलाई कस्तो लाग्छ ? यो अभियानमा प्रतिष्ठानले सवैको सहकार्य खोजेको छ ।’
कार्यक्रममा सो विषयवस्तुलाई केन्द्रविन्दुमा राखेर छलफल चलेपछि  समूह, सरोकारवाला क्षेत्रका सहभागिहरुले त्यसमा धारणा राखे ।  ‘लोप हुन लागेका विउ विजन जोगाउनु ज्यादै आवश्यक छ तर हाइव्रिड विउविजनको हस्तक्षेप चुनौती बनेको छ ।’–लखनपुरस्थित साना किसान सहकारी संस्थाका व्यवस्थापक टंक पराजुलीले भने । विउ बैंक भनेर सुन्दा जति सजिलो हुने बुझिन्छ र तर त्यसको स्थापना गर्न उत्तिनै गाह्रो भएको पनि उनले उल्लेख गरे । ‘एउटा मात्र संस्थाले व्यवस्थापन गर्न नसक्ला, तर संस्थाहरुको सहकार्यमा त्यो काम गर्न भने सकिन्छ भनेर हाम्रो संस्था पनि लागिरहेको छ । ’– उनले भने ।
सन् २००७ बाट एक्सन एडको सहकार्यमा ‘सशक्तिकरणको माध्यमबाट जिविकोपार्जनमा सुनिश्चितता’ कार्यक्रमका रुपमा झापाको दमक, लखनपुर, मोरङको बयरबन, सुन्दरदुलारी र कोसीहरैंचामा प्रतिष्ठानले गतिविधि सञ्चालन गरेको छ । ती क्षेत्रमा भूमि तथा जिविकोपार्जन, नीति तथा सुशासन, महिला अधिकार र शिक्षा अधिकारको क्षेत्रमा काम गर्दै आएको छ । आर्थिक तथा चेतनाको पक्षमा कमजोर रहेका समुदायका लागि कार्यक्रम केन्द्रीत छ । जसमा भूमिअधिकारको पाटोबाट विउविजन जोगाउने कार्यक्रम यसैवर्षबाट अगाडि ल्याइँदै छ । जसका लागि लखनपुरको सानाकिसान, सुन्दरदुलारीको साना किसान सहकारीका व्यवस्थापक सहितका ३ जनालाई ५ दिने तालिम प्रदान भइसकेको छ ।
सुन्दरदुलारी ११ स्थित प्रगति महिला बचत समूहकी अध्यक्ष मेनुका कार्कीले लोप हुन लागेका नेपाली विउ विजनहरु जोगाएर त्यसलाई विस्तार गर्नु स्वास्थ्यका लागि पनि फाइदाजनक भएको बताइन् । उनले गाउँ टोलमा भएका बचत समूहहरुलाई सहकारीका रुपमा रुपान्तरण गर्ने प्रतिष्ठानको प्रस्तावलाई पनि समर्थन जनाइन् ।
सामाजिक परिचालक तारामान पौडेलले सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रतिष्ठानले गठन गराएको ४३ वटा समूहबाट ३६ लाख रुपैयाँ बचत भएको उल्लेख गर्दै त्यसलाई सहकारीका रुपमा रुपान्तरण गर्ने विषयमा छलफल भइरहेको जानकारी गराए ।
उनीहरुले रासायनिक वस्तुको प्रयोगलाई कम गर्दै जाने, अधिकार र चेतनाका पक्षमा स्थानीयलाई जागरुक गराउँदै जाने कार्यक्रमले समुदायमा प्रभाव पारेको विवरण पेश गरेका थिए ।
कार्यक्रममा, विभिन्न समूहले आफुले गरेका गतिविधिलाई चार्टका रुपमा ल्याएर प्रस्तुत गरेका थिए । कार्यक्रमबाट आफ्नो जीवनस्तरमा सुधार आएको सहभागिको धारणा रह्यो । जसमा सामाजिक परिचालक रुना चौधरी, वालकुमारी राई, अम्बिका दहाल, सुनिता राजवंशीका साथै प्रतिष्ठानकी लेखा अधिकृत मेनका वास्कोटा लगायतका कार्यक्रमका समग्र पक्षका विषयमा जानकारी गराएका थिए । एक्सन एडका तर्फबाट सहभागि सुनिता महर्जनले समुदायको रुपान्तरमा कार्यक्रमले प्रभाव पारेको बताइन् ।

0 प्रतिकृया:

Post a Comment