हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

एमाले कार्यकर्तालाई सञ्चार प्रशिक्षण

धुलाबारी । नेकपा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य एवं झापा क्षेत्र नं. १ का सभासद् रविन कोइरालाले सूचना विनाको समाज अब परिकल्पना गर्न नसकिने बताएका छन् । २२ औं द्रेणचार्य क्षेत्री स्मृति दिवसको अवसरमा आइतबार धुलाबारीमा नेकपा एमाले झापा जिल्ला प्रचार विभाग र प्रेस चौतारी झापाको संयुक्त आयोजनामा क्षेत्रीयस्तरको सूचना तथा संचार अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले सूचनाको युगमा पार्टीका हरेक क्रियाकलापहरु आमसञ्चार माध्यमबाट सम्प्रेषित हुन सके कार्यकर्ता र जनताले सुसूचित हुन सहयोग मिल्ने बताए । एमाले झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, जिल्ला कमिटी सदस्य तथा १ नं. क्षेत्रीय इन्चार्ज गोपाल बुढाथोकी, क्षेत्रीय अध्यक्ष अर्जुन पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोही, प्रेस चौतारीका पूर्व अध्यक्ष गोपाल गड्तौला, प्रेस चौतारीका जिल्ला अध्यक्ष गोपाल काफ्ले, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजीले सहजीकरण गरेका थिए ।
अधिकांश सहभागीहरुले समाजमा भएका विविध गतिविधि र घटनालाई सञ्चार माध्यममा पुर्याउने सजिलो उपायको सम्बन्धमा जिज्ञासा राखेका थिए । जिज्ञासालाई सहजकर्ताहरुले आफूहरुले सहभागिता जनाएको पार्टी गतिविधिको जानकारी सञ्चारकर्मीलाई उपलब्ध गराउन सकियो भने समाचार सम्प्रेषण हुने सुझाए ।

गोलधापमा बुहारी पढाउने अभियान

गोलधाप । झापाको बिर्तामोडबाट झण्डै १० किलोमिटर दक्षिणमा रहेको गोलधाप गाविसमा छोरी र बुहारी पढाउन छोरी–बुहारी साक्षरता अभियान नै सञ्चालन गरिएको छ । छोरी नपढाउने अनि पढेका बुहारी खोज्ने समाजको विरोध गर्दै गोलधापका वासिन्दाले आफ्नै लगानीमा सामुदायिक क्याम्पस स्थापना गर्दै गाविसभित्रका सबै छोरी–बुहारीलाई शिक्षा अनिवार्य रुपमा दिने रित बसालेका छन् । विवाहपछि पढ्ने इच्छा भएका बुहारीले पढ्न नपाउने र बुहारी भएपछि उनीहरु घरायसी काममा नै रुमलिँदा परिवार शिक्षित नहुने भन्दै गोलधापका अगुवाले बुहारीलाई शिक्षा अनिवार्य बनाएको स्थानीयवासी तथा राजगढ गाविस सचिव तेजप्रसाद रेग्मीले बताए । छोरी–बुहारी पढाउन त्यहाँका अगुवाले २०६६ सालमा जनजागृति क्याम्पसको स्थापना गर्दै त्यस यता सो क्याम्पसमा छोरी र बुहारीलाई शिक्षा प्रदान गर्ने काम भइ आएको छ ।
चुलाचौकामा सधैँ व्यस्त रहने यहाँका अधिकांश बुहारी उच्च शिक्षा अध्ययनका लागि घरको काम छाडेर भए पनि नियमित रुपमा क्याम्पस जाने गरेका छन् । विसं २०७१ मा क्याम्पसले गोलधापवासीका घर घरमा गएर छोरी र बुहारी अनिवार्य पढाउनुहोस् भन्दै अभियान सुरु गरेपछि अभिभावकले समेत आफ्ना बुहारी तथा छोरीलाई नियमित रुपमा क्याम्पस पठाउने गरेको स्थानीय तेजप्रसाद रेग्मीले बताए । कक्षा ११ को परीक्षामा सामेल भएकी हल्दिबारी निवासी शर्मिला लामिछानेले परिवारकै सल्लाहले आफूले क्याम्पस पढ्न सुरु गरेको बताइन् । उनले भनिन् – “श्रीमानले पनि तिमी पढ भन्नुभयो अनि म क्याम्पस आउन थालेकी हुँ ।” राजगढ – ८ घर भई सोही क्याम्पसमा बिएड दास्रो वर्षमा अध्ययनरत रमा भण्डारीका अनुसार क्याम्पसमा अध्ययनका लागि छोरीहरुभन्दा पनि बुहारीहरु नियमित क्याम्पस आउने जाने गर्छन् । आर्थिक अवस्था कमजोर भएका लक्षित परिवारसम्म पुगेर सामुदायिक क्याम्पस सञ्चालक समितिका पदाधिकारीले उनीहरुलाई छात्रवृत्ति, पूर्ण छात्रवृत्ति प्रदान गरेर भए पनि शिक्षालाई अनिवार्य बनाएको जनजागृति क्याम्पस गोलधापका प्रमुख हरि संग्रौलाले उल्लेख गरे ।
 सामुदायिक क्याम्पस सञ्चालनार्थ आर्थिक अभाव भएको समयमा गत वर्ष पुराणको आयोजना गरी झण्डै रु ५५ लाख जुटाइएको थियो र अहिले सो क्याम्पसमा छोरी–बुहारीसहित ८० जना विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको क्याम्पसका सूचना अधिकारी अर्जुन न्यौपाने बताउँछन् । उनका अनुसार क्याम्पसमा अधिकांश बुहारी अध्ययनरत छन् ।

एसएलसीमा ४७ दशमलब ४३ प्रतिशत उत्तीर्ण

– २१ हजार २४७ विशिष्ट श्रेणीमा, – ९० हजार १७६ प्रथम श्रेणी


काठमाडौं । यसवर्षको प्रवेशिका परीक्षा (एसएलसीको) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार दिउँसो २०७१ को एसएलसीको नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले शुक्रबार दिउँसो सानोठिमीस्थित शिक्षा विभागको सभा हलमा नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस अनुसार १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् । प्रकाशित नतिजा अनुसार परीक्षार्थीमध्ये नियमिततर्फ १ लाख ९२ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । जसमध्ये छात्रतर्फ १ लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजार ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन् । प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा छात्रतर्फ ५२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ । त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल  ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन् ।
यसैगरी ५ हजार ९९ ले परीक्षा छाडेका छन् भने १ हजार १ सय ९९ जना परीक्षार्थीको परीक्षा रोकिएको छ । ६ सय १२ जनाको परीक्षा रद्द भएको छ भने ८३ जनाको एक्स्पेल्ड भएको छ ।  गत वर्ष ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले गर्दा केही ढिला भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसएलसीको नतिजा हेर्न नेपाल टेलिकमको १६०० डायल गरी सम्बन्धीत परीक्षार्थीले आफ्नो सिम्बल नम्बर थिच्नुपर्ने छ । जसबाट नतिजाको परिणाम तत्कालै थाहा पाईनेछ ।
 यस्तै, नेपाल टेलिकम र एनसेल मोबाइलमा क्ीऋ ?कउबअभश्र सिम्बल नम्बर टाइफ गरी ५२२५ मा एसएमएस पठाएर परीक्षार्थीले एसएलसीको नतिजा तुरुन्तै थाहा पाउनेछन् । टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट पनि एसएलसी रिजल्ट हेर्न सकिने छ । शिक्षा मन्त्रालयको वेबसाइट धधध।mयभ।नयख।लउ, शिक्षा विभागको वेबसाइट धधध।मयभ।नयख।लउ, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट धधध।कयअभ।नयख।लउ, नेपाल टेलिकमको वेबसाइट धधध।कअि।लतअ।लभत।लउ मा पनि परीक्षाको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्राविधिकतर्फको एक सातापछि
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने भएको छ । श्रेणीकरण पद्धतिबाट प्राविधिक तर्फको नतिजा निकालिने परीक्षक नियन्त्रण कार्यालय प्रमुख द्वारेले बताए । आवश्यक तयारी नपुगेकाले प्राविधिक परीक्षाको नतिजा एक सात पछि धकेलिएको हो ।
सामुदायिकमा
३३.१८ प्रतिशत उत्तीर्ण
सामुदायिक विद्यालयतर्फ ३३.१८ प्रतिशत बिद्यार्थी
उत्तीर्ण भएका छन् । गत वर्ष  सामुदायीकमा २८.१९ प्रतिशत उत्तीर्ण भएका थिए ।
साउन २० देखि मौका परीक्षा
१ वा २ विषयमा मात्रै लागेका विद्यार्थीका लागि मौका परीक्षा साउन २० गते सुरु हुने पनि परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैबीच ग्रेडिङ अनुसार गरिने प्राविधिकतिरको नतिजा भने एक सातापछि मात्रै सार्वजनिक हुनेछ । प्राविधिकतर्फ सबै सहभागी उत्तीर्ण हुनेछन् ।

पाँच महिनामा २ सय २० चेलीको उद्धार

विर्तामोड । पूर्वी झापालाई केन्द्र बनाएर पूर्वमा चेलीवेटी बेचविखन गर्ने गिरोह सक्रिय बनेको खुलासा भएको छ । पछिल्लो ५ महिनाको अवधिमा २ सय २० जनाको उद्धार भएको छ ।
जिल्लाको विर्तामोड, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानलाई केन्द्र बनाएर पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय रहेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जनाए । माइती नेपालको कार्यालय काँकडभिट्टाले गत जनवरीदेखि मईसम्मको ५ महिनाको समयावधिमा २ सय २० जना महिलाको उद्धार गरेको उनले बताए । खुला सिमानाका कारण पूर्वबाट महिलालाई भारतलगायत तेस्रो देश लान सहज हुँदा एजेन्टले यो बाटो प्रयोग गर्ने गरेको तथ्य फेला परेको उनले सुनाए । पश्चिम नेपालका युवतीलाई आर्थिक प्रलोभन देखाएर केही दिनसम्म झापामा राख्दै उनीहरुलाई भारतलगायत तेस्रो देश पु¥याउने गिरोहका व्यक्ति झापामा पक्राउ पर्न थालेसँगै यस्तो रहस्य सार्वजनिक भएको हो ।
भूकम्पबाट पीडित बनेका युवतीलाई विदेशमा राम्रो कमाई हुने आश्वासन देखाउँदै पूर्वी नाका काँकडभिट्टा, भद्रपुर, इलामको पशुपतिनगरलगायतका स्थानबाट भारतसहित तेस्रो देश पु¥याउने गिरोहका एक महिला र एक पुरुषलाई विहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेसँगै यस्तो रहस्य खुलेको हो । केही दिनअघि मात्र दुई जना दलाललाई काँकडभिट्टा नाकाबाट पक्राउ गरी मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।
बर्दिया सानो श्रीगाविस–९ की १८ वर्षीया प्रमिला केसीलाई उनीहरुले भारत लैजान लाग्दा प्रहरीले बिर्तामोडबाट उनको उद्धार गरेको छ । एक साताअघि शनिअर्जुन नगरपालिका–६ का मीना घतानी राजवंशीको घरमा ल्याइएकी उनलाई एक सातासम्म झापामा राखेर भारत लान लागेको गोप्य सूचनाका आधारमा केसीको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घरधनी राजवंशी तथा मोरङ उर्लावारी–६ का सन्दीप बुढाथोकीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
उनीहरुलाई चेलीबेटी बेचबिखनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उता, रामेछाप स्नालु–७ घर भएका हर्क तामाङलाई प्रहरीले झापाको धुलाबारीबाट बुधबार पक्राउ गरेको थियो ।  पक्राउ परेका तामाङ चेलीबेटी बेचबिखनमा संलग्न भएको जनाउँदै धुलावारीमा सञ्चालित रञ्जित होटलबाट प्रहरीले पक्राउ गरेको थियो । लामो समयदेखि पाँचजना युवतीलाई होटलमा राखेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रामेछाप, सिन्धुपाल्चोक, नवलपरासी, र सुनसरी घर भएका युवतीलाई किर्गिजस्तान लैजान भन्दै उनले उक्त होटलमा राखेको बताइएको छ । राहदानीलगायत अन्य कागजातसमेत उनीहरु आपैंmले बनाइदिएर ती युवतीलाई भारत हुँदै किर्गिजस्तान लैजान लाग्दा प्रहरीले उद्धार गरेका ती युवतीलाई काँकडभिट्टास्थित माइती नेपालको कार्यालयमा राखिएको र अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ ।
काठमाडौं निवासी श्याम श्रेष्ठले युवतीलाई झापासम्म ल्याएर राखिदिएवापत तामाङलाई प्रतिव्यक्ति भारतीय रुपैयाँ १५ हजार दिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
एकसाताअघि झापाको भद्रपुर हुँदै चारजना युवतीलाई भारत लैजाँदै गर्दा प्रहरीले सोही गिरोहका दुईजना महिलालाई  जलथलबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जलथल–७ की हिमा श्रेष्ठ र सोही ठाउँकी २८ वर्षीया सरिता लिम्बु रहेका छन् । उनीहरुले भद्रपुरमा महिलालाई राखेर भारतलगायत तेस्रो देश पु¥याउने गरेको बताइएको छ ।

बसपार्कका लागि ६ करोडको योजना

दमक । सरकारले यसपटक बजेट विनियोजन नगर्दा अलपत्र परेको झापाको दमक वसपार्कको द्रुततर निर्माणको माग गर्दै ६ करोड बढीको योजना सरकारमा पेश गरिएको छ ।
निर्माण उपभोक्ता समितिले सहरी विकास मन्त्रालयमा ६ करोड १७ लाखको लागत स्टिमेट सहितको योजना पेश गरेको समिति अध्यक्ष तीर्थराज बस्नेत (शंकर) ले बताए । उनले बहुवर्षीय क्रमागत योजनामा परेको बसपार्कको निर्माण कार्यलाई निरन्तरता दिई बाँकी काम सम्पन्न गर्नका लागि योजनाको लागत पेश गरेको जनाए ।
हालसम्म दमक ११ मा रहेको सो वसपार्कको आधाजसो मात्र काम भएको छ । बाँकी रहेको वसपार्क कालोपत्रे सहितको ढलाई, जक्सन रोड, यात्रु प्रतिक्षालय र विद्युतीकरणका लागि सो रकमको योजना पेश गरिएकोसरकारको वहुवर्षीय अन्तर्गत क्रमागत योजनामा परेको भएपनि यस आर्थिक वर्षमा बजेट नआउँदा निर्माण कार्यमा समस्या भएको वस्नेतले समस्या दर्शाए । चालु आर्थिक वर्षमा अढाई करोडको हाराहारीमा बजेट आउनु पर्नेमा ४० लाख मात्र आएर काम अलपत्र बनेको उनको भनाई छ ।
यसअघि साढे ४ करोडको हाराहारीमा बसपार्क फिलिङ तथा फुटपाथ निर्माण, ढलनिकास र टर्मिनल भवनको काम भएको हो ।    ८६ जना अट्ने टर्मिनल भवन अत्याधुनिक र अपाङ्गमैत्री हुनेछ । नगरपालिकाले सामान्य हिसावले ग्राभेलको केही काम गरेको भएपनि आर्थिक वर्ष ०६८।०६९ बाट क्रमागत योजनामा परेर वसपार्क निर्माणको काम अगाढि बढेको थियो ।
नेपाली कांग्रेस दमक नगर सभापति ढुण्डीराज भण्डारी र एमालेका दमक नगर अध्यक्ष अम्बिका खनालले क्रमागत योजनामा परेका यसखाले विकास निर्माणका काममा सरकारले बजेट रोक्न नहुने  धारणा राख्छन् । नगरपालिकाको कुल २ विगाहा १ कट्ठा क्षेत्रफलमा रहेको वसपार्क देशमै पहिलो अपाङ्गमैत्री वसपार्कका रुपमा निर्माण भएको नगरपालिकाको दावी छ ।

चट्याङले एकको मृत्यु

दमक । दक्षिणी झापाको पृथ्वीनगरमा खेतमा जोत्दै गरेको अवस्थामा चट्याङ लागेर एक जना किसानको ज्यान गएको छ ।
विहीबार विहान परेको चट्याङले लागेर पृथ्वीनगर–१ बस्ने ६३ वर्षीय जयप्रसाद गौतमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घर छेउको खेलमा जोत्दै गरेको अवस्थामा चट्याङले लाग्दा गौतमको घटनास्थलमै ज्यान गएको थियो । जोतिएका हल गोरुलाई भनें केही नभएको झापा प्रहरीका प्रहरी नायव निरीक्षक विश्वमणि पोखरेलले बताए ।

पेस्तोल सहित महिला पक्राउ

सिरहा । प्रहरीले सिरहा नगरपालिका २ बाट नलकटुवा पेस्तोलसहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा हनुमाननगर प्रध घर भई हाल सिरहा नगरपालिका–२ स्थित भोलाप्रसाद यादवको घरमा डेरा गरी बस्दै आएकी अन्दाजी २५ वर्षीया आशादेवी मण्डल रहेकी छन् ।
विशेष सुराकीको आधारमा घरमा छापा मार्दा नलकटुवा पेस्तोल फेला परेपछि आशादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिएका छन् ।

विदेशमा ३ को मृत्यु

दमक । वैदेशिक रोजगारीमा गएका झापा र सप्तरीका गरी पछिल्लोपटक ३ जनाको ज्यान गएको छ ।
साउदी अरवमा रोजगारीमा गएका झापा डाँगीबारी २ का दिलीप चौधरीको शव जिल्ला आइपुगेपछि विहीबार कन्काई नदीमा दाहसंस्कार गरिएको छ ।
२३ वर्षीय चौधरीको साउदीस्थित आफ्नै डेरामा डेढ महिना अघि संकास्पद अवस्थामा मृत भेटिएको दिलीपका आफन्त मन्ना शाहले जनाएका छन् ।
चौधरीका सिमन र सीमा २ छोरी, श्रीमति कुशुम, बाबु हल्दर र आमा फूलदेवी चौधरी रहेका छन् ।
त्यस्तै, रोजगारीका शिलशिलामा मलेशियामा रहेका सप्तरीका प्रभुकुमार यादवको मृत्यु भएको दुई दिन नबित्दै विहीबार फेरि भारदह गाविस–५ का २६ वर्षीय उपेन्द्र दासको मृत्यु भएको छ । मृत्युको कारण भनें खुल्न नसकेको मलेशियामै रहेका उनका भाई दिपेन्द्र दासले बताए । एक वर्ष अगाडि रोजगारीका सिलसिलामा उपेन्द्र मलेसिया गएका थिए ।

ताप्लेजुङ पुगे डाक्टर केसी

ताप्लेजुङ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक तथा हाड जोर्नी विशेषज्ञ डा. गोविन्द केसी ताप्लेजुङको पहिरो पीडितको उपचारका लागि ताप्लेजुङ पुगेका छन् ।
 गाउँ वस्तीका स्वास्थ्य समस्यामा विशेष चासो राख्ने केसी त्यहाँका विस्थापितहरुको स्वास्थ्य परीक्षण साथै विरामी परेका र घाइतेहरुको विहीबारबाट उपचार थालेका छन् । ‘यस क्षेत्रमा रोगको प्रकोप नफैलियोस् भनेर म आफैं आएर उपचारमा लागेको हुँ ।’– उनले भने । बुधबार साँझ ताप्लेजुङ आइपुगेका केसी विहीबार बिहानै पहिरोबाट बढि प्रभावित लिवाङ् गाविस तर्फ लागेका छन् । पहिरो पिडितको आवश्यकता भएसम्म उतै रहेर उपचारमा संलग्न रहने उनले जनाए । तेस्रो पटक ताप्लेजुङ आएको बताउँदै उनले १८ वर्ष अघि पहिलो र ३ वर्ष अघि दोस्रो पटक आएको भन्दै जिल्लाको आवश्यकता अनुसार पहिरो प्रभावित क्षेत्रबाट फर्किएपछि जिल्लाका चिकित्सक र सरोकारवालासँग छलफल गर्ने पनि बताए । उनी ताप्लेजुङ आइपछि पीडितहरुले आफुहरुका लागि ठूलो सहयोग र उत्साह मिलेको अनुभूति गरेका छन् ।

लेटाङमा तालिम

पथरी । आदिवासी जनजाति समुदायहरुका लागि मोरङको लेटाङभोगटेनी नगरपालिकामा आधारभुत नेतृत्व तथा क्षमता विकास सम्बन्धि ३ दिने तालिम आजबाट सुरु भएको छ ।
योग्य जीवन र वातावरणका निम्ति प्रयास नेपालको आयोजनामा सुरु भएको तालिममा तालिमामा नेतृत्व तथा क्षमताको विकास, जैविक विविधताको संरक्षणलगायतका विषयमा जानकारी गराइएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेल, आदिवासी जनजाती महासंघ मोरङका पूर्व उपाध्यक्ष बेदेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस लेटाङभोगटेनी नगर सचिव दीपक भण्डारी लगायतले बोलेका छन् ।
ओरेक नेपालकी कार्यक्रम अधिकृत शान्ति दनुवार र साना किसान सहकारीका हरि घिमिरेको सहजिकरण रहेको तालिममा ३ दर्जन स्थानीयको सहभागिता रहेको छ ।
जिविस मोरङको सहयोगमा तालिम सञ्चालन भएको आयोजक संस्थाका अध्यक्ष मीनकुमार राईले बताए ।